नगर उप-प्रमुखसमेतलाई दुर्व्यवहार, प्रहरी बन्यो मुकदर्शक

|

गोरखा : यातायात क्षेत्रको सिन्डिकेटको चर्चा भइरहँदा गोरखामा ठेकेदारहरुले अर्को सिन्डिकेट लादेका छन्। जिल्लाको पालुङटार नगरपालिकामा निर्माण व्यवसायी संघ गोरखाले स्वतन्त्र रुपमा टेन्डर हाल्ने व्यवसायीमाथि हातपातसमेत गरेको छ। शुक्रबार नगरपालिका कार्यालयमा ठेक्का दर्ता गर्न गएका वर्ल्‍डवाइड कन्स्ट्रक्सनका प्रतिनिधिलाई चारघण्टासम्म बन्धक बनाएर कुटपिटसमेत गरेको व्यवसायीहरुले बताएका छन्।

‘शुक्रबार हामी कार्यालय खुल्ने समयमै फर्म दर्ता गर्न गएका थियौँ,’ पीडित राम थापाले भने, ‘फर्म दर्ता पनि गर्‍यौँ। त्यसपछि हामीलाई निर्माण व्यवसायी संघका अध्यक्ष बाबुराम श्रेष्ठ र महासचिब सूर्य भण्डारीकै रोहबरमा हामीलाई कुटे।’

पीडित थापाले अध्यक्ष र महासचिवले २५ जना जति युवाहरु लगाएर आफूहरुलाई कुटेको र थर्काएको आरोप लगाए।  थापा र हरि भट्टराईलाई शुक्रबार बिहान करिब ११ बजेदेखि दिउँसो दुई बजेसम्म नगरपालिका कार्यालय नजिकैको होटलमा थुनेर राखेको स्थानीयले बताएका छन्।

नगरपालिका कार्यालयले वडा नं. ५ को सडक निर्माण गर्न ९० लाख रुपैयाँको, वडा नं. ९ को वडा कार्यालय भवन निर्माण गर्न ७२ लाख रुपैँयाको र वडा नं. ८ मा सडक निर्माण गर्न २५ लाख रुपैँयाको टेन्डर आह्वान गरेको थियो।

‘महासचिवले त लछारपछार गर्दै टेन्डर हाल्दा हामीसँग समन्वय किन नगरेको भनेर थर्काए,’ थापाले भने।  अध्यक्ष श्रेष्ठले हातपात नगरे पनि टेन्डर फिर्ता गर भनेर धम्क्याएको उनको भनाइ  छ।

अध्यक्ष र महासचिवको निर्देशनमा गुण्डागर्दीको नेतृत्व भने ठेकेदारहरु राजीन सुनार र खुशी तामाङले गरेका छन्। उनीहरुको नाममा पीडितले इलाका प्रहरी कार्यालय पालुङटारमा किटानी जाहेरी दिएका छन्।

नगर उपप्रमुखलाई दुर्व्यवहार

ठेकेदार गुण्डाहरुले पालुङटार नगरपालिकाकी उपप्रमुख पम्फा बसेललाई समेत दुव्र्यवहार गरे। ‘फर्म दर्ता गर्ने अन्तिम दिन थापासरहरुले फर्म बुझाउनुभएको थियो,’  उनले भनिन्, ‘नगरप्रमुखज्यू नहुनु भएकोले उहाँको जिम्मेवारी पनि मैले नै सम्हालेको थिएँ। भट्टराई र  थापा सर दुई बजेतिर मेरो कार्यकक्षमा आउनुभयो। मैले दुवै पक्षका अगाडि नै त्यहाँ जे घटनाभयो त्यसको विरोध गरेँ। थापा र भट्टराई सरलाई हातपात गर्नेहरु त उल्टै ममाथि पनि खनिए। उनीहरु ममाथि पनि खनिए, मुखमा जेजे आउँछ बोले, अपशब्द पनि बोले।’ 

प्रहरी बन्यो मुकदर्शक

नगरपालिका परिसरमा भएको उक्त घटनाको इलाका प्रहरी कार्यालय पालुङटारका प्रमुख प्रहरी निरीक्षक राजेन्द्रप्रसाद अधिकारी पत्यक्षदर्शी हुन्। उपप्रमुख बसेलका अनुसार अधिकारीलाई उक्त घटना नियन्त्रण गर्न आग्रह गर्दा पनि टेरेनन्।

संघका अध्यक्ष श्रेष्ठले समेत उक्त घटना भएको स्वीकारे। ‘उहाँहरुले जेजे भन्नुभएको छ त्यो सबै सत्य होइन,’ अध्यक्ष श्रेष्ठले भने, ‘हरि भट्टराई र राम थापा निर्माण व्यवसायी होइनन्। उनीहरु अर्काको फर्म लिएर दर्ता गर्न आएका रहेछन्।’

उक्त घटनाबारे शनिबार कानुनी प्रक्रिया अघि बढ्ने प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए। ‘हिजो मौखिक रुपमा उजुरी आएको हो,’ उनले भने, ‘आज शनिबार अरु प्रक्रिया अघि बढ्ला। घटनाबारे अनुसन्धान हुन्छ।’   

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.