|

सुर्खेत उपत्यका अर्थात् कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकाको स्थापना वि. सं. २०३३ मा भएको हो। सुर्खेत उपत्यकाको यो सुन्दर नगरपालिकामा १६ वडा छन्। सुर्खेतको केन्द्र वीरेन्द्रनगर समुद्री सतहबाट झन्डै ६६५ मिटर उचाइमा अवस्थित छ। सुर्खेत उपत्यकाकाे उत्तरमा महाभारत पर्वत रानीमत्ता, रातानाङ्ला र दक्षिणमा चुरे पहाडले घेरिएको छ। 

याे उपत्यका कचौरा आकारमा दक्षिणतर्फ ढल्किएको छ। सुर्खेतकाे वीरेन्द्रनगर नगरपालिकामा धेरै जाडो पनि हुँदैन र धेरै गर्मी पनि हुँदैन। सुर्खेतमा मनोरम सुन्दर वातावरण छ। वीरेन्द्रनगर नगरपालिकाकाे क्षेत्रफल २४५.८५ वर्ग किलोमिटर छ। याे नगरपालिकाकाे पूर्वमा चिङ्गाड गाउँपालिकाको पाम्का र लेकबेँसी नगरपालिकाको साटाखानी, पश्चिममा बराहाताल गाउँपालिकाको हरिहरपुर, कुनाथरी र लेखगाउँ, उत्तरमा दैलेख जिल्लाको गुराँसे गाउँपालिकाको गोगनपानी र दक्षिणमा भेरी नदी पर्छन्। 

वीरेन्द्रनगर नगरपालिकामा ब्राह्मण, क्षेत्री, मगर, थारू, कामी, सार्की, दमाईं, दशनामी, सन्यासी र राजी जातिको बसोबास छ। यास नगरपालिकामा साँस्कृतिक विविधता पाइन्छ। सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा मोहनमाया ढकाल (भण्डारी) उपप्रमुख छन्। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकाका विविध पक्षमा उनै उपप्रमुख ढकालसँग थाहाखबरकर्मी धर्मराज जिसीले गरेको कुराकानीको सारसंक्षेप प्रस्तुत छ।  

नगर उपप्रमुख भएपछि अहिलेसम्म केके गर्नुभयो?

मुख्यत: विकास निर्माणका सन्दर्भमा नीति, कार्यक्रम र बजेटमा राखिएका कार्यक्रमलाई नै हामीले प्राथमिकता दिएका छौँ। स्थानीय तह संचालनका लागि चाहिने केही ऐन नियमहरू पनि बनाएका छौँ। शिक्षा, सहकारी, कृषि प्रवर्द्धनका लागि ऐन पनि बनाएका छौँ।  स्थानीय तहमा न्यायिक समितिको  कार्यसम्पादन विधेयक पास गरेका छौँ। प्रशासनिक ऐन पास गरेका छौँ। अन्य विभिन्न खाले निर्देशिकाहरू पनि तयार गरिसकेका छौँ।

महिलाको क्षेत्रमा छोरी जन्म वचत कार्यक्रमअन्तर्गत स्थानीय सरकारले छोराछोरीबीचको विभेद हटाउने उद्देश्यले जन्मदर्तामा एक हजार रुपैयाँ बचतसहित बैंक खाता खोलीदिने कार्यक्रम सुरु गरेका छाैँ। आमा सुरक्षा कार्यक्रमअन्तर्गत क्षेत्रीय अस्पताल सुर्खेतमा गर्भवती महिला गएमा एक पटक नि:शुल्क भिडियो एक्सरे गर्ने व्यवस्था मिलाएका छाैँ। आर्थिक अभावमा कुनै पनि आमाले उपचार नपाई ज्यान गुमाउनु नपराेस् भन्ने उद्देश्यले नगरपालिकाले अामा सुरक्षा कार्यक्रममार्फत् काम गर्ने निर्णय गरेका छाैँ। 

तपाईं नगरको न्यायिक समितिको प्रमुख पनि हुनुहुन्छ, नगरमा कस्ता प्रकृतिका समस्याहरू बढी आउँछन्? समाधानका उपाय के छन्?

