|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अनाहकमा राष्ट्रिय सुरक्षा खलबल्याउने काम भइरहेको बताएका छन्। राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको १७औँ वार्षिकोत्सवलाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विभिन्न नाममा राष्ट्रिय सुरक्षा खलबल्याउने काम भइरहेको बताए।

रक्षा मन्त्रालय प्रांगणमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले जानेर वा नजानेर राष्ट्रिय सुरक्षामा खलल पर्ने काम भइरहेको बताए। 'अनाहकमा राष्ट्रिय सुरक्षा खलबल्याउने काम भएका छन्। देशमा स्थायित्व हुने गरी निर्वाचन गर्दा बम पड्काइए। देश अगाडि बढ्न खोज्छ। विखण्डन हुन खोज्छ। साम्प्रदायिकका डरलाग्दा कामहरु हुन्छन् यसले राम्रो गर्दैन', ओलीले भने, 'यो काम आफै सञ्चालित हो वा अन्यत्रबाट भएको हो। त्यो नेपालको हितमा छैन।'

राष्ट्रियतामागि धावा बोल्ने खालका गतिविधिहरु भइरहेको भन्दै त्यसप्रति सचेत हुनुपर्ने प्रधानमन्त्री ओलीले बताए। 'नेपालको हित नहुने खालका कारकारबाहीहरु भइरहेका छन्। राष्ट्रिय अखण्डतामाथि समेत सकेसम्म ढावा बोल्ने देशद्रोही अभिव्यक्ति र गतिविधि भइरहेका छन्', प्रधानमन्त्रीले भने 'अनाहक रुपमा शान्ति सुब्यवस्था खल्बल्याउने काम भइरहेका छन्। राष्ट्र महान यात्रामा अगाडी बढ्न खोज्दा त्यस राष्ट्रिय गन्तव्यतर्फको यात्रालाई रोक्न खोज्ने बिटुल्याउने खालका कामहरु पनि भइरहेका छन्।'

राष्ट्रियताको सवालमा धावा बोल्ने, आक्रमण गर्ने र अपराधिक क्रियाकलापहरु भइरहेको भन्दै प्रधानमन्त्रीले केही समय अघि विराटनगरमा धार्मिक गुरु माथि भएको गोलीकाण्डबारे प्रश्न गरे। भने, 'गोली कसले हान्यो किन हान्यो ? त्यो भन्दा ठूलो तमासा के हुन्छ ?' उनले धार्मिक र सांम्प्रदायीकता भड्काउने कामको सरकारले सशक्त प्रतिकार गर्ने बताए।

प्रधानमन्त्री ओलीले सुरक्षा परिषदको अध्यक्षको हैसियलले आफूले सबै गतिविधि नियालिरहेको भन्दै तथ्यको गहिराइमा गएर त्यस्ता घटनाको छानबिन र दोषीलाई कारबाही हुने बताए। 'कुनै भावनात्मक रूपमा होइन, नेपाल लोकतान्त्रिक मार्गमा अगाडि बढ्छ। प्रतिगमन सम्भव छैन त्यो सोचाइ मनमा नराखे हुन्छ,' प्रधानमन्त्री ओलीले भने, 'यो देशले अनेक उतारचढाउ भोगेको छ, देखेको छ। नेपाली सेनाले देखेको छ, भोगेको छ राष्ट्रको एकताको पक्षमा लडेको छ। सुरक्षा निकायहरु निम्छरो अवस्थामा पनि निर्भिकताका साथ राष्ट्रको पक्षमा लडेका छन्।'

राष्ट्रिय सुरक्षाविपरीतका ती घटनाहरुलाई मसिनोगरी तथ्यको गहिराइमा गएर हेरिरहेको भन्दै प्रधानमन्त्री ओलीले नेपाल लोकतान्त्रिक मार्गमा दृढताका साथ अगाडि बढ्ने बताए। भने, 'प्रतिगमन सम्भव छैन। सोचाइमा पनि नल्याए हुन्छ। नेपालले अनेक उतारचढाव भोगेको भन्दै नेपालका सुरक्षा निकायले राष्ट्रियताका पक्षमा ज्यान दिएर काम गरेको छ।'

राष्ट्रिय सुरक्षासम्बन्धी नीति र अवधारणाहरु समयानुकूल ढंगले एकीकृत र सुदृढ बनाउने तयारी भइरहेको प्रधानमन्त्री ओलीले जानकारी दिए। सार्वभौमसत्ता जहिले पनि जनतामा हुने बताउँदै प्रधानमन्त्रीले जनता सधैँ शक्तिशाली हुने बताए। 'हिजो राजतन्त्रात्मक व्यवस्थामा सार्वभौमसत्ता राजामा छ भनिन्थ्यो। सार्वभौमसत्ता जहिले पनि जनतामा हुन्छ, तर अन्तै छ भनियो। जनता सर्वौपरी शक्तिशाली हुन्छ। सार्वभौमसत्ता जनतामा हुन्छ,' प्रधानमन्त्रीले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.