|

जनकपुरधाम : तराई–मधेसमा जेठ लागे पनि उखरमाउलो गर्मीको पारो चढ्दै जानुपर्नेमा यस वर्ष त्यस्तो पट्यारलाग्दो मौसम छैन। वर्षासँगै आएको हावाहुरीले गर्दा आइतबार बिहान अलिक शान्त र शीतल नै लाग्थ्यो। गहुँ तथा दलहनबाली भित्र्याइसकेपछि उजाड बन्दै गएको खेतबारीमा भने किसानहरूको चहलपहल बढ्दै थियो। 

दिनको ठीक साढे १० बजेको छ। विद्यालय प्रांगणमै दुईवटा जन्तीका चारपांग्रे गाडीहरू पार्किङ गरिएका थिए भने विद्यालयमै जन्तीहरू विश्राम गर्दै थिए।

यतिखेर देशभर विद्यालय भर्ना अभियान जोडतोडका साथ चले पनि दक्षिणी धनुषाको अत्यन्त पिछडिएको तथा बाढीले आजित बनेको गाउँ मुखियापट्टी मुसहरनियास्थित एक सामुदायिक विद्यालयमा विद्यार्थीको ठाउँमा जन्ती राखी आराम गराइँदै थियो ।

श्री राष्ट्रिय प्राथमिक विद्यालयमा एउटा कक्षाकोठामा धनुषाको चित्रपुरबाट आएका जन्तीलाई त्यहाँका गाउँले तथा आफन्तले डाला–हाराको विधिव्यवहार गर्दै थिए । डालीहारीको पैसा गन्दै बेहुला पक्षलाई सुम्पने विधिविधानको तस्वीर पनि मज्जाले जन्ती पक्षले आफ्ना क्यामरा कैद गर्दै थिए। 

विद्यालयको अर्को कुनामा रहेको कक्षाकोठामा भारत बिहारको बसैठबाट आएका जन्ती घोघट कार्यक्रम सम्पन्न नगरिएकाले भोकै टौलाउँदै त्यतिकै असरल्ल ढलेका छन्। 

जन्तीको एउटा गाडीको मर्मत सम्भार पनि विद्यालय हाताभित्रै गरिँदै थियो। बेहुलीका सहेँलीहरू (साथी)ले बेहुलालाई घर लैजानका लागि कक्षाकोठा तथा कार्यालय वरिपरि नै ख्यालठट्टा गर्दै झुम्मिएका थिए।
 
विद्यार्थी भने थोरै संख्यामा आएका थिए। तिनीहरूको ध्याउन्न पढाइतिर थिएन। केही गोटरस खेल्दै थिए भने केही खानेपानी पाइप वरिपरि पालो पर्खेर उभिएका थिए। कोही साइकल चलाएर ‘टाइम पास’ गर्दै थिए। शिक्षकहरूलाई पनि क्या आराम! 

पढाउनेसँग सरोकार नै भएन किनभने विद्यार्थी जो थोरै आएका छन्। तर केही क्यामरासहितका संचारकर्मीलाई देख्दा प्रधानाध्यापकको अनुहार मलिन भयो। अत्यन्त भद्र, नरम मिजाजका तथा मृदुभाषी प्रधानाध्यापकको अनुहारमा अजीव बेचैनी, अकथनीय पीडा तथा छटपटी छायो। 

संचारकर्मीले प्रश्न गर्न नपाउँदै प्रधानाध्यापक सुरेन्द्र पाण्डेले विद्यालय हाताभित्र जन्ती नराख्नका लागि आफूले व्यापक पहल र प्रयास गरेको बताउन थाले। उनले बाध्यता पनि सुनाए तर आफ्नो केही नचलेको उनले बताए। 

यो समस्या आफ्नो काबुबाहिर रहेको उनले स्वीकारे। गाउँमा जन्ती राख्ने दलान, मठमन्दिरलगायतका सार्वजनिक स्थान नभइदिएकाले गाउँले तथा यहाँका गन्यमान्य व्यक्तिहरूको आग्रह तथा दबाबमा जन्ती राख्न दिएको उनले खुलाए।