नगरपालिकाको न्यायिक समितिले आफ्नो काम तीब्रताका साथ अगाडि बढाइरहेको छ। हामीले मुद्दा दर्ता फाँट पनि व्यवस्था गरेका छौँ। हामीसँग प्रायः महिला हिंसासम्बन्धी मुद्दाहरू बढी आउने गरेका छन्। महिला तथा बालबालिकाका लागि हामीले राम्रो काम गरिरहेका छौँ। कार्यालयमा महिला हेल्प डेस्क स्थापना गरेका छौँ। हिंसा प्रभावित महिलाहरू जोकोही पनि आउँछन्। उनीहरूको सबै विवरण खुल्ने गरी यही निवेदन लेख्ने तथा कानुनी परामर्शका लागि सहयोग गर्छौं। हामीकहाँ आएका मुद्दाहरू प्रहरी कार्यालयमा नपुग्ने गरी हामीले काम गरिरहेका छौँ। हामीले महिलाका लागि सुरक्षित आवासको व्यवस्था पनि गरेका छौँ। हिंसा प्रभावित महिलाहरू कानुनी लडाइँ लड्दा वा कानुनी उपचारको क्रममा सुरक्षित महसुस गर्नका लागि छुट्टै सुरक्षित भवन निर्माणका लागि पहल गरेका छौँ। हिंसा प्रभावित महिलाका लागि १० लाख रुपैयाँको कोष स्थापना गरेका छौँ।

समस्यामा परेका खण्डमा नगरले सहयोग गर्ने व्यवस्था गरेका छौँ। उक्त कोष वर्सेनि बढाउँदै जानेछौँ। बाल विवाहलाई न्यूनीकरण गर्ने उद्देश्यले हाम्रो कार्यकालभित्र यस नगरबाट बालविवाहका घटना नदोहोरिऊन् भन्ने उद्देश्यले विद्यालयमा प्रमुख र उपप्रमुखहरू बनाउने अभियान पनि ल्याएका छौँ। त्यसैगरी जेष्ठ नागरिकको सवालमा बुबाआमासँग चौतारी कार्यक्रम चलाउँछौँ। सुर्खेत अस्पतालमा कम्तीमा १० वटा शैयाको व्यवस्था गरेका छाैँ। त्यहाँबाट जेष्ठ नागरिकबाहेक अरूलाई सेवा नपाउने किसिमको व्यवस्था गरेका छौँ। विकास निर्माणका सवालमा चक्रपथ निर्माणमा पहल अगाडि बढाएका छौँ। नगर शिक्षा समिति निर्माण गरेका छाैँ। हामीले हाम्रा नियमित प्रशासनिक कामका साथै अन्य कामहरू पनि अगाडि बढाएका छौँ।

स्थानीय निर्वाचनमा मतदाता सामु तपाईंले गरेका प्रतिवद्धताहरू कति पूरा भए त? 

नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्दाखेरी यस वर्षलाई हामीले खासगरी योजना निर्माणको वर्ष भनेका थियौँ। त्यसैअनुरूप हामी अगाडि बढेका छाैँ। महिलाको क्षेत्रमा छुट्याइएको बजेट आर्थिक आयआर्जनसँगै जोड्नुपर्छ भनेका छौं। पाँच लाख रुपैयाँ हामीले होमस्टेका लागि छुट्याएर काम गर्ने भनेका छौँ। यसका लागि बहुचर्चित काँक्रेविहारको नजिक रहेको थारू बस्ती छानेका छाैँ। त्यसैगरी अर्को १३ नम्बर वडाको आफरमा संचालन गर्ने भनेका छौँ। यसरी हामीसँग छुट्टिएको बजेट चाहे महिलाको क्षेत्रमा होस् वा अपांगको क्षेत्रमा, यो बजेटलाई अब हामीले आर्थिक उत्पादनसँग जोडनुपर्छ भनेर उत्पादनमूलक तालिमको तयारी पनि गरेका छौँ। समस्याको पहिचान गरिसकेका छौँ। चार वर्षमा बाँकी रहेका वाचाहरूलाई सक्दो पूरा गर्ने ढंगबाट अगाडि बढेका छौँ। 

