|

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेसवादी दलहरुको मागका आधारमा गर्न लागिएको संविधान संशोधनमा आफ्नो पार्टीले सहयोग नगर्ने बताएका छन्।

पार्टी केन्द्रीय कमिटीको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उनले संविधान संशोधन रोएको बच्चा खुशी पार्न चकलेट दिनुजस्तो सामान्य विषय नभएको दावी गरे। 'नेकपा एमाले बहकिने पार्टी होइन। त्यसकारण संविधान संशोधन आवश्यकता परे गर्छ, देशका लागि जनताका लागि। तर कसैलई चित्त बुझाइदिनका लागि गर्दैन' उनले भने 'संविधान संशोधन बच्चा रोयो चकलेट दिएर खुशी पार्ने जस्तो होइन।'

अध्यक्ष ओलीले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले मधेसवादी दलसँग गरेको सम्झौता कार्यान्वयनमा आफ्नो पार्टीले सहयोग नगर्ने स्पष्ट पारे। 'संविधान संशोधन गर्न सहमत हुन सक्दैनौं, गर्दैनौं भनेकै छैनौं। देशको निम्ति, जनताको सहजताका निम्ति अधिकार प्रयोगलाई सहज बनाउन संविधान संशोधन हुनसक्छ' उनले भने 'तर कसकसले कहाँ कति बुँदे सम्झौता गरे। सरकार बनाउने नाममा बिभिन्न प्रकारका कवुलियत नामाहरु गर्न मन लाग्यो, त्यसका पछाडि एमाले कुद्छ भन्ने होइन।'

कसैले माग गरेकै आधारमा संविधान संशोधन हुन नसक्ने ओलीले जिकिर गरे। 'तर्कपूर्ण, अर्थपूर्ण आवश्यकताका आधारमा यस यस कारणले हुनुपर्छ भनेर कारण बताइदिनुस्' उनले भने 'उनीहरुलाई मन परेन चित्त बुझाइदिने भनेको के? फेरि अर्कोलाई मन नपर्ला, चित्त नबुझ्ला के गर्ने?' उनले संविधान संशोधन भनेको बच्चा रोएर खुशी पार्न दिइने चकलेट जस्तो विषय नभएको बताए।

संविधान मान्दिन भन्नेको माग पूरा गर्न लाग्नु अहिलेको सरकारको निरिहता भएको एमाले अध्यक्ष ओलीले दावी गरे। 'अहिलेको सरकार कतिसम्म निरिह छ। संविधान मान्दिन भन्ने कुरालाई संबोधन गर्नुपर्छ भन्ने' उनले भने 'संविधान मानेर मात्र संशोधन हुन सक्छ। जहाँ संविधान मान्छन् त्यहाँ मात्र संशोधन हुन्छ। संविधान मान्दैनौं भनेपछि संशोधन कसरी हुन्छ?'

संविधान मन परेन भनेर संशोधन गर्न खोज्नु अराजक अभिव्यक्ति भएको ओलीले जिकिर गरे। 'संवैधानिक प्रावधानमा कतै कमी भएपछि त्यो कमी हटाउन र सच्याउनका लागि संविधान संशोधन गर्ने हो। त्यसो चाहिँ भन्न नसक्ने। तर मन परेन मान्दिन भनेर संशोधन हुँदैन' उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.