विप्लवको पार्टीले विस्फोट गराएको प्रहरीको आशंका

|

दमक : झापाको दमक नगरपालिका ७ का वडा अध्यक्ष भीम पौड्यालको घर नजिक बम विस्फोट भएको छ। विस्फोटमा परी बाटो हिँड्दै गरेका दुईजना घाइते भएका छन्।

घाइते हुनेमा दमक ८ का तिलोचन पोखरेल र प्रेमकुमारी राई रहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिए।

घाइते दुवै श्रीमान श्रीमती हुन्। घाइते दुवैको अहिले दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले विस्फोट गराएको हुन सक्ने प्रहरीको अनुमान छ। विस्फोट स्थलमा सुरक्षा व्यवस्था कडा बनाइएको प्रहरीले जनाएको छ। 

दमक नगरपालिका ७ को हाटखोलास्थित सुनचाँदी लाइनमा रहेको अवैध बस्ती प्रहरी प्रशासन लगाएर उठाएकोप्रति विप्लवको पार्टीले विरोध जनाएको थियो। शनिबार बस्ती हटाइएको थियो। विप्लवको लिम्बुवान स्वायत्त प्रदेशको झापा जिल्ला जनपरिषद्ले एक विज्ञप्ति जारी गर्दै दमक नगरपालिका प्रमुख र वडा नम्बर ७ का अध्यक्ष पौडेललाई जनताको प्रतिनिधि नभएको भन्दै कारबाही गर्ने धम्की दिएको थियो। उक्त धम्की आएको केही समयपछि भएको विस्फोटका कारण प्रहरीले विप्लवको पार्टीको संलग्नता हुनसक्ने आशंका गरेको हो।

आइतबार साँझ बम विस्फोट भएको प्रहरीले जनाएको छ। घटनाको विषयमा विस्तृत विवरण आउन बाँकी रहेको छ। बम विस्फोटपछि स्थानी त्रसित भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.