|

विराटनगर : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा भित्र्याइएको साढे ३३ किलो सुन तस्करी र सनम शाक्यको हत्याको आरोपमा पक्राउ परेकामध्ये  १५ जनाको बयान सकिएको छ। 

पक्राउ परेका ३० जना अभियुक्तहरूमध्ये जिल्ला अदालत मोरङमा आइतबारसम्म १५ जनाको मात्र बयान सकिएको अदालतका श्रेष्तेदार नवराज दुलालले जानकारी दिए। 

उनका अनुसार आइतबार मात्रै नौ जनाको बयान सकिएको छ। २०६९ सालदेखि अवैध रूपमा सुनको कारोबार गर्ने भुजुङ गुरुङ, व्यापारी राजेन्द्रकुमार शाक्य, महावीर गोल्यान, विमानस्थलका कर्मचारी एलबी भन्ने लालबहादुर मगर, वीरेन्द्रमान श्रेष्ठ, सम्बिरप्रसाद तोलाङ्गे, बालकृष्ण श्रेष्ठ, तुलाराम खत्री र तस्करीका मुख्य अभियुक्त गोरेका विश्वास पात्र टेकराज मल्ल ठकुरीको बयान सकिएको हो।

बयानका लागि अदालतमा ल्याइएका प्रहरी नायव निरीक्षक बालकृष्ण सञ्जेलसहित अन्यको भने सोमबार बयान हुनेछ। श्रेष्तेदार दुलालका अनुसार बैशाख २५ गतेसम्म न्यायिक हिरासतमा रहेका सबै अभियुक्तको बयान सकिनेछ। बयान सकिएपछि थुनछेक बहस सुरु हुनेछ। यसअघि मोहन काफ्ले, लाक्पा शेर्पा, माधव भनिने मदनप्रसाद घिमिरे, कृष्ण भनिने नरेन्द्र कार्की र राजन कुमारको बयान सकिएको छ। 

गएको बुधबार अदालतमा मुद्दा दर्ता गरिएका ६३ जनामध्ये न्यायिक हिरासतमा आठ जना प्रहरी अधिकारीसहित ३० जना छन् भने ३३ जना अझै फरार छन्। फरार हुनेमा मुख्य नाइके चूडामणि उप्रेती 'गोरे'सहित बहालवाला वरिष्ठ प्रहरी उपरीक्षक श्याम खत्रीसमेत छन्। 

गोरेसहित ३३ फरार

बहुचर्चित साढे ३३ किलो अवैध सुन र शाक्य हत्या प्रकरणको मुख्य नाइके भनिएका चूडामणि उप्रेती ‘गोरे’ र एसएसपी श्यामबहादु खत्रीसहित ३३ जना अझै फरार छन्। 

प्रहरीका अनुसार फरार हुनेमा धरान घर भई काठमाडौंमा गोल्ड सिल्भर प्यालेस संचालन गर्दै आएका सुनिल श्रेष्ठ, भोजपुर दिङ्ला घर भई काठमाडौं बस्दै आएकी रक्षा भण्डारी, मोरङ सुनवर्षी नगरपालिका- ६ का अर्जुनप्रसाद खरेल, पर्वत पैयूँ गाउँपालिका– ७ का रोशन भनिने गुप्तलाल भुसाल, काभ्रेपलान्चोक घर भएका रामहरि कार्की, पोखरा लेखनाथ महानगरपालिकाका– २१ का प्रयास पराजुली, सिन्धुपाल्चोक बलेफी गाउँपालिका– ५ का सञ्जय अधिकारी र समिर अधिकारी फरार छन्। 

त्यस्तै, धनकुटा घर भई काठमाडौं बस्दै आएकी गीता श्रेष्ठ, गोरेकी श्रीमती मोरङ उर्लाबारीकी नर्वदा खरेल उप्रेती, मोरङ कानेपोखरी– ४ का माधव आचार्य, मोरङ सुन्दरहरैँचाका ओमप्रकाश नेवार, सुनसरी धरानका सुनिलकुमार अग्रवाल, झापा शिवसताक्षी नगरपालिका– ६ का कृष्णगोपाल अग्रवाल, मोरङ उर्लाबारी नगरपालिका– ७ घर भई काठमाडौं बस्दै आएका रमेश उप्रेती, काठमाडौंमा बाजेको सेकुवा पसल संचालन गर्दै आएका चेतन भनिने चेतनाथ भण्डारी, काठमाडौं बानेश्वरका प्रमोदकुमार श्रेष्ठ फरार रहेका छन्।

त्यसैगरी इटहरी– ६ का वेनु श्रेष्ठ, काभ्रेपलान्चोक बेथानचोक गाउँपालिकाका हरिशरण खड्का, बाग्लुङ काठेखोला गाउँपालिका– ७ का कमल कार्की, काठमाडौं–१६ का मणिराज चौँलागाईं, सिन्धुपाल्चोक सुन्दरी गाउँपालिका– १ का शिवकुमार गुभाजु, हेटौँडा उपमहानगरपालिका– ४ का सुरेन्द्र गौतम, सोलुखुम्बु दूधकुण्ड नगरपालिका– ८ का टुकबहादुर मगर, मोरङ उर्लाबारीका भविन तामाङ, काठमाडौं– २९ बस्ने एमके भनिने मोहनकुमार अग्रवाल, काठमाडौं नागार्जुन नगरपालिका– ४ का छिरिङ वाङ्गेल घले अझै फरार रहेका प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.