|

इलाम : इलामको चुरे क्षेत्रका सामुदायिक वनहरूबाट समय अवैध रूपमा काठ तस्करी बढ्दै गएको छ। जिल्लाका चुरे क्षेत्रमा रहेका वन क्षेत्रमा बढी चोरी तस्करी हुने गरेको दक्षिणी सेक्टर वन कार्यालय सुखानीको तथ्यांकले देखाउँछ। पर्याप्त जनशक्तिको अभावका कारण काठ तस्करहरूले दिन प्रतिदिन तस्करी गरिरहे पनि नियन्त्रण गर्न नसकिएको माई नगरपालिकास्थित दक्षिणी सेक्टर कार्यालय सुखानीका वन अधिकृत रितेषभुषण बस्नेतले स्वीकार गरे।

सामुदायिक वनका पदाधिकारीहरू वन संरक्षणमा उदासिन देखिएकाले पनि पछिल्लो समय चोरी तस्करी बढेको बस्नेतको भनाई छ। यसैबीच गत आइतबार राति माई नगरपालिका–१ पाल्टारबाट सशस्त्र प्रहरी बेस क्याम्प दानाबारी र वन कर्मचारीको टोलीले बेवारिसे अवस्थामा ११५ दशमलब ५७ क्युबिक फिट चिरान काठ बरामद गरेको छ। उक्त काठ करिब पाँच लाख रुपैयाँ बराबरको हो। 

उक् टोलीले सोमबार बिहान ३ बजे बिरिङखोलाको किनारबाट पिकअपसहित काठ बरामद गरेको छ। मे १ ज १४४८ नम्बरको पिकअपमा लोड गरेर झापातर्फ लाँदै गरेको ३६ दशमलव ३ क्युबिक फिट ७ वटा गोलिया बरामद गरिएको हो।

भौगोलिक विकटता र सीमा क्षेत्र बेफाइदा

इलामको दक्षिणी क्षेत्र भौगोलिक रुपमा विकट हुनुका साथै झापाको सीमावर्ती क्षेत्र पनि हो । यही भौगोलिक विकटता सीमावर्ती क्षेत्रको फाइदा काठ तस्करहरूले वर्षौंदेखि लिँदै आएको छ। 

गत आइतबार चुलाचुली क्षेत्रबाट दुई वटा साइकलसहित चिरान काठ बरामद गरिएको थियो। त्यसअघि जेठ ५ गते ना अ ४ प ७८३ नम्बर लेखिएको अनटेस्ट टिपरबाट १४६ दशमलब ९६ क्युफिट चिरान प्रहरी चौकी पेल्टीमारीले बरामद गरेको थियो। टिपर र चालक मोरङ उर्लाबारी नगरपालिका–३ निवासी २९ वर्षीय पदम ढुङगानालाई नियन्त्रणमा लिई इलाका वन कार्यालय चुलाचुलीमा बुझाइएको थियो।

चुलाचुली क्षेत्रमा तस्करी नियन्त्रणका लागि जिल्ला वन कार्यालयसँग भएको स्रोत साधन अधिकतम परिचालन गरी रोक्ने प्रयास गरिरहे पनि संगठित रूपमा हातहतियारसहित तस्करी भइरहेका कारण सफल हुन नसकेको जिल्ला वन अधिकृत भरतबाबु श्रेष्ठले बताउँछन्।

इलामको वन तस्करीका लागि झापाको दमक, बिर्तामोडसहितका सहरमा मात्र नभई भारतसम्म तस्करहरूको ठूलो सञ्जाल रहेको दक्षिणी सेक्टर वन अधिकृत रितेषभुषण बस्नेत बताउँछन्। उनले भने, ‘वनमा भेटिएका कामदार मात्र हुन्।’ तस्करहरूले रूख काट्ने एउटा समूह, काटेको ठाउँबाट बोक्ने अर्को समूह र झापा पु¥याउने छुट्टै समूह रहने गरेको उनको भनाइ छ। तस्करहरू झापामा बसेर लगानी गर्ने गरेको बस्नेतको भनाइ छ। जति केरकार गर्दा पनि पक्राउ परेकाहरूले मुख्य तस्करको पहिचान नखुलाउने उनले बताए। 

सामुदायिक वनको उदासिनता

यस क्षेत्रमा रहेका सामुदायिक वन उपभोक्त समूहले अवैध रूपमा सालका रूख फडानी गरिरहेको वन कार्यालयका कर्मचारीहरू बताउँछन्। सामुदायिक वनमा भएको तस्करीमा मुख्य रूपमा सामुदायिक वन उपभोक्ता समितिकै पदाधिकारीको मिलेमतो भएको समेत पाइएको दक्षिणी सेक्टर वन अधिकृत बस्नेतको दाबी छ।

बस्नेतका अनुसार धेरै कमाउने आशमा वनका पदाधिकारीहरू तस्कहरूसँग साठगाठ गरी झापासम्म काठ पुर्‍याउन सहयोगीको भूमिका निर्वाह गर्ने गर्दछन्। झापामा रहेका काठ मिलहरूले प्रतिक्युफिट चार हजार रुपैयाँभन्दा बढी मूल्यमा सालका काठ खरिद गर्ने गरेका छन।

जिल्ला वन र सेक्टर वनसँगको समन्वयमा तस्करी नियन्त्रणका लागि प्रयास भए पनि सामुदायिक वन समूह निस्क्रिय बन्दा नियन्त्रणमा चुनौती थपिएको चुलाचुली गाउँपालिका अध्यक्ष प्रदिपचन्द्र राईले बताए। जनप्रतिनिधि निर्वाचित हुनुभन्दा अघि नै नै तस्करी मौलाएकाले नियन्त्रणमा लागि प्रयास भइरहेको अध्यक्ष राईले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.