|

रुकुम : रुकुमपश्चिम चौरजहारी नगरपालिकाले एक वर्षमा ९५ किलोमिटर नयाँ सडक निर्माण गरेको छ। जनप्रतिनिधि निर्वाचित भएको एक वर्षमा ९५ किलोमिटर सडक निर्माण गरिएको हो। यसका लागि नगरपालिकाको चालू आर्थिक वर्षमा सडकमै मात्र छ करोड ३९ लाख रुपैयाँ बजेटबाट खर्च भएको छ। 

एक वर्षमा नगरपालिकामा नयाँ सडकमा उल्लेखनीय काम भएसँगै नगरपालिकाका सबै वडा सडक संजालमा जोडिएको नगर प्रमुख विशाल शर्माले बताए। उनका अनुसार नगरपालिकाका राम्चे टाकुरा, टिमुरेनी, तल्लो पोखरा, चौखे सडक, खहरे, मल्यासिम, नेटा र साक्चाखोला, बिरालगाउँ, लामाडाँडा, पातीहाल्नलगायतका १० वटा योजनाको सडक खण्ड निर्माण गरेसँगै ९५ किलोमिटर पुगेको हो। 

नगरपालिकाअनुसार अझै यही आर्थिक वर्षमा सम्पन्न हुने पाँच किलोमिटर बढी सडक निर्माणाधीन छ। ‘हालसम्म प्रगति नै ९५ किलोमिटर हो। यस आर्थिक वर्षको अन्त्यसम्म थप पाँच किलोमिटर सम्पन्न भएर १०० बढी किलोमिटर सडक निर्माण हुन्छ’, नगर प्रमुख शर्माले भने, ‘यो पहिलो चरणमा निर्माणको काम मात्र हो, आगामी वर्षहरूमा यसलाई स्तरोन्नति गरी बाह्रै महिना चल्ने बनाउँछौँ।’ 

आगामी आर्थिक वर्षमा नगरपालिकाको मुख्य सडक खण्डअन्तर्गत मेलैनाउली र खोलागाउँमा दुईवटा मोटरेवल पुल निर्माण गरी बाह्रै महिना गाडी चल्ने बनाउने नगर प्रमुख शर्माको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.