|

कञ्जनपुर : साकेतधाम आन्तरिक र बाह्य पर्यटकको लागि प्रमुख आकर्षण भनेको छ। 

कञ्चनपुर भीमदत्त नगरपारिका–३, तिलकपुरमा अवस्थित साकेतधाम पुग्न जिल्ला सदरमुकाम महेन्द्रनगरबाट झण्डै पाँच किलोमिटर उत्तरतर्फको बाटो छिचोले पुग्छ। 

साकेतधामको प्रमुख आकर्षण विष्णु मन्दिर हो। वरिपरिका दृष्य पनि उत्तिकै चित्ताकर्षक देखिन्छन्। यीनै दृष्यको अवलोकनका लागि दैनिक आन्तरिक र बाह्य पर्यटकको भीड लाग्ने गरेको छ। 

मनोरम दृष्य र शान्त वातावरणमा रम्ने पर्यटकका लागि साकेतधाम उपयुक्ता स्थान बन्न सक्छ। 

साकेतधामका केही किम्वदन्तीहरू पनि छन्। परापूर्वकालमा हिउँदका बेला पहाडबाट तराईं गाईवस्तु चराउन झर्ने गोठालाहरू गाईवस्तुको रक्षाका लागि सिद्धिविनायकको मूर्ति स्थापना गरेको स्थानीय जानकार बताउँछन्। 

विसं २०४८ सालतिर गाईवस्तु चराउन गएकी एक बालिकाले तुम्बिका खोलामा विष्णुको अद्वितीय मूति पेला पारेकी बुढाकापा बताउँछन्।

स्थानीय र बाबा रामदास स्वामीले भगवान रात भर जाग्रमा बसी भजनकृतन गरी सिद्धिविनायको डाँडामा विष्णुको मूर्ति विभिवतरुपमा स्थापना गरेपछि यस क्षेत्रको चर्चा चुलिएको हो। 

साकेतधाम

मूर्ति स्थापना गरी पूजाआजा गर्दै जाँदा भौतिक संरचना भरिँदै जान थालेको स्थानीय जानकारहरू बताउँछन्।

दाताहरूको सहयोगमा विष्णु मन्दिर निर्माण गरिएपछि स्थानीय तथा निकटवर्ती भारतीय क्षेत्रका श्रद्धालु भक्तजनहरू दर्शनका लागि पुग्ने क्रममा वृद्धि भएको स्थानीयको भनाइ छ।

विसं २०४९ सालमा स्थानिय समाजसेवी राम जोशी, आन्नद बल्लभ जोशी र हर्क बिष्टलगायतले मन्दिरको वरपर रहेको ७ हेक्टर क्षेत्रमा वन कार्यालयको सहयोगमा वृक्षारोपण गरी हराभरा बनाएका थिए।  हाल यहाँको १० दशमलव ६ हेक्टर क्षेत्रलाई धार्मिक वनका रुपमा विकसित गरिएको छ।  

विष्णु मन्दिर परिसरमा हाल सिद्धिविनायक गणेश, नर्मदेश्वर शिवलिंग, भगवान् विष्णुको शेषमाथि पद्यमनाथ मूर्ति, हनुमानको मूर्ति र पूर्णागिरीको मूर्ति प्रतिस्थापन गरिएको छ। त्यसैले यस क्षेत्रको नाम सिद्धनाथ स्थानबाट परिवर्तन गरी साकेत धाम सिद्धाश्रम विष्णु मन्दिर नामाकरण गरिएको स्थानिय शिक्षक मदन वहादुर बिष्टले बताए। 

विसं २०५५ सालमा जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा विधिवत रुपमा साकेतधाम सिद्धाश्रम सनातन धर्म सेवा समिति दर्ता भएपछि यस क्षेत्रले विकासको क्षेत्रमा कोल्टो फेरेको शिक्षक बिष्ट बताउँछन्। 

समिति दर्ता भएको एक वर्षपछि योगी नरहरी नाथले साकेतधाम क्षेत्रमा ९४औं कोटीहोम लगाए। त्यसपछि नेपाल र भारतमा चर्चा पाउन सफल भएको उनको भनाइ छ। 

साकेत धाम क्षेत्रको विकासका लागि सरकारी निकायबाट हालसम्म पर्खाल बनाउनका लागि शहरी तथा भवन निर्माण कार्यालयले रु १४ लाख र भीमदत्तनगरपालिकाले रु ९ लाख सहयोग भएको मन्दिरका संरक्षकका साधु रामदासले बताए। यज्ञशाला, हनुमान मन्दिर, धर्मशाला, बिष्णु मन्दिर, सिद्धनाथ, सिद्धिनिवनायक मन्दिर र मन्दिर पसिरको उत्तरतर्फ रहेको तालको बीचमा पञ्चमुखे ब्रम्हाको मुर्तिलगायतका संरचना दाताहरूको सहयोगमा निर्माण गरिएको साधु रामदास बताए। 

तालको बीचमा रहेकाे पञ्चमुखे ब्रम्हा

‘दाताहरूको रु १० करोडभन्दा बढीको लागतमा यी संरचनाहरु निर्माण गरिएको हो।’ उनले भने, ‘ माटो र काठले मन्दिर निर्माण गरिएको थियो। स्वदेशी र विदेशी दाताहरुको सहयोगमा अहिले सिंगमर्मरका पत्थर राखेर मन्दिरलाई सिंगारिएको छ।’

पर्यटकीय क्षेत्रको बृहत्तर विकासका लागि १५० जना स्थानीयको सहयोगमा अक्षय–कोषसमेत खडा गरिएको छ। पच्चिस बिघा क्षेत्रफलमा साकेतधाम फैलिएको साकेतधाममा प्रत्येक महिनाका चार वटा शुक्रबार अखण्ड पूजा र नवरात्रमा भव्य मेला लाग्ने गर्दछ। त्यस्तै, युवा युवतीहरुले धार्मिक वन क्षेत्रलाई पिकनिकका लागि उपयोग गर्दै आएका छन। 

बाबा रामदास स्वामी भन्छन्, ‘ब्रम्हदेव हुदै विष्णु मन्दिर, रौटेला र झिलमिलालाई जोडने सडमको निर्माण गर्न सकिए पर्यटन व्यवसायलाई अगाडि बढाउन सकिन्छ।’ तेश्रो मुलुकका पर्यटकहरुलाई उल्लेख्य रुपमा भित्राउन नसके पनि भारतीय पर्यटकलाई तान्न सकिने उनको भनाई छ।

राष्ट्रपति, उप राष्ट्रपति, सरकारका मन्त्री, उच्चपदस्थ अधिकारीहरू प्रत्येक वर्ष साकेतधामको अवलोकन गर्दछ आएको छन्। तर, यहाँको विकासका लागि पहल नगरेकोप्रति स्थानीयको गुनासो छ।

जिल्ला सदरमुकाम महेन्द्रनगरबाट साकेतधाम क्षेत्र जोडन्का लागि भीमदत्त नगरपालिका कार्यालयले सडकमा ग्राभेलसंगै कालोपत्रे गर्ने बताएको छ। आर्थिक अभावले पूरै सडकलाई एकै पटक कालोपत्रे गर्न नसकिने भएकाले खण्डखण्डमा कालोपत्रे गर्ने योजना नगरपालिकाको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.