|

चितवन : अघिल्लो हप्तासम्म हरियो छँदा धानको बाला लहलह थियो। धान राम्रै फल्ने अनुमान किसानले गरेका थिए। चितवनको राप्ती नगरपालिका–१३ का माधव बस्नेत धानको बाला देखेर खुसी थिए। तर, त्यो खुसी धेरै दिनसम्म टिक्न पाएन। 

जब धान पँहेलो हुँदै पाक्ने सुरसार गर्दै थियो, धान पोगटामा परिणत हुन थालेपछि बस्नेत तीनछक परे। उनको मात्रै होइन, चितवनको कुमरोजका धेरै किसान अहिले धान सुक्न थालेपछि चिन्तित छन्।

बस्नेतले प्रतिकट्ठा दुई हजार रुपैयाँका दरले भाडामा लिएर चार बिघामा धान लगाएका थिए। करिब दुई लाख लगानी भएको सबै धान सुकेर पोगटा बनेको भन्दै उनले चिन्ता व्यक्त गरे।

आइतवार किसानको खेतमा पुगेर धान हेर्दै गरेका साना किसान कृषि सहकारी संस्था कुमरोजका अध्यक्ष तेजप्रसाद बर्ताैलाले भने, ‘कति चाँडो पाक्यो भन्या त सबै सुकेर पोगटा पो बनेछ।’ उनका अनुसार यो क्षेत्रमा धेरै किसानको धान अहिले यस्तै भएको छ।

यसरी पीडा खेप्नेमा किसान भवनराज पाण्डे पनि हुन्। खैरहनीको सिमलटाँडीका पाण्डेको करिब १५ कट्ठा जग्गामा लगाएको चैते धान पनि यसैगरी रोग लागेर सुकेको छ। पूर्णप्रसाद गौडेल र तुलप्रसाद उप्रेतीको पनि धानको अवस्था उस्तै छ। 

रोग लागेको थाहा पाएपछि अहिले उनीहरू जिल्ला कृषि विकास कार्यालय धाउन थालेका छन्। कुमरोजको साना किसान कृषि सहकारीले निवेदन नै लेखेर रोगको अनुसन्धान गरी नियन्त्रणको माग गरेको छ।

धानको बाला निस्कने घाँटी नजिक रोग देखिएपछि गुबो सुक्ने र बाला मर्ने मुख्य समस्या छ। सो विषयमा जिल्ला कृषि विकास कार्यालय चितवनका प्रमुख सुधीर श्रेष्ठ किसानहरुले धान सुकेको भनेर जानकारी गराउने बित्तिकै आइतवार सो क्षेत्रमा प्राविधिक टोली खटाइसकिएको बताए। मरेको धान बोकेरै किसान कृषि कार्यालय भरतपुर पुगेका थिए।

‘हेर्दा नेट ब्लाष्ट (मरुवा) रोग लागेको देखिन्छ,’ श्रेष्ठले भने, ‘शुरुमै थाहा पाएको भए हुन्थ्यो, अहिले जानकारीमा आउँदा ढिला भैसकेको जस्तो छ।’ उनका अनुसार यो रोग क्यान्सरजस्तै खतरनाक हो। घाँटीमा रोग लागेपछि रोक्नै नसकिने भए पनि पातबाट शुरु हुने बित्तिकै उपचार गर्दा निको हुने श्रेष्ठको भनाइ छ। शुरुमा पातमा लाम्चो खालको थोप्ला देखिने र बिस्तारै बढ्दै गएर घाँटीमा पुग्ने रोगको लक्षण रहेको उनले बताए। 

यो एकप्रकारको ढुसी रोग हो। कार्यालयका अनुसार धानको जात अनुसार पनि रोग बढी लाग्ने र नलाग्ने हुन्छ। मल प्रयोग गर्दा मात्रा नमिलेमा पनि यस्तो रोग लाग्छ। मौसम प्रतिकुल हुँदा, बढी पानी पर्दा, आद्रता बढी हुँदा, उपचार नगरिएका बीउ लगाउँदा यस्ता समस्या देखिने कार्यालय प्रमुख श्रेष्ठ बताउँछन्।

चितवनको पुर्वी क्षेत्र धान उत्पादनका हिसाबले अब्बल छ। पछिल्लो समयमा धानको विशेष कार्यक्रम समेत सो क्षेत्रमा सञ्चालित छ। चितवनमा करिब पाँच हजार हेक्टरमा चैते धान र २९ हजार हेक्टर क्षेत्रफलमा बर्खेधानको खती गरिन्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.