सुरुमा स्थानीय तहमा ऐन नहुँदा काम गर्न निकै गाह्रो पनि भयो। अहिले आवश्यक नभई नहुने कानुनहरू बनाएर पास गरेका छौँ। त्यसलाई पनि कार्यान्वयनका लागि केही समय लाग्छ नै। हामीकहाँ कतिपय तिनै तहका सरकारका साझा समस्याहरू पनि छन्। ती समस्या समाधानका लागि स्थानीय सरकारसँग स्रोत साधनको अभाव छ।

कर्णाली प्रदेशको राजधानी अर्थात् प्रदेशकै ठूलो नगर वीरेन्द्रनगरकाे भौतिक पूर्वाधार विकास जति हुनुपर्ने हो, त्यति हुन नसेकेको भन्ने गुनासो छ नि!

हो, तपाईंले भनेजस्तै नगरमा धेरै समस्याहरू छन्। यो कर्णाली प्रदेशकै राजधानी भएकाले पनि दिन प्रतिदिन यहाँको जनसंख्या बढ्दो छ। शहरीकरण बढ्दो छ। सडक-बाटो निर्माणको क्रममा छ। कतिपय अवस्थामा ढल निकासको समस्या छ। हामीलाई फोहोर व्यवस्थापनको समस्या छ। नगरमा थुप्रै यस्ता समस्या समाधानका लागि हामीले सोचेभन्दा पनि बढी बजेट चाहिने अवस्था छ।

वीरेन्द्रनगर यो प्रदेशकै राजधानीको नगरपालिकाको रूपमा रहेकाले अहिले छुट्याइएको बजेट विकासका काममा अपुग देखिन्छ। यहाँका विद्यालयहरू जन उच्चमाध्यमिक विद्यालय, अमरज्योति मावि, श्रीकृष्ण संस्कृत माविमा विद्यार्थीको चाप बढ्दो छ। सामुदायिक विद्यालयमा विद्यार्थीको चाप बढ्दो भएकाले विद्यार्थीले भर्ना नपाउने अवस्था रहेको छ। यी विद्यालयहरूमा अब नगरपालिकाभित्रका विद्यार्थी मात्र नभएर प्रदेशकै विद्यार्थीहरू पढ्न आउने भएकाले प्रदेश सरकार र संघीय सरकारको यसमा ध्यान जान जरुरी छ। साथै स्वास्थ्य सेवामा पनि ध्यान दिनुपर्नेछ। यस्ता धेरै समस्या छन्, जुन हाल नगरपालिकासँग भएको बजेटले सम्भव छैन। यस विषयमा हामीले प्रदेश सरकारसँग पनि कुरा गरेका छौँ।

काम गर्दा नीतिगत वा कानुनी अप्ठ्याराहरू कतिको महसुस गर्नुभएको छ ?

स्वाभाविकै हो, लामो समयसम्म स्थानीय नीति नियम नहुँदा अन्योलमा रह्यो। अहिले पुरानो व्यवस्थाको अन्त्य भएर नयाँ संरचनामा गएको छ। नयाँ संरचनामा जाँदा अब नगरपालिका आफैँमा एउटा स्थानीय सरकार भएकाले स्थानीय सरकारले संचालन गरेका योजना, नियम, कानुन र अधिकार पनि सीमित खालकै हुने भए।

