|

काभ्रेपलाञ्चोक : सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले निर्वाचनका वेलामा जनतामाझ गरिएका सबै बाचाहरू पूरा गर्ने अभियानमा रहेको बताए। शनिबार काभ्रेपलाञ्चोकको बनेपामा एमाले बनेपा नगर कमिटीले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै राज्यमन्त्री बास्कोटाले वामपन्थी सरकारले चुनावमा गरेका प्रतिवद्धताहरूको कार्यान्वयन गर्नेमा ढुक्क हुन आग्रह गरे। 

जनताका बीचमा गरिएका बाचाहरू पनि उत्पादनमूलक कामको लागि हुनेमा शंका नगर्न उनले आग्रह गरे। राज्यमन्त्री बाँस्कोटाले भने, ‘अहिले सरकार बजेट बनाउने प्रक्रियामा छ। अबको बजेटको खर्च उत्पादनमुखी हुन्छ। बाँडीचुँडीमा बजेट पाइँदैन।’ 

बाँस्कोटाले काभ्रेपलाञ्चोक जिल्लामा विमानस्थल निर्माण गर्ने विषयमा काम अगाडि बढेको पनि उल्लेख गरे। राज्यमन्त्री बाँस्कोटाले भने, ‘अव सरकारले काम गरेर देखाउँने वेला भएको छ। सरकारका काममा सहयोग गरी कार्यान्वयन गराउँनमा पार्टी पंक्ति र सर्व साधारणमा म आग्रह गर्छु।’

कार्यक्रममा सांसद गंगाबहादुर तामाङले आफूहरूले देखेका समृद्धिका सपना र जनताबीचमा बाँडेका आश्वासन पूरा गर्नमा सबैको साथ आवश्यक रहेको बताए। उनले प्रदेश ३ को राजधानी काभ्रेपलाञ्चोक जिल्लालाई बनाउन विभिन्न चरणमा सरोकारवालाहरूसँग छलफल भइरहेको पनि बताए। ‘हामीले सांसद, राजनीति पार्टी, संघ÷संगठन र सामाजिक संस्थाहरूसँग समेत छलफल गरिरहेका छौं। सम्भवत आउँदो बैठकले राजधानीका लागि टुंगो लगाउने छ।’ तामाङले भने।

सांसद बसुन्धरा हुमागाईले प्रदेश राजधानीको विषयमा लगभग टुंगो लागिसकेको बताए। सांसद हुमागाईले भने, ‘ढुक्क हुनुहोस्, प्रदेशको राजधानी काभ्रेपलाञ्चोक जिल्लामा नै हुन्छ।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.