विचार

गाउँ गाउँ जस्तो छैन, शहर शहर जस्तो छैन
SHARES

बैशाख २६, २०७५

    गाउँ र शहरका बीचको सम्बन्ध कस्तो हुन्छ हाम्रो जस्तो देशमा? कस्तो हुनुपर्छ? यो एउटा नयाँ बहसको विषय यस कारणले पनि उब्जेको छ कि अहिले हाम्रो देशमा गाउँपालिका र नगरपालिकाको संख्यामा खासै अन्तर देखिँदैन। उस्तैउस्तै संख्यामा सरकार बनेका छन्। बाँदर पनि लडेर मर्ने भीर र पाखालाई नगरपालिका घोषणा गरिएको छ र एउटा सिंहदरबार व्यवस्थित गर्न नसकेको यथार्थलाई बिर्सिंदै ७५३ वटा सिंहदरबारको सपना बाँडिएको छ- विपनामै। 

    तीन तहका सरकार छन्। स्थानीय सरकार ७५३ वटा छन्। प्रादेशिक सरकार सातवटा छन्। संघीय सरकार एउटा छ र पनि सबैको साँचो उसैको हातमा छ। तालाचाबी उसैको हातमा छ। गाउँ र शहरका बीचको फरक शब्दमा मात्र छ तर व्यवहारमा गाउँ गाउँ नै छ र शहर बरु विना सुविधाको शहर बनेको छ। न गाउँ गाउँ जस्तो रहेको छ अहिले, न त शहर शहर  जस्तो हुन सकेको छ। 

    गाउँ भनेको निश्छल व्यक्तिहरूको बसोवास हुने ठाउँ हो। साँस्कृतिक धरोहरको नमुना वस्ती हो र शुद्ध खानपानको स्वर्गीय थलो हो। बस्तु पाल्ने, गोबरको अत्यधिक प्रयोग गरेर स्वस्थ खाद्यान्न भित्र्याउने थलो हो गाउँ। सबै मानिसहरूले एकअर्काका सुख दुःखमा साथ दिने गाउँको विशेषता हो। मर्दा र पर्दा जहिले पनि साथ दिने संस्कृति गाउँमा हुनुपर्छ भन्ने मान्यता हामी नेपालीहरूमा छँदै छ। अहिले के यस्तै छ त नेपाली गाउँहरूमा? गाउँले बानी त्यस्तै छ त?

    काम गर्न सक्ने जनशक्ति गाउँमा छैन। कि त भर्खर विहे गरेका युवतीहरू मात्र गाउँमा छन्, या त किशोर किशोरीहरू वा वृद्धवृद्धाहरू मात्र गाउँमा छन्। विदेश गएका विवाहित युवाहरू जब घर आउँछन् फर्केर केही वर्षमा, न पत्नी साखुल्ले फेला पर्छन्, न त पठाएको सम्पत्ति नै भन्ने अनुसन्धानले देखाएको छ, धेरैजसोको।

    कसैकी छोरीलाई घर पठाउँदा सानो सूचनामा पाथीका पाथी गाई र भैँसीको दूध ल्याएर कुराउनी पकाउने संस्कृति, कसैका घरमा विहे बटुलो पर्दा वा श्राद्ध पर्दा केराका घरीका घरी ल्याइदिने गाउँले संस्कृति अब गाउँमा छ त? अझ भनौँ, गाउँमा कृषि उत्पादनबाट जीविका चलाउने र एकअर्कामा ऐँचोपैँचो लिने–दिने संस्कृति बाँकी छ त? 

    युवाहरू गाउँ छाडेर विदेश पलायन भएका छन् पैसा कमाउन अनि पैसा आउने आशमा लाश आउन थालेको सत्य आफ्नै ठाउँमा छ। काम गर्न सक्ने जनशक्ति गाउँमा छैन। कि त भर्खर विहे गरेका युवतीहरू मात्र गाउँमा छन्, या त किशोर किशोरीहरू वा वृद्धवृद्धाहरू मात्र गाउँमा छन्। विदेश गएका विवाहित युवाहरू जब घर आउँछन् फर्केर केही वर्षमा, न पत्नी साखुल्ले फेला पर्छन्, न त पठाएको सम्पत्ति नै भन्ने अनुसन्धानले देखाएको छ, धेरैजसोको। सत्य त्यसको धेरै नजिक छ।

    एकातिर युवाविहीन गाउँ छ, अर्कोतिर नेपालको राजनीतिले कोल्टे फेरेको अवस्था छ। स्वायत्त स्थानीय सरकार छ, सुविधाविहीन। अधिकारको बोझले संविधानले लच्केको छ तर स्थानीय तहमा स्रोत र साधन छैन। गाउँलाई, भीर पाखालाई नगर घोषणा गरिएको छ तर नगरमा हुने सुविधा न त महानगरमा नै छ, न उपमहानगरमा नै पाइन्छ अनि बलजफ्ती गाउँलाई शहर बनाउँदैमा कसरी सुविधा र सम्पन्नता गाउँका भीरपाखामा पुग्यो होला? तर बानी व्यहोरा शहरको जस्तो भएको छ। ग्याँसमा खाना पाक्छ, ब्रोइलर कुखुराको मासुले पसलहरू शोभायमान छन् र गाउँमा तरकारी लगाउने मान्छे नपाउने अवस्था छ। झन् भूकम्पको झड्काले तहसनहस भएको चौथाई नेपालमा अब कंक्रिटको जंगल तयार भएको छ। मनपरी छ। न कर्मीहरू इमान्दार छन्, न त सरकारले नै पुनर्निर्माण हुनेगरी लाभग्राहीलाई सुविधा दिन सकेको छ।

