|

काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखामा चालु आर्थिक वर्षमा ट्राफिक नियम उल्लंघनसम्बन्धी करिब ३५ हजार उजुरी परेको छ। 

काठमाडौं उपत्यकाको सवारी साधनबारे गुनासो सुन्ने र कारबाही गर्ने महाशाखाको हटलाइन १०३ मा ३४ हजार ७५२ उजुरी परेकामा मोटरसाइकल हराएको एक हजार ११८, ठूला सवारी हराएको २०, एउटा सवारी साधनले अर्को सवारीसाधनलाई हानेर भागेको ५२२, ट्याक्सीमा सामान छुटेको ३०४, फुटपाथ पार्किङ गरेको २६ हजार १०८ र बढी भाडा लिएको छ हजार ६८० उजुरी परेको महाशाखाले जनाएको छ। 

महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीले उजुरी परेकालाई तत्काल नजिकको प्रहरी एकाइमा खबर गरी कारवाही गर्ने गरिएको जानकारी दिए। उनले भने, ‘उजुरी परेका गाडी तत्काल नभेटिए रेकर्डअनुसार पछि भए पनि खोजेर कारवाही गर्ने गरिएको छ।’

यस्तै मिटरमा जान नमान्ने ट्याक्सीमाथि महाशाखाले विशेष अभियान सञ्चालन गरेको छ। सहप्रवक्ता मरासिनीले मिटरमा हिँड्न नमान्ने सवारीसाधन कारवाहीका लागि महाशाखाबाट विशेष टोली खटाइएको बताए। उनले भने, ‘पहिले दैनिक २५–३० ट्याक्सीलाई कारबाही गरिएकामा अहिले दैनिक ६०–७० कारबाहीमा पर्ने गरेका छन्।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.