केजीको ४० लाखसम्ममा बिक्री

|

  •  सुवास चन्द्र मल्ल-

मुगु : जिल्लाका विभिन्न वनहरुमा पाइने बहुमूल्य जडीबुटी यार्सागुम्बा संकलनका लागि यो वर्ष जेठ ५ गतेबाट प्रवेश खुला गरिने भएको छ। मुगुमा कार्मारोङ गाउँपालिकाको गाउँ कार्यपालिकाको बैठकले यो वर्ष जेठ ५ गतेबाट यार्सा संकलन गर्नका लागि संकलकहरुलाई वन प्रवेश खुला गर्ने निर्णय गरेको छ।

मुगमकामारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्‍ने लामाका अनुसार यार्सागुम्बा संकलनका लागि मुगु जिल्लाका बासिन्दालाई प्रतिव्यक्ति १५ सय र जिल्लाबाहिरका संकलकहरुलाई प्रतिव्यक्ति दुई हजार प्रवेश शुल्क तोकिएको छ भने यसरी संकलन भएको शुल्क गाउँपालिका, व्यवस्थापन र यार्सा पाइने वडालाई भाग गरिने पनि अध्यक्ष क्याप्नेले बताए।

एक करोड राजस्व उठाउने लक्ष्य

प्रवेश शुल्कबापत संकलित शुल्कबाट गाउँपालिकाले ३० प्रतिशत, व्यवस्थापन खर्च ३० प्रतिशत र सम्बन्धित वडा नं २ लाई ४० प्रतिशत रकम दिने गरी विभाजन गरिने भएको छ। यो वर्ष यार्साबाट यो वर्ष एक करोड राजस्व उठाउर्ने लक्ष्य रहेको छ भर्ने यार्सा टिप्ने पाटनमा जाने स्थानिय तथा बाहिरीय जिल्लाबाट आउनेहरुका लागि सुरक्षाका लागि सशस्त्र प्रहरी ४२ जना र नेपाल प्रहरी ३५ जनाको व्यवस्था गरी सकेको मुगम कामारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले बताएका छन्।

मुगु जिल्लाका उच्च हिमाली पाटनहरुमा पाइने यार्सागुम्बा संकलनकाका लागि कर्णाली प्रदेशका १० जिल्लालगायत बाजुरा, जाजरकोट, अछाम, बाँके, बर्दिया, कैलाली, कापे्रपलाञ्चोक, सिन्धुपाल्चोक, तनहुँ, कास्की, मनाङ, मुस्ताङबाट हजारौँ संकलक र खरिदकर्ताहरु मुगु जिल्लामा आउने गर्दछन्।

यार्साको सिजनसँगै चहलपहल बढ्यो

यार्सा सिजन सुरु भएसँगै पाटन जाने मानिसहरुको हिजोआज निकै चहलपहल बढ्न थालेको छ। दैनिक चार÷पाँच सयजना यार्सा संकलकहरु मुगुको यार्सा पाइने क्षेत्रतिर जाँदै छन्।

यार्सा टिप्न मुगुको शिरानिचौ भन्ने ठाउँमा पुगेका जुम्ला जिल्ला कानका सुन्दरी ३ ओखरपाटा गैरी बस्ने रुपबहादुर बुढाले भने, ‘गत वर्ष पनि यार्सा टिप्न आएको थिएँ, अहिले पनि आएको छु चार/पाँच दिन भइसकेको छ वन क्षेत्रमा कहिले जान दिने हुन्। यार्सा टिप्न एकदम जोखिम हुन्छ ज्यानको बाजी राखेर काम गर्नुपर्छ।’

पाटनमा चाहिने झोल खानेकुरा, न्याना कपडा, पाल, म्याटेस,औषधिहरु यो बेला बढी मात्रामा विक्री हुने भएकाले व्यापारीहरुले यी सामान अधिक मात्रामा स्टक राखेका छन्।

केजीको ४० लाखसम्ममा बिक्री

संकलकहरु आफूले संकलन गरेका यार्सामध्ये गुणस्तरका आधारमा एक नम्बरकोलाई प्रतिबुटीको एक हजार दुई नम्बरको प्रतिबुटीको पाँच सय र तीन नम्बरको प्रतिबुटीको दुई सयका दरले खरिदकर्तालाई बिक्री गर्ने गर्दछन्।

एक केजी यार्सा पुग्न एक नं बुटी २७ सय वटा, दुई नं बुटी ३५ सयवटा र ३ नं बुटी चार हजारवटा चाहिन्छ। व्यापारीहरुका अनुसार यसरी संकलन गरिएको यार्सा तिब्बती बजार तथा काठमाडौं, पोखरा र डिल्लीमा प्रतिकेजी १ नं को ४० लाख २ नं को ३० लाख र ३ नं को २० लाख मूल्यमा बिक्री हुने गर्दछ।

जेठ महिनादेखि असार पहिलो सातासम्म यार्सा संकलन गरिने भएकाले वर्षभरिको खर्च जुटाउन गाउँ–गाउँ खाली गरेर युवा, बालबालिकासहित पाटन जाने गर्दछन् भने यो वेला छायाँनाथ रारा नगरपालिका र मुगु कार्मारोङ गाउँपालिकामा रहेका विद्यालयमा विद्यार्थीको न्यून उपस्थिति हुने गर्दछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.