|

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग मंगलबार छलफल गर्दै छन्।  

दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हुने छलफलमा मधेशी मोर्चाको असन्तुष्टिका बारेमा कुराकानी हुने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। प्रधानमन्त्री निर्वाचन अघि भएको तीन बुँदे सहमति कार्यान्वयन नभएको भन्दै मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिनेसम्मको चेतावनी दिइरहेको छ। 

मंगलबारको बैठकमा संविधान संशोधनका लागि भएको प्रगति, जेलमा रहेका कार्यकर्ताको मुद्दा फिर्ता, थप १६ जना सहिद घोषणामा भएको ढिलाईबारे प्रधानमन्त्रीसँग जवाफ मागिने सद्भावना पार्टीका महासचिव मनिषकुमार सुमनले जानकारी दिए। 

स्थानीय तहको पुनर्संरचना व्यवहारिक नभएको भन्दै सुमनले प्रदेशको सीमांकन नटुङ्गिकन स्थानीय तहका विषयमा सहमति गर्नुको औचित्य पुष्टि गर्न प्रधानमन्त्रीलाई आग्रह गरिने पनि बताए। संविधान संसोधन नगरी स्थानीय तहको चुनाव गरेर देखाउन पनि मोर्चाले प्रधानमन्त्रीलाई चुनौती दिने तयारी गरेको छ। 

यसैबीच, मन्त्रीपरिषदको बैठक मंगलबार बेलुका ५ बजे बस्दैछ। प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने बैठकमा नियमित मन्त्रालयगत एजेण्डामा छलफल हुने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.