    सरकार जनताका घाउमा मह्लम लगाउन शर्त राख्छ र नपुगेको रकम ऋण दिने भन्छ। कथा सारसलाई थालमा झोलिलो पदार्थ पस्केझैँ भएको देखिन्छ। गाउँको अवस्था न हाँसको जस्तो छ, न कुखुराको जस्तो। प्रत्येक छाकमा चुलोमा त्यही पाक्न थालेको छ। गाउँमा तरकारी लगाउने, कुखुरा पाल्ने, खसी बोका पाल्ने, बस्तु पाल्ने संस्कृति हराउन थालेको छ किनभने खोइ घाँस उत्पादन गर्ने ठाउँ अनि उत्पादन गर्ने जनशक्ति? 

    आजभन्दा २५ वर्षअघिको नेपाल छैन अब। गाउँ सबै शहर भएका छन् तर शहरका सुविधा भनेको केही पनि छैनन्। बिजुलीका तार त पुगेका छन् तर बिजुली नियमित हुन सकेको छैन। मोबाइल त घरघरमा पुगेका छन् तर इन्टरनेटको सुविधा र पहुँचको विस्तार सहज छैन। डिस एन्टेना घरघरमा झुन्डिएको छ तर बिजुलीको सहजता नहुँदा घरमा देखाउन मात्र राखेको जस्तो भएको छ। विकासका नाममा बाटो जताततै खनिएको छ तर त्यसको सुव्यवस्था हुन सकेको छैन। भत्काउने होड छ, बनाउने होड छैन। इमान जमान हराएको गाउँ कस्तो होला? मदिराको राज भएको गाउँ कस्तो होला? 

    तर सबै ठाउँमा इमान जमान हराएको छैन र पनि पुनर्निर्माणका कामको चेपाचेपले स्वयंभू ठेकेदार र नयाँ तालिमवाला कर्मीहरूको बिगबिगी बढेको छ। काम बेलामा हुँदैन। ठगहरूको बिगबिगी बढेको छ भन्नेहरू बेठीक पनि होइनन्। राज्य कुम्भकर्णको निद्रामा छ। आवश्यक सामग्रीको जोहो तिनै निरीह गाउँले गर्नुपर्छ, जोसँग न जनशक्ति छ, न आवश्यक पैसा, न आवश्यक काठपात, न त कसैले ठगेपछि कराउने आधार छ। गाउँमा सरकार छ, सुविधाविहीन र श्रोतविहीन। जनताको सुखमा हाँस्न र जनताको दुःखमा रुन पनि पाउँदैन किनभने संविधानमा अधिकारहरूको बोझ छ र केन्द्रको आशामा काकाकुलझैँ कहिले बजेट पर्ला र जनताका काममा सहयोग गरौँला भनेर आकाशतिर फर्केर पानी पर्ने आशामा एक टक हेरिरहेको छ। 

    न गाउँ अब गाउँ रहन सक्यो, न त शहर शहर बन्न सक्यो। बलजफ्ती गाउँलाई शहर बनाउँदा हुने विकृतिले आफ्नो प्रभाव देखाउन भने थाल्यो। 
    अरू ठूला कुरा केही चाहिएन सरकार हामी गाउँलेलाई, गाउँलाई गाउँ जस्तै बन्न देऊ। गाउँले नै रहन देऊ। शहरलाई शहर जस्तो बनाउन कोसिस गर। बनेका शहरलाई पानी देऊ, चिल्लो बाटो देऊ, ढलको व्यवस्था गर। गाउँलाई पनि मान्छेलाई आवश्यक पर्ने पूर्वाधारको  व्यवस्था गर। गाउँलाई तर पुरानै गाउँको सभ्यताबाट टाढा नपु¥याऊ। गाउँले गाउँले नै भएर बाँच्न चाहन्छन् र सभ्य र सुसंस्कृत गाउँले नेपाली भएर मर्न चाहन्छन्- आफ्नो शुद्ध गाउँमा। 
    कवि हेम हमालको कविता यहाँ साभार गर्न मन लाग्यो :

    गाउँ गाउँ जस्तो छैन 
    शहर शहर जस्तो छैन
    कसकसले केके गर्दिए कुन्नि
    आफू जन्मिएको ठाउँ नै चिनिँदैन।

हरिविनोद अधिकारी

पत्रकार अधिकारी समसामयिक विषयमा कलम चलाउँछन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]