|

काठमाडौं : ११औँ गणतन्त्र दिवसको अवसरमा गणेशमान सिंह तथा जनआन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानद्वारा शान्ति बाटिकामा मंगलबार बिहान गरेको कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्ड निकै भावुक देखिन्थे।

उनको भावुकता अनुहारमा प्रष्टै झल्कन्थ्यो। बोल्ने क्रममा पनि प्रचण्डले गणतन्त्र स्थापनाका पल सम्झिएको बताउँदै थिए। माओवादीको १० वर्षे सशस्त्र संघर्ष र त्यसको जगमा भएको जनआन्दोलनले ल्याएको गणतन्त्र दिवसमा उनी विगतका दिन सम्झँदै थिए।

नेपाली राजनीतिक इतिहासमा सात दशक लामो संघर्षपछि जनताले आफ्नै प्रतिनिधिबाट लेखिएको संविधान पाए। गणतन्त्र स्थापनापछिका १० वर्ष पनि राजनीतिक अस्थिरतामा बित्यो। तर अब नेपालमा नयाँ संघीय लाेकतान्त्रिक गणतन्त्रको संविधान आयो र संविधानअनुसार तीनै तहका निर्वाचन सम्पन्न भएपछि स्थिर सरकार बनेको छ। त्यसैले अब देशलाई आर्थिक समृद्धितर्फ लैजान सबै राजनीतिक दल एक ठाउँमा आउनुपर्ने उनको भनाइ थियो।

प्रचण्डले यसरी सम्झिए शसस्त्र संघर्षदेखि गणतन्त्रसम्मको परिवर्तन

कार्यक्रमको विशिष्ट अतिथिको निम्ता पाएका प्रचण्ड आफ्ना भनाइ राख्न माइक्रोफोनसम्म नपुगेसम्मै निकै भावुक देखिन्थे। उनीभन्दा अघि बोलेका कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले उनलाई व्यंग्य गरेपछि झनै उनी भावुक बने। 

एमालेसँग एकता भएसँगै प्रचण्डले आफ्ना मुद्दा त्यागेको तर्फ संकेत गर्दै प्रचण्ड भनौँ कि नभनौँ भनेपछि उनी झनै भावुक देखिए। भाषण सुरु गर्नेबित्तिकै प्रचण्डले आफ्ना विगतका संघर्ष सम्झिए। विगत सम्झिँदै गर्दा उनको गला घरिघरि अवरुद्ध हुँदै थियो।

अध्यक्ष प्रचण्डले तत्कालीन नेकपा माओवादीको १० वर्षे सशस्त्र युद्ध र त्यसपछिको शान्ति प्रक्रियालाई सम्झिए। उनले आफू भूमिगत अवस्थामा हुँदा वार्तामा ल्याएर शान्ति प्रक्रियासम्म पुर्‍याउन कांग्रेसका तत्कालीन सभापति तथा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निकै ठूलो भूमिका रहेको बताए। उनले भने, ‘भूमिगत अवस्थामा म दाङमा थिएँ। पहिलो पटक शान्तिको बारेमा गिरिजाप्रसाद कोइरालासँग फोनमा कुरा भएको क्षण अहिले पनि सम्झिरहेको छु।’

उनले त्यसबेला तत्कालीन नेकपा एमालेसँग भएका वार्ता पनि सम्झिए। उनले भने, ‘हामी त्यसबेला सशस्त्र संघर्षमा थियौँ। हामीले तत्कालीन एमालेका नेतासँग पटक पटक छलफल गर्‍यौँ। कहिले काठमाडौं, कहिले रोल्पाका ती दिनहरू मैले सम्झिएको छु।’

शान्ति प्रक्रियासम्म ल्याउन र नेपालमा गणतन्त्र स्थापनाका निम्ति कोइरालाको धेरै ठूलो योगदान रहेको भन्दै उनले खुलेर प्रशंसा गरे। उनले भने, ‘पहिलो पटक शान्ति वार्ताका लागि हामीलाई उच्च व्यक्तित्व भएका गिरिजाप्रसाद कोइरालाले बोलाउनुभयो। त्यो क्षण पनि म त्यतिकै सम्झन्छु। उहाँ नहुनुभएको थियो भने यो क्षणसम्म आइपुग्न निकै गाह्रो थियो। उहाँसँग भएको भेट सम्झेको छु मैले। त्यसबेला उहाँसँग चक्रप्रसाद बाँस्तोला र केही साथीहरू हुनुहुन्थ्यो।’

