|

कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ८ बेलडाँडीमा जडीबुटी प्रशोधन केन्द्र सञ्चालनमा आएपछि एक दर्जनभन्दा बढी महिलाले रोजगारी पाएका छन्।

प्रगति महिला सामुदायिक वनबाट महिलाहरूले पालै–पालो मिलाएर असारेका पात टिपेर र खेतमै लगाएको मेन्था, क्यमामाइललगायत जडीबुटी प्रशोधन गर्नका लागि जडान गरिएको प्लान्टमा लगेर तेल निकाल्ने गरेका छन्।

प्लान्ट सञ्चालन गर्ने प्राविधिक र प्लान्टको खर्च कटाएर बाँकी रहेको रकम महिलाहरूले बाँडेर लिने गरेका छन्। दैनिक रूपमा यहाँका महिलाहरूले पाँच सयदेखि रु एक हजार रुपैयाँसम्म आम्दानि गर्दै आएको बाटु देवी साउदले बताईन्।

‘वनमा रहेको आसारेको महत्व नबुझदा विगतमा घाँस र सोतरका रुपमा प्रयोग हुने गरेको थियो’ उनले भनिन्, ‘जडिबुटी प्लान्ट जडानसँगै असारेको तेल निकाल्न सकिने र बजारमा महँगोमा बिक्री हुने थाहा पाएपछि तेल निकाल्ने कार्यमा लागेका छौँ।’ वनमा जताजतै रहेको असारे आम्दानीको श्रोत बन्न थालेपछि निकै खुसी भएको उनले बताइन्।

असारेको तेलप्रति लिटर चार हजार रुपैयाँमा बिक्री हुने गरेको छ। महिलाहरूले हालसम्म ५६ हजार रुपैयाँको तेल बिक्री गरेका छन्। अझै ४० लिटर तेल तयारी अवस्था रहेको उनीहरू बताउँछन्। जसको बजार मूल्य एक लाख ६० हजार रुपैयाँ रहेको छ।

गाँउकै वीरबहादुर ऐरले तेल संकलन गरी नेपालगञ्ज पुर्याएर बिक्री गर्दै आएका छन्। वनको बाँझो जग्गाको सदुपयोग गर्दै सामुदायिक वनका चारवटा समूहमा आवद्ध ८० महिलाहरूमध्ये १५ जनाले मेन्थाको खेती गरी ३७ हजार पाँच सय रुपैयाँ आम्दानी गरेका छन्। अझै चार विघा जग्गामा क्यामामाइल खेती शुरु गरेका छन्। जडिबुटी खेती थोरै मिहिनेतमा बढी आम्दानी हुने, जंगली र घरपालुवा जनावरले नखाने भएकाले पनि यस तर्फ यहाँका किसानको आर्कषण बढ्दो रूपमा रहेको छ।

अन्न र तरकारी बालीभन्दा जडिबुटी खेतीबाट बढी आम्दानी हुने भएकाले धेरैको रोजाईमा यो खेती परेको स्थानीय सुरत साउदले बताए उनले भने, ‘प्रतिबर्ष जडिबुटी खेती गर्नेहरूको संख्या बढ्दो छ।’ 

निड्स नामक गैरसरकारी संस्थाको पाँच लाख २० हजार रुपैयाँमा जडिबुटी प्रशोधन गर्ने मेसिन खरिद गरि जडान पश्चात् केन्द्र सञ्चालनमा ल्याईएको हो । प्रशोधन केन्द्र सञ्चालनका लागि स्थानीय उपभोक्ताले दुई लाख रुपैयाँको लागतमा भवन निर्माण गरेका छन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.