विचार

नेपाली साहित्यमा जुर्मुराउँदै दार्जिलिङ
SHARES

बैशाख २३, २०७५

    भारतको दार्जिलिङ, सिक्किमलगायत क्षेत्र नेपाली साहित्यका लागि उर्वर क्षेत्र हुन्। दार्जिलिङ नेपाली साहित्यमा अग्रणि नै थियो। गोर्खाल्याण्ड आन्दोलन आदि कारणले केही समययता खस्किएको यहाँको साहित्यिक माहोल पुनः लयमा फर्किन थालेको छ। 

    कालिम्पोङको रोङ्वोमा शनिबार सम्पन्न एउटा साहित्यिक साँझले दार्जिलिङको साहित्यिक माहोल पुनः तातेको देखियो। यहाँका अधिकांश साहित्यकारहरू आफ्नो पीडालाई साहित्यमार्फत् बाहिर ल्याउने गर्छन्। पहाडी क्षेत्रमा दैनिकी चलाउन घाम, पानी नभनी गर्नुपर्ने मिहिनेत र संघर्षका कथालाई साहित्यमार्फत् पोख्ने गर्छन् यहाँका साहित्यकारले।

    आफूहरूको पहिचानलाई स्थापित गराउनका लागि पनि उनीहरूका लागि कला र साहित्य सशक्त माध्यम बनेका छन्। यहाँका धेरै साहित्यकारहरूले आफ्नो वर्ग संघर्षको अन्दोलन पनि आफ्नो लेखनबाटै गर्ने गरेका छन्। लेखक वा साहित्यकारलाई सिर्जना गर्नका लागि केही न केहीले घच्घच्याउनुपर्छ, तब मात्र उनीहरूको सिर्जना उत्कृष्ट हुन्छ। उनीहरूले आफ्ना संघर्षका कथालाई सिर्जनामार्फत् बाहिर ल्याउन सक्छन्। 

    त्यहाँका नेपालीभाषीमा साहित्यप्रतिकोे मोह पनि यसै करण बढेकोे देखिन्छ। पहिचानका लागि भएका संघर्ष, दैनिकी चलाउन गर्नुपर्ने संघर्षलाई नै आफ्नो सिर्जनामार्फत् बाहिर ल्याउँदै उनीहरू साहित्यकार बनेका छन्। भारतमा बसेर नेपाली साहित्यका लागि ठूलो योगदान गर्ने अगमसिंह गिरी, ईन्द्रबहादुर राई, दान खालिङ, वीरविक्रम गुरुङ, एमएम गुरुङ  जस्ता थुप्रै साहित्यकारको थातथलो पनि यही हो। नेपाली भाषा र साहित्यप्रति उनीहरूकोे योगदानका बारेमा चर्चा गरेर कहिल्यै पुग्दैन। साहित्यमार्फत् उनीहरूले नेपालीभाषी भारतीयलाई एकअर्काप्रति जोड्ने गरेका छन्। 

    साहित्यप्रतिकोे अग्रजकै लगावका कारण गाउँमा पनि साहित्यप्रतिको आकर्षण बढ्दो छ। यहाँको साहित्यको 'क्रेज'बारे मैले पनि धेरै पढेको थिएँ। तर त्यहाँ हुने साहित्यिक कार्यक्रमहरूमा सहभागी हुने खासै मौका पाएको थिइनँ। यस्तै साहित्यिक कार्यक्रममा सहभागी हुने मौका मिल्यो यस पटक। भारत र भूटानको सीमामा पर्ने कालिम्पोङको रंगो भन्ने ठाउँमा शनिबार एक साहित्यिक कार्यक्रम थियो। त्यहाँको कार्यक्रममा सहभागी भएपछि त्यहाँका नेपालीभाषीले नेपाली साहित्य र भाषाप्रति गरेको माया देख्दा निकै खुसी लाग्यो। 

    नेपाली साहित्य क्षेत्रमा चिनिनका लागि भारत र नेपालमा तयार भएका नेपाली साहित्यका पुस्तकहरू आदान-प्रदान गर्न जरुरी छ। तर नेपालमा आएका नयाँ र राम्रा पुस्तकहरू उनीहरूलाई पाउन मुस्किल पर्छ भने भारतमा उनीहरूले लेखेका नेपाली साहित्यका पुस्तकहरू नेपालसम्म ल्याउन नसक्दा नेपाली साहित्य क्षेत्रमा राम्रो गर्दागर्दै पनि उनीहरूको नाम आउँदैन।

    कार्यक्रम थियो- यस क्षेत्रका उम्दा सर्जक मनोज वोगटीको कथासंग्रह ‘लाइफ अ बटरफ्लाई’को विमोचन। कार्यक्रमको चाँजो मिलाएका थिए- कवि/पत्रकार अनिल तलैजाले। उनले आफ्नो निजी रिसोर्टमा कार्यक्रम आयोजना मात्र गरेनन्, सहभागीलाई खान र बस्नको व्यवस्थासमेत गरे। मनोजका पुराना मित्र कवि राजा पुनियानीले उनीसँग अन्तरसंवाद पनि गरे, जसले मनोजको कथाकारिताबारे बुझ्न सहज बनाएको थियो। 

