|

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको पहिलो बैठक सम्पन्न भएको छ। बिहीबार प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा अोलीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा पार्टीका दुवै अध्यक्षले पार्टी सुदृढीकरणका लागि निर्देशन दिएका थिए।

नेकपाका केन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई आआफ्नो जिम्मेवारी तोकिएका क्षेत्रमा काम गर्न पनि अध्यक्षद्वयले निर्देशन दिएका थिए। 'सामाजिक न्यायसहितकाे समृद्धिका लागि सरकारलाई सहयोग गर्न केन्द्रीय सदस्यहरूलाई अध्यक्षद्वयले निर्देशन दिनुभयो', नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, 'तीनै तहमा भ्रष्टाचार नगरी काम गर्न र भ्रष्टाचार भएको पाएमा कारवाही गर्न पनि निर्देशन दिनुभयो।'

उनले आजको बैठक अनौपचारिक भएको र दल दर्ताका लागि केन्द्रीय सदस्यहरूको हस्ताक्षर र नागरिकताको प्रतिलिपि संकलन गरिएको बताए। उनले भने, 'अब हस्ताक्षर र नागरिकताका प्रतिलिपि निर्वाचन आयोगलाई बुझाइनेछ।'

बैठकबाट बाहिरिँदै एक केन्द्रीय सदस्यले अध्यक्ष अोलीलाई उद्धृत गर्दै भने, 'अहिले भएको वाम एकता विश्व राजनीतिक इतिहासमै सबैभन्दा ठूलो सफलता हो।' तर सफलतासँगै उत्तिकै चुनौती पनि रहेको अोलीले बैठकमा बताएका थिए। बैठकमा अध्यक्ष अोलीले समाजवाद र समृद्धिका लागि आफूले भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने बताए।

यसरी नै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय आफूहरूको अानीबानी बिग्रिएको र पार्टीभित्र नतावाद र कृपावाद बढेको बताएका थिए। 'यसलाई अन्त्य गर्दै अघि बढ्नुपर्छ', प्रचण्डलाई उद्धृत गर्दै ती केन्द्रीय सदस्यले भने, 'अब टुट र फुटभन्दा पनि जुट्नु आवश्यक छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.