|

साैराहा :  हात्तीसारका माहुते विनोद चौधरीले सिटी बजाए। लक्ष्मण थुचुक्क बस्यो। अर्काे सिटीमा सुत्यो, अर्काे सिटीमा कोल्टे पर्यो। चौथो सिटीमा पेट उचालेर घुँडा टेकेर बस्यो। यसरी बस्दा हौदा कस्न सजिलो हुन्छ।

'ओई! लक्ष्मण यता आइज', पर भएको लक्ष्मण खुरुखुरु आयो। अगाडि टक्क अडियो। 'पछाडि जा',  पछाडl फर्कियो। 'जा.. माला लगाइदे' भन्दा माला टपक्क टिपेर मान्छेको गलामा पहिर्‍याइदिन पुग्छ। टाउकोमा सुँढ राखेर आशीर्वाद दिन्छ। 

हात्तीले माला पहिर्‍याएको नौलो मानेका भरतपुरका दिदीभाइ आरती र विजय सापकोटा त्यो देखेर औधी रमाए। उनीहरुले पनि हात्तीबाट माला पहिरिएर आशीर्वाद लिए। ‘नौलो अनि रमाइलो लाग्यो’ आरतीले भनिन्।
   
चितवनको सौराहा स्थित राष्ट्रिय निकुञ्जको हात्तीसारमा रहेको १० वर्षको लक्ष्मणगज हात्ती अहिले आफैं माला लगाइदिन्छ। मानिसलाई आशीर्वाद दिन्छ । टाउको निहुर्‍याएर ढोग्छ। 

अनि पछाडि र अगाडिको खुट्टा उठाएर दुई खुट्टामा उभिन्छ। बडेमानको ज्यान अड्याएर सानो काठको बेञ्चमा उभिन सक्छ। कुनै एउटा वस्तुको गन्ध सुँघाएर त्यसलाई थाहा नपाउने गरी अन्तै राखिदियो भने गन्ध सुँघ्दै खोजेर ल्याउँछ पनि। यसरी नमुना कला प्रदर्शन गर्दै आएको छ लक्ष्मण।

‘चार खुट्टा भएको जनावर दुई खट्टामा बस्न सक्छ की सक्दैन भनेर हेरियो। त्यो पनि सक्यो।’ माहुते चौधरीले भने। दायाँबायाँ जा भन्दा जाने, बस भन्दा बस्ने। उभिई भन्दा उभिने गर्छ। ‘यसले नेपाली भाषा चाहिं प्रष्ट बुझ्छ, चौधरीले थपे, यहाँको थारु भाषा पनि बुझ्छ।’ 

उनका अनुसार यसरी नेपाली भाषा बुझ्ने हात्ती नेपाल मै पहिलो हो। सामान्यतः नेपालमा पालिएका अन्य हात्ती यस्तो गर्दैनन्। यसरी अतिरिक्त कला देखाउने हात्ती पनि नेपालमा पहिलो हो। ‘फरक कला देखाएको छ लक्ष्मणले’ निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठक भन्छन्।

अघिल्लो वर्ष थाईल्याण्डको सर्कसमा पुग्दा हात्तीले कला देखाएको थियो। डोरीमा टेकेर हात्ती हिंडेको दृष्य रोमाञ्चक थियो। क्याटवाक पनि राम्रै गरेको थियो। तर त्यती धेरै कला नजाने पनि सौराहाको लक्ष्मणले देखाएको कला आफैंमा नेपालका लागि नौलो छ। सिकाए हात्तीले गर्न सक्छ भन्ने उदाहरण लक्ष्मण हो भन्छन् हात्तीका एक माहुते कमल परियार।

अरु हात्तीले गर्ने सबै क्रियाकलाप लक्ष्मणले गर्छ। त्यसबाहेक अतिरिक्त प्रतिभा पनि छ लक्ष्मणसँग। सितिमिती हात्ती सिमेन्टको सानो डिलमा हिँड्दैन। जान डराउँछ। तर यो हात्ती त्यस्ता डिलमा सजिलै हिँड्छ। निकुञ्जको काठे पुलको छेउमा हिंड्न सबै डराउँछ। त्यसैले यसलाई डिलमा हिड्न सिकाइएको हो। अगाडि पछाडि पनि हिँड्न सक्छ। ऊसँग कुर्सीमा चारवटै खुट्टा राखेर चढ्न र अडिनसक्ने क्षमता छ। 

देवीकलीले २०६५ साल  कात्तिक १ गते राम र लक्ष्मण जुम्ल्याहा पाएकी थिई। आमासँगै रामचाहिँ निकुञ्जको मुख्य कार्यालय कसरामा छ। लक्ष्मण भने सौराहाको हात्तीसारमा छ। एकपटक ठूलो बिरामी परेको थियो लक्ष्मण। मर्‍यो भनेर अाश मारेको यो बाँचेकाले आरामका लागि सौराहा ल्याइएको थियो। 

अहिले सौराहामा कला देखाउन थालेपछि हेर्ने पर्यटकको घुइँचो लाग्छ। पर्यटकहरु ऊसँग सेल्फी लिन्छन्। तस्विर लिनेदेखि प्रदर्शन गरेको कलाको भिडियो खिचेर रमाउँछन्। ‘भाले हात्ती हो, पछिसम्म यस्तै गरिरहन्छ या गर्दैन भन्न सकिन्न, हेरौँ 'टिनएज' लागेपछि के गर्छ?’ विनोदले शंका व्यक्त गरे। प्राय: भाले हात्ती जतिसुकै ज्ञानी भएपनि मात चढ्दा उग्र भइहाल्छन् भन्ने अनुभव छ उनको।

हात्तीलाई सिकाउन अगाडि पहिले माहुते आफैँले सिक्नुपर्छ। आज एउटा सिकाउने अनि भोलि अर्काे गर्न लगाउँदा जान्दैन। आज सिकाएको शैलीमा भोलि गर्न लगाउँदा सजिलै गर्छ।

पहिले पिटाई दिएर हात्तीलाई सिकाईन्थ्यो। विदेशी वन्यजन्तु विज्ञ आएर पिटाइभन्दा मिठाइले धेरै कुरा सिक्छ भनेर चितवन निकुञ्जमा जन्मिएका धेरै हात्तीलाई सिकाइयो।  मिठाइबाट सिकाएको हात्तीले सजिलै सिक्यो पनि। त्यही देखेर विनोद चौधरीले हात्तीले केसम्म गर्न सक्छ भनेर जाँच्नका लागि सिकाउन थालेका थिए। भनेको मान्दा केरा लगायत विभिन्न खानेकुरा दिइन्छ। त्यसरी सिकाउँदा नभन्दै धेरै कुरा गर्नसक्ने भएको छ लक्ष्मण।

हात्तीले विनोदको सिटीको स्वर समेत चिन्छ। सिटीकै इसारामा काम गर्छ। नेपाली भाषामा भनेका कुरा पनि मान्छ। अनि थारु भाषामा भनेका कुरा पनि गर्छ। नेपालमा यतिको कला भएको हात्ती छैन। ‘आफू 'कन्फ्युज' भयो भने हात्ती नै 'कन्फ्युज' हुन्छ, आफू पोख्त हुनुपर्छ।  हात्ती पनि पोख्त हुन्छ', विनोदले अनुभव सुनाए।

निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्याल भन्छन्,‘कर्मचारीहरुले आन्तरिक रूपमा केसम्म गर्दाे रहेछ भनेर सिकाएका रहेछन्, माला लगाउने, आशीर्वाद दिने गरिरहेको छ।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.