सुरुमा स्थानीय तहमा ऐन नहुँदा काम गर्न निकै गाह्रो पनि भयो। अहिले आवश्यक नभई नहुने कानुनहरू बनाएर पास गरेका छौँ। त्यसलाई पनि कार्यान्वयनका लागि केही समय लाग्छ नै। हामीकहाँ कतिपय तिनै तहका सरकारका साझा समस्याहरू पनि छन्। ती समस्या समाधानका लागि स्थानीय सरकारसँग स्रोत साधनको अभाव छ। जनशक्तिको पनि अभाव छ। सार्वजनिक रूपमा साझा सूचीमा रहेका विषयहरू वन, शिक्षा, स्वास्थ्य जस्ता क्षेत्र तिनै तहका सरकारका साझा सूचीमा परेकाले काम गर्न अलि असहज देखिएको छ। 

तपाईंको पाँच वर्षे कार्यकालमा नगरपालिकालाई कस्तो बनाउने सोच्नुभएको छ? नगरबासीले के आशा गर्ने तपाईंबाट?

प्रदेशको राजधानीकै नगरपालिका भएकाले दिन प्रतिदिन यहाँ बसोबासको चाप बढ्दै गइरहेको छ। शहरीकरण बढ्दै गइरहेको छ। हामीले यसलाई एउटा व्यवस्थित शहरको रूपमा विकास गर्नुपर्ने जिम्मेवारी छ। नगरपालिकालाई हाम्रो कार्य अवधिभित्र पूर्ण महिला हिंसामुक्त र बाल विवाहमुक्त नगरपालिकाको रूपमा घोषणा गर्छौं। त्यसैअनुसार काम पनि गरिरहेका छौँ। महिला हिंसा र बालविवाहका समस्याका बारेमा हामी कसैसँग सम्झौता गर्दैनौँ। कसैलाई माफी दिइनेछैन।

सुशासनयुक्त र व्यविस्थत शहर निर्माणको गुरुयोजना पनि हामीले निर्माण गरेका छौँ। नगरका समस्या समाधानका लागि अबको चार वर्षमा कृषि, महिला, संस्थागत सुशासन, भौतिक पूर्वाधार र सामाजिक विकासमा के काम गर्न सकिन्छ भनेर आवधिक योजना पनि निर्माण गरेका छौँ। ती योजनालाई छिट्टै हामी कार्यान्वयनमा अगाडि बढाउँछौँ।

नगरका पर्यटकीय क्षेत्रहरूमध्ये काँक्रेविहारलाई मिनी चिडियाखानाको रूपमा प्रयोग गरिनेछ। हामीसँग १४ नम्बरको गढी छ। वडा नम्बर- १२ को जरबुटा छ। त्यसलाई भ्यू टावरको रूपमा विकसित गर्छौं। बुलबुले ताल हेर्न पर्यटक भित्र्याउने योजना छ। हामीसँग रहेका धार्मिक क्षेत्रहरूलाई विकास गरी धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने योजना छ। सडक, बाटो र भौतिक पूर्वाधार विकासमा पनि हामी जोड दिन्छौँ। विशेष गरेर शिक्षा, स्वास्थ्यमा पनि त्यतिकै मात्रमा जोड दिएर अगाडि बढ्नुपर्ने देखिन्छ। प्रत्येक नगरका वडाहरूमा शहरी स्वास्थ्यचौकी निर्माणको क्रमलाई अगाडि बढाइरहेका छौँ। त्यसैगरी उत्पादनमूलक काममा युवावर्ग र महिला दिदी-बहिनीलाई कसरी लगाउने भन्ने कुरामा पनि हाम्रो प्राथमिकता छ।

हामीले नगरका वडा नम्बर १३, १४, १५ र १६ लाई पशुपालन र फलफूल तथा पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने भनेर पनि नीति पास गरेका छौँ। यातायात, खानेपानी, भौतिक पूर्वाधार विकास, सडकको स्तरोन्नति गरिनुपर्ने योजनालाई व्यविस्थत बनाउनेमा लाग्नुपर्ने अवस्था छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.