|
फाइल फोटो : गोदाम प्याकिङ गरेर राखिएको चिया

इलाम :  पटक–पटक नेपाली अलैंची र अदुवा निकासीमा अवरोध गरिरहेको भारतीय पक्षले दुई सातादेखी चिया निर्यातमा समेत अवरोध गरेको छ। 

गत मे २ देखि भारतीय भन्सार कार्यालयले चिया बोकेका प्रत्येक गाडीबाट चियाको नमुना परीक्षण गरेर मात्र निर्यात गर्न अनुमति दिएसँगै काकडभिट्टा नाका हुँदै भारत निर्यात हुन लागेका झन्डै एक दर्जन गाडीहरू पानीट्याङकीस्थित भारतीय भन्सार कार्यालयमा रोकेर राखिएको छन्।

भारतीय भन्सार कार्यालयले चिया निकासी गर्दा कहिले भारतीय बैंकको ग्यारेन्टी त कहिले भारतीय कम्पनीकै बिमासमेत खोज्न थालेपछि नेपाली व्यवसायी समस्यामा परेका छन्। पानीट्यांकी नाकाबाट तेस्रो मुलुक निर्यात गर्ने चियामा भारतीय भन्सारका कर्मचारीले आवश्यकताभन्दा बढी सोधीखोजी गर्ने गरेको व्यवसायी प्रदिप अग्रबालले बताए। 

व्यवसायीहरू पानीट्यांकी नाकाबाट चिया निर्यात गर्न नसकेपछि रुट परिवर्तन गरेर जोगवानी नाकासम्म पुर्‍याउन बाध्य भएका छन्। अग्रवालका अनुसार पानीट्यांकीबाहेक अन्य भारतीय नाकामा त्यस्तो झन्झट छैन। जोगवनीलगायत अन्य नाकामा भने कागजात पुगेपछि सहज रूपमै तेस्रो मुलुकसम्म चिया पुर्‍याउन सकिन्छ। ‘चिया बोकेको ट्रक वर्षाका बेला खुला ठाउँमा राख्दा चियाको गुणस्तर बिग्रिन्छ’, उनले भने, ‘निर्यात रोकिँदा ठूलो नोक्सान हुन सक्छ। दैनिक रुपमा यातायातलाई २५०० रुपैयाँ तिर्नुपर्छ जस कारण खर्च भारसमेत तीन गुणाले बढेको छ।’ 

किन रोक्यो भारतले नेपाली चिया?

विश्व बजारमा प्रख्यात दार्जिलिङ चिया बगान पानीट्यांकी नाकाबाट नजिकै पर्छ। दार्जिलिङको चिया पनि त्यही बाटो भएर तेस्रो मुलुकसम्म जाने भएकाले नेपाली चियालाई विभिन्न बहानामा अवरोध गर्ने गरेको अग्रवाल बताउँछन्। उनी भन्छन्, ‘दार्जिलिङको चियाको तुलनामा नेपाली चिया गुणस्तरीय भएकाले आफनो चियाको बजार खस्कने संभावना देखेपछि भारतले नेपाली चियामा अवरोध गरेको हो।’ 

दार्जिलिङको चियाको तुलनामा नेपालको चियाको बोट नयाँ भएकाले गुणस्तरीय उत्पादन हुने उद्योगीहरू बताउँछन्। चियाविज्ञ चन्द्रभुषण सुव्वा भन्छन्, ‘योङ बुसको चियाको स्वाद र गुणस्तर पुरानोभन्दा निकै राम्रो मानिन्छ।’

नेपालको चियाको आफ्नै ट्रेडमार्क नहुँदा भारत निकासी भई ‘दार्जिलिङ टी’ कै नामबाट निर्यात हुने गरेको थियो। तर, नेपाल सरकारले हिमालय टि प्रोडयुसर्ससंगको समन्वयमा ‘नेपाल टी क्वालिटी फ्रम दि हिमालय’ नामको चियाको ट्रेडमार्क तयार गरेर प्रयोगसम्बन्धी निर्देशिका जारी गरे पनि कार्यान्वयनमा भने आउन सकेको छैन। 

‘कुनै अवरोध नहुने र ट्रेडमार्क कार्यान्वयन हुने हो भने नेपाली चिया बेच्न अन्यत्र धाउनुपर्दैन,’ उद्योगीसमेत रहेका चियाविज्ञ सुब्बा भन्छन्, ‘नेपाली चियाको उत्पादन, निर्यातमा सहजता र बजार प्रवद्र्धनमा सरकारले सघाउने हो भने हाम्रो चिया किन्न विश्वका व्यापारी यहीँ आउने छन्।’

चियाको मुख्य सिजनमा अवरोध

चियाको सबैभन्दा राम्रो उत्पादनको सिजन ‘फस्ट फल्स’ सकिन लाग्दा समेत चिया बजारमा पुग्न सकेका छैन। गुणस्तरीय चिया उत्पादन हुने समयमा तयारी चिया खरिदकर्तासम्म पुग्न नसक्दा उद्यमीहरूले अपेक्षिकृत मूल्य पाउन समस्या परेको देखिन्छ। ‘सेकेन्ड फल्स’ उत्पादन सुरु हुने समयसम्म फस्ट फल्स बजारमा नपुग्दा मूल्यमा गिरावट आउने सम्भावना देखिएको उद्यमीहरूको गुनासो छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.