ट्रम्प भन्छन्, अहिले नभए कहिल्यै हुँदैन

|

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी महिना हुने भनिएको उत्तर कोरियाली नेता किम जोङ–उनसँगको ऐतिहासिक शिखर वार्तामा केही ढिलाइ हुनसक्ने बताएका छन्।

उत्तर कोरियाली नेतासँगको ऐतिहासिक शिखर वार्ताका विषयमा छलफल गर्न ह्वाइट हाउसमा पुगेका दक्षिण कोरियाका राष्ट्रपति मून जे इनसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले वार्तामा केही ढिलाइ हुनसक्ने बताएका हुन्। 

उत्तर कोरियाले निश्चित शर्तहरु पूरा नगरे उक्त शिखर बैठक पर सर्ने उनको भनाइ थियो। उनले अहिलेको स्थितिमा उत्तर कोरियासँग वार्ता हुन नसके त्यसपछि कहिल्यै हुन नसक्ने पनि बताए। वार्ताका लागि अमेरिकाले उत्तर कोरियासँग परमाणु हतियार नष्ट गर्न लगातार दबाब दिँदै आएको छ।

अघिल्लो हप्ता उत्तर कोरियाले अमेरिकाले परमाणु हतियारको विषयलाई लिएर एकतर्फी दबाब दिइरहे वार्ता रद्द पनि हुनसक्ने बताएको थियो। अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमबीच आगामी जुन १२ मा सिंगापुरमा वार्ता हुने तय भएको छ।

गत अप्रिलमा किम र मूनबीच भएको छलफलपछि यो बैठक तय भएको थियो। उत्तर कोरियाले राम्रो भावनाका साथ परमाणु परीक्षण स्थल नष्ट गर्न चाहे पनि खराब मौसमका कारण यसमा केही ढिलाइ भइरहेको छ।

उत्तर कोरियाले अघिल्लो हप्ता हुने भनिएको दक्षिण कोरियासँगको उच्चस्तरीय वार्ता भने रद्द गरिदिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.