पर्यटकका लागि छैन पूर्वाधार

|

इलाम : इलाममा सूर्योदयको दृश्य देखिने ठाउँ सीमित छन्। तीमध्ये केही त्यस्ता ठाउँ छन्, जहाँबाट सूर्योदय र सूर्यास्त मात्र होइन तीन देशका हिमाल आँखाअगाडि देखिन्छ। इलाम, पाँचथर र भारतको पश्चिम बंगाल राज्यको सीमावर्ती क्षेत्र सन्दकपुरबाट नेपाल, भारत र भुटानका करिब दुई दर्जन हिमचुचुरा नाँगो आँखाले देखिन्छ।

इलाम सदरमुकामबाट ४५ किलोमिटर उत्तर ३ हजार ६३६ मिटर उचाइमा रहेको सन्दकपुर गाँउपालिका–४ मा पर्ने यस ठाउँमा सर्वोच्च शिखर सगरमाथादेखि तेस्रो अग्लो कञ्चनजंघा मात्र होइन, भारतको सिक्किमको पाण्डिम र भुटानको कुलाकाङ्ग्री हिमालको दृश्यावलोकन गर्न सकिन्छ। यस क्षेत्राबाट पूर्वी क्षेत्र हिमशृंखलामा पर्ने साढे छ हजार मिटर उचाइभन्दा अग्ला हिमचुचुरा नियाल्नेहरूका लागि उत्तम गन्तव्य हो।

भारतबाट सगरमाथा देखिने एक मात्र गन्तव्य सन्दकफु (भारतीयहरूले सन्दकपुरलाई सन्दकफु भन्ने गरेका छन्) रहेको भारतीय टुरिष्ट गाइडहरू बताउँछन।भारतको सिंहलिला नेसनल पार्कसँग जोडिएको सन्दकपुरबाट पश्चिम उत्तरतिर ल्होत्से, मकालु, कुम्भकर्ण हिमाल नजिकै देखिन्छन्। सन्दकपुरबाट उत्तरतिर फर्किंदा सिक्किमका पाहुन्द्री, सिनोल्चु र जोङसङ हिमाल झन् नजिक झैं लाग्छन्।

पूर्व हेर्दा भुटानका कुलाकाङ्ग्री र जोमलरीसहित एक दर्जन हिमचुचुरा देखिन्छन्। मौसम खुलेका बेला सगरमाथादेखि कुलाकाङ्ग्रीसम्मका हिमचुचुरा एउटै रेञ्जमा देख्न पाउँदा सन्दकपुर आउने पर्यटक रमाउँछन्। सन्दकपुर क्षेत्रमा यति धेरै विविधता भए पनि आम्दानी भने भारतीय पक्षले लिइरहेको छ। ‘नजिकको तीर्थ हेलाँ’ भनेझैं नेपालले भने यस क्षेत्रको महत्त्व थाहा नपाए झैं लाग्छ यहाँ पुग्ने जो कोहीलाई। 

नेपाल भारत सीमाना भएकाले भारतीय पर्यटकहरूको आगमन उच्च रहने गर्दछ। भारतीय पर्यटकहरूको ट्रेकिङका लागि सिम्लापछिको उत्कृष्ट गन्तव्य सन्दकपुर रहेको ट्रेकिङ गाइडहरू बताउँछन्।

तेस्रो देशका पर्यटकहरू पनि क्याम्फायर गर्दै सन्दकपुरको नेपाल–भारत सीमाना फालौट–पाँचथरको तिम्बुङपोखरी हुँदै कञ्चजंगा आधार शिविरसम्म पैदल यात्रा गर्ने गर्दछन्। भारत सरकारले ट्रेकिङ गर्न चाहने आफना नागरिकका लागि शितकालीन क्याम्पहरूको आयोजना समेत गरिदिँदै आएको कालपोखरीका होटल सञ्चालक पेम्बा शेर्पाले बताए।

कात्तिकदेखि बैशाख महिनासम्म सन्दकपुरमा दृश्यावलोकनका लागि पर्यटकको घुइँचो लाग्दछ। पुस, माघमा विशेष गरेर हिउँ खेल्न हजारौंको संख्यामा पर्यटकहरू सन्दकपुर पुग्ने गरेको शेर्पाले बताए। ‘दृश्यावलोकनका लागि नेपाली भूमि प्रयोग गर्नुपर्छ,’ सन्दकपुर गाउँपालिका माबुका स्थानीय सिद्धि गरुङले भने, ‘तर नेपालतिर पर्यटकका लागि पर्याप्त होटल र पूर्वाधारको विकास नभएकाले पर्यटकबाट हुने आम्दानी जति भारतले लिने गरेको छ।’

