|

काठमाडौं : हाल पोस्ट प्रोडक्सनको काम भइरहेको फिल्म 'दि कर्मा'मा नायिकाद्वय नीता ढुंगाना र प्रमिता राज्यलक्ष्मी राणा तथा कलाकार बुद्धि तामाङको पनि अभिनय रहने खुलेको छ। फिल्मको छायांकन सकिएपछि मात्र निर्माण युनिटले फिल्ममा यी कलाकार पनि रहेको खुलाएको हो।

फिल्ममा यी कलाकारको भूमिका भने फिल्मको गीत र ट्रेलर रिलिजपश्चात मात्र खुलासा गर्ने फिल्मका निर्माता जयराज रायले बताए। फिल्म घोषणा हुँदा मुख्य नायिकाको छनोट बाँकी नै थियो। यसै फिल्ममा भारतका मोडल तथा कलाकार करण वर्माको पनि प्रमुख भूमिका रहेको छ।

नेपाल र भारतको सीमा क्षेत्रमा हुने घटनामा आधारित रहेर निर्माण भएको यस फिल्मलाई देवकुमार श्रेष्ठले निर्देशन गरेका छन्। 'जय मिडिया म्यानेजमेन्ट प्रालि'को ब्यानरमा बनेको ‘दि कर्मा’को छायांकन नेपालको तराई क्षेत्र र भारतको सिक्किममा भएको छ। जयराज रायको कथामा रहेको यस फिल्मलाई रामेश्वर कार्कीले छायांकन गरेका छन्।

जयराज राय र निशा खतिवडा निर्माता रहेको यो फिल्म नेपाली र हिन्दी भाषामा बनेको छ। भारतमा पनि यस फिल्मको प्रदर्शनी गरिने निर्माता रायले बताए। नेपालमा यो चलचित्र आगामी भदौ महिनामा रिलिज गरिने बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.