|

सुर्खेत : कर्णाली प्रदेशको राजधानीको सुर्खेतको वीरेन्द्रनगरमा ठूलो पानी पर्दा र हावाहुरी चल्न बित्तिकै विद्युत सेवा अवरुद्ध हुँदा सेवाग्राही मर्कामा पर्दै आएका छन्। विद्युत सेवा अवरुद्ध हुँद बिजुलीबाट हुने काम अस्तव्यस्त हुने गरेको छ। ३० वर्षदखि सञ्चालनमा आएको कोहलपुर–सुर्खेत ३३ केभी प्रसारण लाइनको स्तरोन्नति नहुँदा समस्या आउने गरेको प्राविधिहरुको भनाइ छ।

खडेरी मौसममा हावाहुरी र पानी पर्न सुरु भएपछि सुर्खेत आसपासका धेरै गाउँ रूपमा बिजुली प्रवाह हुन सकेको छैन। सुर्खेत हुँदै विद्युत लाइन तानिएका दैलेखमा पनि यो समस्या रहँदै आएको छ। दिगो विद्युत प्रसारण लाइन अभावमा ०४५ देखि नै यस क्षेत्रका नागरिकले सास्ती भोग्दै आइरहेका छन्।

अव्यवस्थित र मापदण्ड विपरीत विद्युत लाइन बिस्तार गर्दा सानोतिनो हावाहुरीले पनि पोलमा क्षति पुग्दा यस्तो समस्या आएको स्थानीयको गुनासो छ। प्रदेश ५ को कोहलपुरदेखि सुर्खेत प्रसारण लाइनमा गते चैत १५ देखि जेठ ११ सम्म मात्रै ७५ भन्दा बढी पोल ढलेका छन्। पोल ढलेर अवरुद्ध भएको विद्युत अझै मर्मत भएको छैन। नेपाल विद्युत प्राधिकरण सुर्खेत शाखाका प्रमुख सुरज भण्डारी पर्याप्त जनशक्ति र बजेट अभावले तदारुकताका साथ अवरुद्घ विद्युत सेवा सुरु गर्न कठिनाइ भएको बताउँछन्। विद्युत अवरुद्ध हुँदा व्यापार, व्यवसाय, बैकिङ सेवालगायत क्षेत्रमा सेवा प्रवाहमा असर परेको छ।

स्थानीयको गुनासो

सरकारले देशलाई लोडसेडिङमुक्त घोषणा गरे पनि सुर्खेत र दैलेखमा सानोतिनो हुरी चल्दा विद्युत अवरुद्ध हुने गरेको छ। ‘सरकारले लोडसेडिङ हटाएर राम्रो काम गरेको छ,’ वीरेन्द्रनगर ६ का कानुन व्यवसायी दुर्गा सापकोटाले भने, ‘सरकार र कुलमानलाई सलाम भन्नुपर्छ, तर प्रदेश राजधानीमा बसेर पनि बिजुलीको दिनदिनै मलाम जानुपर्छ।’

समस्या जड

पञ्चायत शासन व्यवस्था मापदण्ड पूरा नगरी विद्युत प्रसारण लाइन विस्तार भएकाले सुर्खेत र दैलेखमा बारम्बार विद्युत लाइनमा समस्या आउने गरेको स्थानीयको भनाइ छ।

मापदण्डअनुसार पोलको दायाँ–बायाँ कम्तीमा तीन तीन मिटर रूख हटाउनुपर्ने प्रावधान छ। तर, तत्कालीन राजा वीरेन्द्रको सुर्खेत सवारी हुँदा आवश्यक तयारी र व्यवस्थापन गर्नका लागि छ महिनाभित्र हतार–हतार प्रसारण लाइन विस्तार गरिँदा अहिले समस्या भएको हो।

मर्मतमा कठिनाइ

नेपाल विद्युत् प्राधिकरण ग्राहक वितरण केन्द्र सुर्खेतका प्रमुख सुरज भण्डारीले सडक निर्माणअघि नै विद्युत् प्रसारण लाइन विस्तार गरिएकाले मर्मत कार्यमा कठिनाइ भएको बताउँछन्।

‘प्रायः सडकको छेउछाउ भएर विद्युत् प्रसारण लाइन विस्तार गरिन्छ,’ उनले भने, ‘तर कोहल्पुर–सुर्खेत खण्डमा भने घना जंगलबाट विद्युत लाइन ल्याइएको छ। जसका कारण मर्मतमा समस्या हुँदै आएको छ।’ मर्मतका लागि घण्टौं पैदल हिँड्नुपर्ने, समस्या पहिचान गर्न गाह्रो हुने जस्ता कारणले मर्मतमा ढिलाइ हुने गरेको वितरण केन्द्र सुर्खेतका प्रमुख भण्डारीको भनाइ छ।

मर्मत सुपरभाइजर हरिप्रसाद पौडेलले आफूहरू पैदल हिँडेर कोहलपुरसम्म पुग्नु परेको बताए। उनले भने, ‘जंगलमा कहाँनेर बिग्रियो पत्ता लगाउनै मुस्किल पर्छ।’ ३३ केभीए क्षमताका कारण यस खण्डमा पोलहरू पनि साना छन्। जसले गर्दा रूखका स–साना हाँगाबिँगाले समेत पोलमा बारम्बार क्षति पुग्ने प्राविधिकहरु बताउँछन्।

अन्यौलामा क्षमता विस्तार

सरकारले कोहलपुरदेखि सुर्खेत प्रसारण लाइनको क्षमता विस्तारको प्रक्रिया अघि बढाएको चार वर्ष बितेको छ। १३२ केभीए प्रसारण लाइनका लागि सुर्खेतको सुब्बाकुनामा स्टेसन निर्माण प्रक्रियासमेत सुरु भइसकेको छ।

उक्त प्रसारण लाइनका लागि दुई कर्मचारी पनि खटिएका छन्। तर, कामको प्रगति शून्य छ। विद्युत् प्राधिकरणका एक कर्मचारीका अनुसार उक्त प्रसारण लाइन ऊर्जा मन्त्रालयको प्राथमिकतामा नपरेकाले काम अघि बढ्न नसकेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.