नेपालतर्फ दुईवटा मात्र होटल छन् भने भारततर्फ सन्दकपुर बजार छ। पर्यटकहरू नेपालको भूमिबाट सूर्योदयको दृश्यावलोकन गर्छन र भारततर्फका होटलमा गएर खाने, बस्ने गर्छन्। भारततर्फ पश्चिम बंगाल सरकार मातहतका आधा दर्जन कार्यालयका अतिरिक्त पर्यटकलाई आवासगृह, होटलसमेतको व्यवस्था छ। नेपाली भूभागको बाटोसमेत व्यवस्थित नभएकाले अधिकांश आन्तरिक पर्यटक समेत भारतीय बाटो हुँदै सन्दकपुरसम्म पुग्न बाध्य छन्। बर्खाको समयमा नेपालतर्फको बाटो हिलाम्मे हुने भएकाले पर्यटकहरूले भारतको मानेभञ्ज्याङको बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ। यस क्षेत्रमा भारतले सुरक्षाका लागि सीमा सुरक्षा बल (एसएसबी) क्याम्प नै खडा गरेको भएपनि नेपाल पक्षबाट सुरक्षाको कुनै प्रबन्ध छैन।

बैकल्पिक बाटो अध्ययन

सन्दकपुर हुँदै कञ्चनजंगा बेस क्याम्पसम्म पुग्न सकिन्छ। वार्षिक ४० हजार पर्यटक आधार शिविर जाने गर्छन। तर नेपालको बाटो भएर ४०० को हाराहारीमा मात्र पर्यटकहरू जाने गरेको मेची पहाडी क्षेत्र पर्यटन प्रर्वद्धन समितिका कार्यकारी निर्देशक केशवकुमार द्यौरालीले जानकारी दिए।

नेपाली क्षेत्रको ट्रेकिङमा आउने धेरै पर्यटक भारतको बाटो भएर प्रवेश गर्ने भएकाले नेपालबाट बैकल्पिक बाटोका लागि गत मे ३ देखि अध्ययन शुरु गरिएको छ।

कच्ची बाटोमा पर्यटकलाई सास्ती

नेपाल सरकारले गत चैत १ देखि २० वर्षे पुरानो गाडी सञ्चालनमा प्रतिबन्ध लगाएपछि सन्दकपुर पुग्ने नेपाली पर्यटकहरूले सास्ती भोग्नु परेको छ। सरकारले प्रतिबन्ध लगाएपनि त्यहाँसम्म पुग्ने विकल्प नभएपछि गत चैत ५ गते पूर्वप्रधानमन्त्री झलनाथ खनाल ५० वर्ष पुरानो ल्यान्डरोभर चढेर सन्दकपुर पुगेका थिए। कच्ची सडकमा ल्यान्डरोभरबाहेकका सवारी साधनहरू सन्दकपुर पुग्न समस्या हुने भएकाले पर्यटकहरूले सास्ती खेप्नुपर्ने स्थानीय सिद्धि गुरुङको भनाइ छ।

भारतले सन्दकपुरसम्म पर्यटक ल्याउन–लैजान तिनै ५० वर्ष पुराना ल्यान्डरोभर गाडी प्रयोग गरिरहेको छ। तर, नेपालमा भने प्रदूषणको कारण देखाउँदै सरकारले यस्ता सवारी रोक लगाएपछि पर्यटनमा प्रत्यक्ष असर पुगेको व्यवसायीको गुनासो छ। ‘सरकारले सहरी क्षेत्रलाई मात्र हेरेर गरेको पुराना सवारी रोक्ने निर्णयले इलाम मात्र होइन पूर्वी पहाडका दर्जनौं पर्यटकीयस्थल सुनसान भएका छन,’ पूर्वेली जीप तथ ट्याक्सी व्यवसायी संघका अध्यक्ष गृष्म सुब्बाले भने, ‘पुराना हुँदैमा कुनै सवारी साधन वातावरण प्रतिकूल हुँदैनन्, हचुवाका भरमा गरिएको निर्णयले करोडौंको पर्यटन बजारमा असर पुर्‍याएको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.