    हामी नेपालबाट गएका थियौँ। बैशाख महिनामा झापाको गर्मी सहनै नसकिने थियो। त्यहाँ पुगेपछि त्यहाँको शीतलताले मन निकै आनन्दित बनायो। बाह्रै महिना जाडो हुने क्षेत्र रहेछ रंगो। 

    शनिबार क्रमश: साँझ पर्दै थियो। पुस्तक विमोचनका लागि बोेलाइएका अतिथिहरू पनि क्रमश: उपस्थित हुँदै थिए। कार्यक्रममा रंगोका अधिकांश स्थानीयहरू पनि सहभागी भए। त्यहाँ सहभागी भएकाहरूलाई देख्दा एक प्रकारले मन खुसी हुन्थ्यो- उनीहरू भारतमा बसेर पनि नेपाली भाषा र साहित्यलाई निकै मनपराउँथे। कार्यक्रममा सहभागी उनीहरूले निकै चासोपूर्वक वक्ताहरूका कुरा सुनिरहेका थिए। यसले नेपाली भाषा र संस्कृतिप्रतिको उनीहरूको माया प्रस्ट झल्काउँथ्यो। 

    नेपालमा अधिकांश हुने अधिकांश कार्यक्रममा कार्यक्रमै नसकिई धेरै हिँड्ने गर्छन्। कार्यक्रममा सहभागीको त कुरै छाडौँ, निम्त्याइएका अतिथि पनि कार्यक्रम सकिनु अगावै हिँड्ने गरेका उदाहरण प्रशस्तै छन्। तर यहाँका स्थानीयहरू कार्यक्रमको सुरुदेखि अन्तिमसम्म हलचल नगरी बसिरहेका थिए। उनीहरूको यो व्यवहारले निकै अचम्भित र आनन्दित तुल्यायो।

    आजकाल साहित्यिक कार्यक्रमहरू शहरको एउटा कोठामा सीमित अतिथि बोलाएर गरिन्छ। यसले केही अतिथिले मात्र साहित्यबारे बुझ्ने मौका पाउँछन्। तर त्यो कार्यक्रम गाउँको खुला स्थानमा गरिएको थियो। त्यहाँ धेरै स्थानीयको सहभागिता देखिन्थ्यो। गाउँमा पनि साहित्यको 'क्रेज' र साहित्यकारप्रतिको माया निकै देखिन्थ्यो। यसले साहित्यकारलाई लेखन क्षेत्रमा लाग्न निकै प्ररित गर्छ। साहित्यकारप्रतिको सम्मानका कारण नयाँ पुस्तालाई पनि साहित्य क्षेत्रमा लाग्न निकै प्रेरित गर्थ्यो। उनीहरू करिब ५ बजे कार्यक्रम सुरु भएदेखि राती ९ बजेसम्म नै बसिरहेका थिए। त्यसले पनि साहित्यप्रतिको सम्मान प्रस्ट देखिन्थ्यो। त्यहाँका प्रत्येक घरमा साहित्य सिर्जना गर्ने भेटिन्छन्। साहित्यप्रतिको मायाका कारण उनीहरू सिर्जनामा लाग्छन्। 

    यस कारण नेपाली साहित्यको एक हिस्सा भारतमा बस्ने नेपाली (गोर्खा)ले पनि धानेका छन् भन्न सकिन्छ। उनीहरू जति साहित्यलाई माया गर्छन्, साहित्य सिर्जना गर्छन् तर नेपाली साहित्यमा चिनिन उनीहरूलाई त्यति सहज छैन। उनीहरूको सिर्जना नेपालसम्म आइपुग्न निकै समस्या छ।

    नेपाली साहित्य क्षेत्रमा चिनिनका लागि भारत र नेपालमा तयार भएका नेपाली साहित्यका पुस्तकहरू आदान-प्रदान गर्न जरुरी छ। तर नेपालमा आएका नयाँ र राम्रा पुस्तकहरू उनीहरूलाई पाउन मुस्किल पर्छ भने भारतमा उनीहरूले लेखेका नेपाली साहित्यका पुस्तकहरू नेपालसम्म ल्याउन नसक्दा नेपाली साहित्य क्षेत्रमा राम्रो गर्दागर्दै पनि उनीहरूको नाम आउँदैन। त्यस कारण नेपालमा लेखिएका नेपाली साहित्यका पुस्तक र भाारतमा लेखिएका नेपाली साहित्यका पुस्तक आदान-प्रदानको व्यवस्था मिलाउन सके अझ राम्रो हुने थियो।

    यस्तै, नेपालमा लेखिएका साहित्यका पुस्तकहरू भारतसम्म पुर्‍याउन सके उनीहरूले हिन्दी, बंगालीलगायत भाषामा छाप्ने बताउँदै आएका छन्। यसले गर्दा नेपाली साहित्यलाई विश्व साहित्यमा पुर्‍याउन सहज हुने थियो।

चिरञ्जिबी घिमिरे

पत्रकार घिमिरे थाहाखबरका लागि राजनीति, साहित्य र समाजबारे लेख्छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]