|

बाँके : राप्तीपारीका बासिन्दाले अव विद्युत, टेलिफोन र यातायात सेवाबाट बञ्चित हुन नपर्ने ५ नंं. प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले बताएका छन्। राप्ती–सोनारी गाउँपालिका–६, सिधनवास्थित सिद्धेश्वर माध्यमिक विद्यालयको स्वर्ण जयन्तिको अवसरमा मुख्य मन्त्री पोख्रेलले अन्य ठाउँका नागरिक जस्तै राप्तीपारीका बासिन्दाले पनि बत्ती बाल्न, टेलिफोन उपभोग गर्न र बाह्रै महिना यातायात सेवा लिन पाउने वातावरण बनाउने बताए। 

हरेक बर्ष राप्ती नदी आसपासका नागरिक बाढीको चपेटामा पर्ने गरेको उल्लेख गर्दै उनले दीर्घकालिन समस्या समाधानको उपाय खोजिने बताए। उनले जंगल फडानी गरेर बस्नु भन्दा राप्ती नदीबाट हुने क्षति न्यूनिकरणका विषयमा उपाय खोजिनु पर्ने बताए । 

राप्ती नदीमा आउने बाढीबाट जोगिन सुरक्षित ठाउँमा एकीकृत बस्ती बसाल्न सकिने उनले बताए । उनले स्थानीय नागरिक एकीकिृत बस्ती बसाल्न तयार भए सहयोग गर्ने बताए । ‘एकीकृत बस्तीका लागि तपाईहरु योजना बनाउनुस् प्रदेश सरकार सहयोग गर्न तयार छ,’ मुख्यमन्त्री पोख्रेलले भने ।

उनले नौमुरे जलविद्युत आयोजनाले राप्ती नदी समस्या कम गर्ने तर्क गरे । उनले परिस्थिति अनुसारको खेति गर्न सुझाव दिए । उनले प्राचिनकालिन कृषि पद्दतीमा अहिले पनि खेति भइरहेको बताउँदै नयाँ प्रविधिको प्रयोग गरेर खेतिपाती गर्ने बेला आएको बताए । ‘आधुनिक र ब्यवसायिक रुपमा गरिने खेतिलाई प्रदेश सरकारको साथ र सहयोग रहने छ,’ उनले भने ।

सो अवसरमा सांसद महेश्वर गहतराजले राप्तीपारी क्षेत्रमा प्रशस्त सम्भावना भए पनि सडक, विजुली र टेलिफोनका कारण आर्थिक उपार्जन गर्न नसकिएको बताए । उनले राप्तीपारीका नागरिक अत्यावश्यक सेवा, सुविधाबाट समेत बञ्चित भएको बताउँदै नरैनापुरमा ५० शैयाको अस्पताल आवश्यक भएको औँल्याए । 
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष प्रदेश सभा सदस्य कृष्णा केसी (नमुना) ले राप्तीपारीका नागरिक प्राकृतिक प्रकोपको मात्र नभई राज्यको सेवाबाट समेत उपेक्षित भएको बताउँदै अव विकासमुखि योजना बनाइने बताइन् । उनले राप्तीपारीका गाउँमा सडक विस्तार भइरहेको बताउँदै उनले हुलाकी सडक निर्माणले केही राहत मिलेको बताइन् । 

स्वर्ण जयन्तिको अवसरमा विद्यालयले पूर्व प्रधनाध्यापक, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष, दाता, विद्यार्थी, समाजसेवी लगायतलाई कदर पत्रले सम्मान गरेको छ । कार्यक्रममा थारु लोक संस्कृति लगायतका सांस्कृतिक प्रस्तुती समेत देखाइएको थियो । 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.