|
फोटो : आर्यन बिमली

काठमाडौं : फिल्मको क्याप्टेन अर्थात् निर्देशक बन्न सजिलो छैन तर सात वर्षकै उमेरमा सौगात विष्टले त्यो क्याप्टेनसीप लिए। उनले सात वर्षको उमेरमा 'लभ यु बाबा' निर्देशन गरेर विश्वको कान्छो निर्देशकको रूपमा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाए।

परिवार नै फिल्मी भएकाले पनि सौगात सानै उमेरदेखि फिल्मसँग नजिक थिए। केही फिल्ममा बालकलाकारसमेत बनेर काम गरिसकेका थिए उनले। फिल्ममा उनको चासो पनि उत्तिकै थियो। उनी सम्झिन्छन्, ‘म फिल्मको सुटिङमा जाँदा पनि फिल्मसँग सम्बन्धित हरेक कुराहरूलाई ध्यान दिन्थेँ। स्पोट म्यानदेखि क्यामेराम्यान, निर्देशकसम्म मेरो नजरमा पर्थे।‘

सौगातको फिल्ममा चासो बढ्दै गयो। उनले फिल्म निर्देशनको आँट गरे। आफ्ना बुबा गजित विष्टलाई आफ्नो इच्छा व्यक्त गरे। बुबाले पनि उनको कुरालाई सहमति जनाउँदै उनलाई सहयोग गर्ने प्रतिबद्धता जनाए। 

कथा पहिल्यै तयार थियो। त्यही कथामा फिल्म बनाउने कुरा भयो। सौगात भन्छन्, ‘हामीसँग एउटा कथा पहिल्यै थियो। त्यही कथामा फिल्म बनाउने निधो गरियो।‘ सौगातको निर्देशनमा ‘लभ यु बाबा’ तयार भयो।

गिनिज बुकमा रेकर्ड

सैगात मल्ल विश्वकै कान्छो निर्देशक हुन्। उनी आफू विश्वको कान्छो निर्देशक भएर नेपाललाई चिनाएको बताउँछन्। भन्छन्, 'म विश्वको कान्छो निर्देशक बनेर नेपाललाई चिनाएको छु जस्तो लाग्छ। फिल्म क्षेत्रको पनि विश्व रेकर्डमा नेपाली फिल्म क्षेत्रको नाम छ।'

दोस्रो फिल्म 'हैरान'

सौगातको निर्देशनमा दोस्रो फिल्म 'हैरान' तयार भएको छ। यही शुक्रबारबाट 'हैरान' प्रदर्शनमा पनि आइसकेको छ। हैरानमा आफूले धेरै मिहिनेत गरेको सैगात बताउँछन्। भन्छन्, 'यस फिल्ममा मैले धेरै मिहिनेत गरेको छु। लभ यु बाबाबाट सिक्न पाएका धेरै कुराहरू यस फिल्ममा प्रयोग गर्न पाएको छु।'

'हैरान'मा दर्शकले खोजेको सम्पूर्ण खुराक भएको सौगात दाबी गर्छन्। 'हैरानमा कमेडी, एक्सन, थ्रिल, सस्पेन्स सबै छ', उनी भन्छन्, 'यस फिल्ममा परिवारिक कथा छ, जनता र नेताको कुरा छ, अल्लारे केटाको कुरा छ। त्यसैले दर्शकले खोजेका सम्पूर्ण खुराक मेरो फिल्ममा छ।'

यति सानो उमेरमा यत्तिका कुरा कसरी याद गर्न सकिन्छ? उनी भन्छन्, 'मसँग फिल्म निर्देशनको खुबी छ। आफूले निर्देशन गर्ने फिल्मको कन्टेन्ट याद नहुने पनि हुन्छ र!'