कोइरालासँगको दोस्रो भेट निकै महत्त्वपूर्ण रहेको भन्दै प्रचण्डले आफ्नो विगत सुनाए। उनले भने, ‘उहाँसँगको दोस्रो भेट निकै महत्त्वपूर्ण थियो। वार्ताले मूर्त रूप लिन लागेको थियो। गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद सिटौलासँग भएका लामालामा छलफल म अहिले पनि सम्झन्छु।’ यो ठाउँमा आउन त्यो योगदान निकै ठूलो रहेको उनको धारणा थियो।

प्रचण्डले आफ्ना भाषणहरूमा त्यस समयलाई अस्वाभाविक परिस्थिति भन्ने गरेका छन्। उनले पटक पटक आफू असहजताका बीचबाट गम्भीर निर्णय गर्ने व्यक्ति रहेको बताउँदै आएका छन्। यो कुरा मंगलबार पनि दोहोर्‍याए। उनले असहज परिस्थितिका बीच १२ बुँदे समझदारी भएको बताए। ‘एकातिर विद्रोह जनयुद्धका रूपमा अघि बढेको थियो, अर्कोतिर शान्तिपूर्ण जनआन्दोलन सात पार्टीको तर्फबाट अघि बढेको थियो। ती दुईवटालाई समायोजन गर्ने आधार १२ बुँदे बनेको थियो।’

सँगसँगै प्रचण्ड पहिलो पटक विद्रोही र आन्दोलनकारीका रूपमा काठमाडौंमा सार्वजनिक हुँदै थिए। त्यसबेलासम्म प्रचण्ड भन्ने व्यक्ति छ कि छैन भन्ने निकै चर्चा थियो। ‘मलाई विद्रोही नेता, वार्ताकारका रूपमा काठमाडौंमा सार्वजनिक गर्न तत्कालीन गृहमन्त्री सिटौलाजी आफैँ हेलिकोप्टर लिएर कास्कीको सिक्लेसमा गएर मलाई उहाँले बलुवाटार लिएर आउनुभयो। असार २ गते भएको वार्ताले विस्तृत शान्ति सम्झौताको आधार तयार भयो।’

त्यसपछि १९ दिने संयुक्त जनआन्दोलन भयो। जनआन्दोलनपछि राजाले देशको सार्वभौमसत्ता जनतालाई हस्तान्तरण गरे। संसद पुन:स्थापित भयो। त्यही संसदले राजाको अधिकार कटौती गर्‍यो। तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला नेतृत्वको मन्त्रिपरिषद्ले २०६५ जेठ १५ गते नेपालमा गणतन्त्र स्थापना गरियो।

गणतन्त्र स्थापनामा कोइरालाको भूमिका यसरी सम्झिए सिटौलाले

तत्कालीन विद्रोही नेकपा माओवादीलाई शान्ति प्रक्रियासम्म ल्याउन मुख्य भूमिका खेल्नेमध्येका एक हुन् कृष्णप्रसाद सिटौला। तत्कालीन गृहमन्त्रीसमेत रहेका सिटौलाले विद्रोहमा रहेको माओवादीलाई शान्ति प्रक्रियासम्म ल्याउन मियोको काम गरेका छन्।

मंगलबार भएको कार्यक्रममा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको योगदानको सिटौलाले प्रशंसा गरे। गणतन्त्र स्थापनामा एउटा लामो संघर्ष जोडिएको उनी बताउँछन्। शक्ति भए पनि शक्तिको प्रयोग अत्यन्तै न्यून गरेका कारण पनि देश अहिले गणतान्त्रिक बनेको उनले बताए। उनले भने, ‘संसद पुनर्वहाली भएकै दिन गणतन्त्र स्थापना भएको थिएन। संसदबाट राजाको कुर्सी हटाएर हामीले गणतन्त्रका स्थापनाका लागि काम सुरु गर्‍यौँ।’

गणतन्त्र स्थापना गर्नु नै कोइरालाको सबैभन्दा ठूलो सफलता भएको सिटौलाको बुझाइ छ। उनले शक्तिको प्रयोग गर्न चाहेको भए देशमा गणतन्त्र स्थापना हुन नसक्ने उनी बताउँछन्। यस्तै राजनीतिक संस्कारलाई निरन्तरता दिएर अहिलेका राजनीतिकर्मी र सरकार अघि बढ्न सके राम्रो हुने उनको सुझाव छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.