|

काठमाडौं : इन्डोनेसियामा अगस्टमा हुन गइरहेको एसियन गेम्समा समावेश प्यारालाग्लाइडिङ प्रतियोगिताका लागि १४ नेपाली खेलाडी (पाइलट) छनोट भएका छन्। तिनै टोलीमध्येका एक हुन्, सुशील गुरुङ। सन् २०१० देखि व्यावसायिक उडान भर्न सुरु गरेका उनी यस प्रतियोगिताको तयारीमा व्यस्त छन्। यसअघि पनि प्रतियोगिताका लागि चीन, भारत, इन्डोनेसियामा भाग लिएका उनी प्याराग्लाइडिङमा एक अनुभवी पाइलट हुन्। 

बुधबार अन्तर्राष्ट्रिय विमानस्थलमा भेटिएका उनीसहित १० जना दुई साताका लागि चीन प्रस्थान गरे- प्रि वर्ल्ड कपका लागि। उनी भन्छन्, 'योभन्दा पहिले पनि उत्कृष्ट १० मा परिएकै हो। अहिलेचाहिँ पुरस्कार जित्ने अठोटका साथ भाग लिन जाँदै छौँ।'

भूकम्पका कारण केही समय पर्यटन क्षेत्र धरासायी बनेको समग्र पोखराले केही समयबाट पुन: गति लिन थालेको छ। नेपालको पर्यटन विकासमा प्याराग्लाइडिङ क्षेत्रको एउटा छुट्टै स्थान छ। पोखरामा मात्र प्याराग्लाइडिङ कम्पनिहरू ६० को हाराहारीमा छन्। मौसम बिग्रिएन भने उनले दैनिक दुई पटक उडान भर्छन्। यस क्षेत्रमा आफ्नो भविष्य खोज्ने युवाहरू पहिले धेरै थिएनन् तर अहिले भने संख्या बढ्दो छ।

हेर्दा जति रमाइलो र आकर्षक छ यो पेसा, उति नै जोखिमपूर्ण पनि रहेको बताउँछन् उनी। अहिलेका पिँढीले दुई साताको कोर्स लिएर करिब १२ देखि १८ महिना अभ्यास गरेर व्यावसायिक उडान भर्ने गरेका छन्। उनी भन्छन्, 'सिक्न, बुझ्न र आत्मविश्वास बढाउन यो समय एकदमै कम हो।' विदेशी पाइलटले पनि सराङकोटबाट व्यावसायिक उडान भर्ने गरेका छन्। उनी भन्छन्, 'उनीहरू पूर्ण रूपमा सक्षम छन्। उनीहरूसँग उडान भर्दा धेरै कुरा सिक्न र जान्न पाइन्छ।' तर नेपाली युवाहरू पनि कम नभए पनि उनीहरूको जस्तो सीप, ज्ञान प्राप्त गर्न सके स्वदेशीले अवसर पाउने प्रबल सम्भावना रहेको गुरुङ बताउँछन्।

पहिले एउटा उडानका लागि १२ हजार रुपैयाँसम्म लाग्ने गर्थ्यो भने पाइलटले छ हजार रुपैयाँसम्म कमाउँथे। तर समयसँगै यस क्षेत्रमा धेरै संख्यामा पाइलट रहेकाले हाल चार हजार ५०० देखि सात हजार रुपैयाँ लाग्ने गरेको छ। पाइलटको कमाइमा पनि यसैको अधा मात्र हुने गुरुङ बताउँछन्। उनी भन्छन्, 'प्रतिस्पर्धी बजारले प्यारासुटको मजा लिन खोज्‍नेलाई केही राहत भने पक्कै भएको छ।'

सरकारले पर्यटन विकासमा अलि प्राथमिकता दिन सके यस क्षेत्रमा बाँच्न सकिने प्रशस्त सम्भावना रहेको तर देशको राजनीतिक अस्थिरताका कारण हाम्रा स्रोत साधनहरूको परिचालन सकेजति हुन नसकेको ठम्याइ छ उनको।

सन् १९८८ मा पोखरा जन्मेका उनले हालसम्म एक हजार ५०० बढी व्यावसायिक उडान सुन्दर नगरी पोखरास्थित सराङकोटबाट उडाइसकेका छन्। उनी भन्छन्, 'सन् २००६ देखि २०१० सम्म आत्मविश्वासका लागि एकल रूपमा उडाएको थिएँ।'

यस क्षेत्रमा उनी यसरी आइपुगे

पोखरास्थित लेकसाइडको आफ्नै घरको छतबाट सुशील गुरुङलाई सराङकोटमा उड्दै गरेको प्यारासुट हेर्दै सोच्न थाले- 'जिन्दगीमा एक पटक प्यारासुट उडाउन पाए स्वर्ग पुगिन्थ्यो होला।'

बाबु भारतीय सेनामा आवद्ध भएपछि घरमा कि व्रिटिस आर्मी कि भारतीय आर्मी हुनुपर्ने दबाब थियो उनलाई। आफन्तहरू सेनामा आवद्ध भएपछि एक किसिमको दबाब हुनु सामान्य नै हो। तर उनलाई सेनामा भर्ती हुन कुनै रहर थिएन। घरका सदस्यको दबाब थेग्न नसकेर व्रिटिस आर्मी हुन दौडिन गए उनी। १०-१५ जना लाइन लगाए। दौडन सुरु गरे। जो प्रथम हुन्छ, उसले अरू ट्रेनिङमा जानुपर्थ्यो। तर उनको रहर आर्मीमा थिएन्। यसकारण उनी दौडमा असफल बने।उनी भन्छन्, 'रहर नै सबै कुरा रहेछ। जब रहर नै छैन भने त्यस क्षेत्रमा लाग्नु बेकार हो।'

विस्तारै विस्तारै घरकाले आर्मी हुनुपर्ने दबाब दिन बन्द गरे। एक दिन उनले आफ्नै मामा अनिल गुरुङ, जो पोखराका सिनियर प्यारासुट पाइलट थिए, उनलाई प्यारासुट उडाउन मन लागेको बताए। मामाले 'मेरो भान्जा मेरो बिँडो धान्न आइपुगे' भन्दै काँधमा धाप मार्दै भनेछन्, 'प्रिय भान्जा, प्यारासुट उडाउन सजिलो छ भन्ने लाग्छ? पहिले कोर्स गर्नुपर्छ, तालिम लिनुपर्छ।' त्यसपछि उनले तालिम लिन थाले। उडाउन चाहिने सामानहरू युरोपबाट मगाउँदा महँगो हुने हुँदा उनले विदेशीबाट प्यारासुट उडाउन आएका पर्यटकबाट सेकेण्ड ह्याण्डमा किन्थे। सुरुमा उनले सराङकोटपारिको डाँडामा, त्यसपछि पृथ्वीनारायण क्याम्पसको पल्लो भेगमा प्यारासुटको उडान भरे। अब उडाउन  सक्छु भन्ने मनमा विश्वास बढ्दै गएपछि मात्र उनको गन्तव्य सराङकोट हुँदै व्यावसायिकतातिर डोहाेरियो।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.