कलाकार कन्भिन्स गर्न गाह्रो

फिल्म 'हैरान' निर्देशन गर्ने तय भएपछि कलाकारको छनोटमा लागे उनी। तर कलाकारहरूले उनको कामलाई विश्वास गरेका थिएनन्। उनी सम्झिन्छन्, 'धेरै कलाकारले मैले निर्देशन गर्ने भन्दा खस्किनुभएको थियो तर वर्कसपमा बसेपछि सबै जना मेरो काम देखेर प्रभावित हुनुभएको थियो।'

सौगातले सरोज खनाललाई पनि यस फिल्ममा एक्सन कट भनेका छन्। 'उहाँले पनि सुरुमा मैले निर्देशन गर्ने भन्दा फिल्म गर्न तयार हुनुभएको थिएन', उनी भन्छन्, 'पछि मेरो बुबाले उहाँलाई वर्कसपमा बस्न अनुरोध गर्नुभएपछि उहाँ आउनुभएको थियो। पछि त उहाँ मेरो कामबाट प्रभावित हुनुभयो।'

चुनौती पनि उत्तिकै

सौगातको पहिलो फिल्म 'लभ यु बाबा' व्यापारिक रूपमा असफल भइदियो। उनी फिल्मको प्रचार प्रसfर कमजोर भएका कारण फिल्मको व्यापारमा असर परेको बताउँछन्। भन्छन्, 'हामीले त्यस फिल्मको प्रचारमा खासै समय दिन सकेनौँ, त्यसैले पनि फिल्मको व्यापार कमजोर बन्यो।' 

सौगातलाई यस फिल्ममा चुनौती छ। कारण, पहिलो फिल्मबाट असफलता व्यहोरेका सौगातलाई दोस्रो फिल्मबाट सफल हुनु छ। सौगात पनि यस फिल्मबाट आशावादी छन्। भन्छन्, 'यो फिल्मको प्रचार प्रसारमा पनि केही कमी गरेको छैन। त्यसैले फिल्मले सफलता दिनेमा आशावादी छु।' 

पढाइ पनि त छ

उनी हाल कक्षा ६ मा पढ्दै छन्। अहिले उनको स्कुलमा पढाइ चलिरहेको छ तर उनले स्कुल जान पाइरहेका छैनन्। फिल्मको प्रचारलाई समय दिनुपर्ने भएकाले उनी स्कुल जान नपाएको बताउँछन्। भन्छन्, 'स्कुलमा बैशाख र जेठमा त्यति पढाइ हुँदैन। चिनजान गर्ने र अलिअलि पढ्ने मात्र हुन्छ। त्यसैले यता फिल्मको प्रोमोसनलाई ध्यान दिएको छु।'

पढाइमा पनि उनी राम्रो विद्यार्थीमा पर्छन्। स्कुलमा सधैँ पहिलो/दोस्रो हुने गर्छन्। उनी भन्छन्, 'पढाइ राम्रै छ। म सधैँ फस्ट वा सेकेन्ड हुने गर्छु।'

फिल्म कि पढाइ?

सौगात अबको चार वर्षसम्म पढाइमा केन्द्रित हुने बताउँछन्। भन्छन्, 'अबको चार वर्षचाहिँ म पढाइमा फोकस हुन्छु। एसइई सकेपछि मात्र अर्को प्रोजेक्ट गर्नेछु।'

तर यदि यहीबीचमा राम्रो व्यानरको फिल्म अफर आएमा त्यस फिल्ममा काम गर्ने सौगातको योजना छ। 'यदि राम्रो व्यानरबाट फिल्म अफर आउँछ भने त्यो फिल्ममा काम गर्नेछु', उनी भन्छन्।

उनी आफू एसइई सकेर पनि फिल्मकै अध्ययन गर्ने बताउँछन्। भन्छन्, 'मैले जीवनमा गर्ने काम भनेको नै फिल्म क्षेत्रमा हो। त्यसैले पढ्न पनि फिल्मसम्बन्धी नै पढ्नेछु।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.