|

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिकामा रहेका सामुदायिक विद्यालयमा संस्थागत(निजी) विद्यालय छाडेर आउने विद्यार्थीको संख्या चालू शैक्षिक सत्रमा बढेको छ।

नगरपालिका कार्यालयले सामुदायिक विद्यालय सुधारका लागि गुणस्तरीय शिक्षा अभियानको शुरुवात गरेपछि संस्थागत विद्यालयमा पढ्दै गरेका बालबालिकालाई छुटाएर अभिभावकले सामुदायिक विद्यालयमा भर्ना गराएका हुन्। 

नगरपालिका क्षेत्रभित्रका सामुदायिक विद्यालयमा कक्षा कोठा व्यवस्थापन, शौचालय, खानेपानी र इको पार्क लगायत सुविधाको व्यवस्था गरिएपछि अभिभावकको अाकर्षण बढेको हो।

'विगतमा सामुदायिक विद्यालय बिचमै छाडेर अभिभावकले बालबालिकालाई निजीमा लग्थे', शिवशंकर माध्यमिक विद्यालय गर्जमुनिका प्रधानाध्यापक विष्णुदत्त जोशीले भने, 'विद्यालय सुधारका लागि कार्य अगाडि बढाइएपछि संस्थागत विद्यालयमा पढ्दै आएका बालबालिका सामुदायिक विद्यालयमा फर्किएका छन्।' चालु शैक्षिक सत्रमा विद्यालयमा पढ्ने ४६५ मध्ये १२० विद्यार्थी निजीबाट आएको उनले बताए। 

'सामुदायिक विद्यालयमा संस्थागत विद्यालयझै पोशाक, टाई, बेल्ट, जुत्ता र झोला अनिवार्य गरिएको र आवश्यक पूर्वाधार विकास गरेका छौँ', जोशीले भने, 'त्यसैले सामुदायिक विद्यालयप्रति अभिभावकको धारणा परिवर्तन भएको छ।'  

वडाध्यक्षले नै संस्थागत विद्यालयमा पढदै आएको छोरालाई सामुदायिक विद्यालयमा भर्ना गरेपछि स्थानीय अभिभावकले पनि संस्थागतमा पढ्दै आएका छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गरेको जनज्योति आधारभूत विद्यालय जोनापुरका प्रधानाध्यापक सरिता चौधरीले बताइन्। 

'विद्यालयको बाह्य वातावरण सुधार, शिक्षक विद्यार्थीका लागि आचारसंहिता निर्माण, शुक्रबार अतिरिक्त क्रियाकलापमा जोड, खेलमैदान निर्माण र महिनाको अन्तिम दिन दिँइदै आएको आधार दिन विदामा पूरै दिन पढाइलगायत सुधारले विद्यालयको साख फिर्ता भएको चाैधरीकाे भनाइ छ। 'नगरपालिकाको शिक्षा शाखाले जारी गरेको निर्देशनको पालना गर्दै विद्यालयका शिक्षकहरु पाठयक्रमले तोकेको विषयवस्तुमा केन्द्रित रहेर पढाउन थालेका छन्', उनले भनिन्, 'यसैले पनि विद्यार्थीको संख्या बढेको हो।' 

राष्ट्रिय माध्यमिक विद्यालय पिपलाडीमा समेत संस्थागत विद्यालय छाडेर आउने विद्यार्थीको संख्या एक सयभन्दा बढी पुगेको छ। विद्यालय भर्ना अभियान प्रभावकारी भएका कारण संस्थागत विद्यालय छाडेर आउने विद्यार्थीको संख्या बढेको शिक्षक भीमबहादुर ऐरले बताए। 

नगरपालिकामा जनप्रतिनिधि आएपछि निरन्तर रूपमा विद्यालयमा अनुगमनको कार्यले समेत गुणस्तर सुधारमा टेवा पुर्‍याएको शिक्षकहरुको भनाइ छ। 'सामुदायिक विद्यालयमा पढ्ने अाफ्ना बालबालिकालाई वास्ता नगर्ने अभिभावकहरू अहिले मध्यान्तरका बेला घरबाट खाजा बोकेर अाउने गरेका छन्', शिवशंकर व्यवस्थापन समितिका अध्यक्ष अजवसिंह साउदले भने।

संस्थागत विद्यालयमा बर्सेनि मासिक शुल्कमा वृद्धि भइरहने र विभिन्न बहानामा वर्षभरि रकम तिर्नुपर्ने कारण खर्च धान्न नसक्ने भएपछि अभिभावक सामुदायिक विद्यालयतर्फ अाकर्षित भएका हुन्। नगरपालिकाका प्रमुख दिलबहादुर ऐरले सामुदायिक विद्यालयको गुणस्तर सुधार र भौतिक पूर्वाधार विकासका लागि बजेट कम हुन नदिने बताए। 

नगरपालिकामा ३२ सामुदायिक विद्यालय र २४ वटा संस्थागत विद्यालय सञ्चालनमा छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.