विद्यालय सहयोगका लागि पहिला–पहिला जन्ती राख्नका लागि बेहुली पक्षबाट १०० रुपैयाँ लिइन्थ्यो तर अचेल त्यो पनि छैन। गरिब निमुखाले पैसा तिरे पनि ठूलाठालुले पटक्कै पैसा नतिरेकाले हिजोआज निःशुल्क नै जन्ती राख्ने गरिएको स्थानीय बताउँछन्। यो त भयो विद्यालय प्रांगणमै जन्ती राख्ने परिपाटी अनि पठनपाठन चौपट गर्ने, सिकाइ उपलब्धिको कुरै नगर्दा बेस। 

शिक्षा कार्यालयको सहयोगमा छुटाछुट्टै ब्लक निर्माण गरिएका छन् भने जम्माजम्मी नौवटा कोठाहरू छन्। तीमध्ये एउटा सानो कोठामा प्रध्यानाध्यापक बस्दै आएका छन् भने अर्को एउटा कोठाबाट कार्यालय संचालन भइरहेको छ। दुईवटा कोठामा दुई ठाउँबाट आएका जन्तीहरूले आराम गरिरहेका छन् । 

बाँकी सातवटा कक्षामा पठनपाठन हुनुपर्नेमा विद्यार्थी कम आएकाले दुईवटा कोठामा मात्र पढाइ भइरहेको छ। ३०० जना विद्यार्थीको भर्ना भइसकेको अवस्थामा आइतबार ५० भन्दा पनि बढी विद्यार्थी पाइएनन्। 

किशोरी शिक्षा पूरा गरी विद्यालय भर्ना हुन आएमा यो संख्या अझै बढ्ने बताउँदै प्रधानाध्यापक पाण्डेले भने, ‘राती आएको हावाहुरी तथा गाउँमै आएका दुईवटा जन्ती टोली र तिनीहरूको पनि रात्रि विश्रामको थलो विद्यालय नै भएकाले विद्यार्थीको उपस्थिति संख्या कम हुन गएको हो।’ 

यतिकैमा पूरा हुँदैन यो विद्यालयको दूरवस्थाको कहालीलाग्दो तस्वीर। विद्यालय प्रांगणमै जनयुद्धकालमै स्थापना गरिएको प्रहरी चौकी अझै हटेको छैन। त्यसमा पनि वडा कार्यालय पनि त्यहीँबाट संचालन भइरहेको छ जबकि जनप्रतिनिधि पनि निर्वाचित भएको झण्डै वर्ष दिन हुन लाग्दा पनि विद्यालयको सुधार, प्रगति र विकासप्रति खासै चासो देखाइएको छैन। 

शिक्षा कार्यालय, शिक्षक संघका अध्यक्ष, विभिन्न गैरसरकारी संघसंस्था तथा स्थानीयको उपस्थितिमा विद्यालय परिसरबाट प्रहरी चौकी हटाउनुपर्ने अथवा घेराबेरा वा अर्काे बाटो खोल्नुपर्ने चौतर्फी दबाब, प्रयास र पहल गरिए पनि समस्या अझै टरेको छैन। गाउँलेका आग्रहमा रातभर गस्ती गरेका प्रहरीका पीडा पनि कम्ती छैनन्, एउटै कोठामा सात जना सुत्दै आएका छन् उनीहरू। 

सकभर विद्यालयमा पढाइ भइरहेको बखत चौकीमा पर–पञ्चायत नगर्न, शनिबार झगडियासँग छलफल गर्ने विद्यालय दिनमा संचालन भयो भने विहान न्याय इन्साफ गर्न र बिहान संचालन भयो भने दिनमा पर–पञ्चायत गर्ने आपसी समझदारी र सहमति भएको विद्यालय प्रशासनले जनायो। 

यो त धनुषा जिल्लाको विद्यालयमा जन्ती राख्ने गरिएको तीतो यथार्थ मात्र हो। तराई–मधेसका यस्ता कयौँ विद्यालयका तस्वीर यसभन्दा पटक्कै फरक छैनन्। यसरी विद्यालयमा नै जन्ती राखेर पठनपाठन अवरुद्ध पार्ने परिपाटीको समाधान हुन सकेको छैन। सम्बन्धित निकाय जिल्लामा जतिसुकै बहस गरे पनि स्थानीयस्तरमा कुनै ठोस कदम नचालिँदा हजारौँ विद्यार्थीहरूको भविष्यसँग खेलवाड भइरहेको अवस्था ज्यूँका त्यूँ रहेको स्थानीयको गुनासो छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.