काठमाडौं : बजेट कार्यान्वयनमा समस्या देखिएको भन्दै व्यापक नीतिगत सुधार गरेको सरकार चालू आर्थिक वर्ष ०७४ ७५ मा पनि खर्च बढाउन भने असफल हुने देखिएको छ। आर्थिक वर्ष सकिन दुई महिना मात्र बाँकी हुँदा ५९ प्रतिशत मात्र बजेट खर्च भएको छ। महालेखा नियन्त्रकको कार्यालयका अनुसार यस अवधिमा चालू खर्च ७० प्रतिशत भइसकेको छ भने पुँजीगत खर्च भने ४० प्रतिशत मात्र भएको छ।
वित्तीय व्यवस्थातर्फको बजेट खर्च ३८ प्रतिशत छ। सरकारले यस वर्ष १२ खर्ब ७८ अर्ब ९९ करोड रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ। १० महिनामा सात खर्ब ५६ अर्ब ३६ करोड बजेट खर्च गरेको सरकारले अब दुई महिना बाँकी रहेको अवस्थामा पाँच खर्ब २२ अर्ब ६३ करोड रुपैयाँ बजेट खर्च गर्नुपर्ने हुन्छ। जुन व्यावहारिक रूपमा सम्भव छैन। यस हिसाबले हालसम्म सरकारले दैनिक एक अर्ब ५० करोड बजेट खर्च गरेको छ। अबका दुई महिनामा दैनिक आठ खर्ब ५७ अर्ब खर्च गर्नुपर्नेछ।
अघिल्लो आवमा कुल ७८.५१ प्रतिशत बजेट खर्च भएको थियो । त्यसमध्ये पुँजीगत खर्च ६५.५२ प्रतिशत मात्र थियो। चालू खर्च ८३.६५ प्रतिशत थियो भने वित्तीय व्यवस्थातर्फको खर्च ८५.८३ प्रतिशत थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।