|

महोत्तरी : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका नेता माधवकुमार नेपालले एउटै मञ्चबाट वाम एकतालाई कसैले भाड्न नसक्ने बताएका छन्। नेपाली जनताले अव वाम गठबन्धन चाहेको भन्दै एकताबाट दलहरु पछाडि हट्न नहुने दुबै नेताले बताए। 

वामपन्थि नेता निर्मल लामा स्मृति सभालाई बिहीबार महोत्तरीको बर्दिबासमा सम्बोधन गर्दै नेता नेपालले प्रचण्डलाई पार्टी एकता छिट्टै टुंग्याउन आग्रह समेत गरे। ‘तपाईंको तर्फबाट ढिला भएको छ भने ढिला नगर्नुस्, ओलीको तर्फबाट हो भने हामी टुंग्याउछौँ’ नेपालले प्रचण्डलाई भने ‘एकताको तारेख सरेको सरै छ अव ढिलाइ सहिदैन। शक्ति सन्तुलन वामपन्थिका पक्षमा छ। बामपन्थी मजबुत नबनाएसम्म कसैको कल्याण हुँदैन।’ दुई शक्तिको एकताले तरंग पैदा गर्ने बताउँदै एमाले र माओवादी एक हुन ढिल्ला गर्नु नहुने उनले औँल्याए।

प्रचण्डले माधवकुमार नेपाललाई भने, ‘न मेरो कारणले पार्टी एकता ढिला भएको हो, न केपी जीको व्यक्तिगत कारणले।’ परिपक्व एकतामा छलफल भइरहेकोले ढिलाई भएको उनले दावी गरे। दाहालले भने ‘पार्टि एकता गरेर भोलि पछुताउनुभन्दा आजै राजनीतिक, वैचारीक, सैद्धान्तिक कुराहरू मिलाएर जाने गृहकार्य चलिरहेकै छ पार्टी एकता भएरै छाड्छ।’

देशलाई अव निकास दिएर विकास गर्दै आर्थिक समृद्धि तर्फ लिएर जान वामपन्थीहरू एक हुनैपर्ने प्रचण्डको भनाइ थियो। संचारमाध्यममा आएका पार्टी एकताअघि नै आफूलाई अध्यक्ष बनाउनु पर्ने भन्ने कुरा गलत हल्लाह मात्र भएको भन्दै प्रचण्डले त्यस्तो आफ्नो माग नरहेको दावी गरे। उनले भने, ‘बडो इमान्दारिताको साथ भन्छु, महाधिवेशनअघि मलाई अध्यक्ष दिनु पर्छ मैले भनेकै छैन।’

प्रतिक्रियावादीले वाम एकता नरुचाएका कारण एकता भाडन अनेकन प्रयत्न भइरहेका आरोप लाए। निर्मल लामालाई सम्झदै दाहालले उनलाई सम्झिएर मात्रै नपुग्ने भन्दै उनका सिद्धान्तहरू व्यवहारमा लागू गर्न सबैलाई आग्रह समेत गरे। अन्य वक्ताहरूले निर्मल लामालाई नेपालको इतिहासले कहिल्यै भुल्न नहुने धारणा राखेका थिए। 

निर्मल लामा स्मृति प्रतिष्ठानका अध्यक्ष अमिक शेरचनको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन र समापन गर्दै शेरचनले निर्मल लामालाई श्रद्धान्जली व्यक्त गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.