|

  • तितिक्षा मगर-

सुलभ इन्टरनेशनल सोसियल सर्भिस अर्गनाइजेसनका प्रमुख डा. विन्देश्वर पाठकको निमन्त्रणामा नयाँ दिल्लीको गरिएको मेरो जीवनको पहिलो भारत भ्रमण वास्तवमै शिक्षाप्रद रहृयो।

यात्राको क्रममा मैले सुलभका कार्यक्रमहरु स्थलगत रुपमा जान्ने र बुझ्ने अवसर पाएँ। सुलभले आधुनिक शौचालय प्रयोगमा सम्बन्धमा भारतमा क्रान्ति नै ल्याएको छ। संसारभरबाट स्याबासी पाइरहेको संस्थाको सक्रियता नेपालका लागि अर्थपूर्ण रहन्छ।

स्थलगत भ्रमणका क्रममा म वृन्दावन पुगेकी थिएँ, स्थानीयहरुमाझ निकै लोकप्रिय रहेको नेपाली आश्रमका बारेमा जन्ने उत्सुकता जाग्यो र स्थान पहिल्याउँदै पुगें। वृन्दावन परिक्रमा मार्गमा अवस्थित भजनकुटी आश्रमको भ्रमण दर्शनले मेरो अन्तरआत्मालाई हल्लाइदियो। नेपाली विधवा आमाहरुको अवस्थाका बारेमा कथा सुन्दा अठार वर्षकी मलाई आफ्नो मनलाई थाम्नै गाह्रो भयो। सानो हुँदादेखि नै हजुरआमा गुमाएकी मेरा लागि नेपाली समाजले विधवाको आरोप लगाई छि:छि: र दूर-दूर गरी घरबाट धपाइएका आमाहरुको अन्तिम स्थल बनेको थियो भजनकुटी।

नेपाली समाजमा बालविवाहको जरो छ, त्यसैको उपज हुन् यी आमाहरु। धेरैजसो परिवारबाट हेला गरिएका थिए भने केही आफ्नै सुरमा स्वास गएपनि बृन्दावनमै जाओस् भन्ने भावना लिएर आएका थिए। पाल्पाकी १०४ वर्षीय नरोत्तम दासी आमाको कुरा सुन्दा म भक्काउन मात्र सकिन। तीमध्ये एकजना आमालाई केही समय पहिले आफन्तहरुले आश्रमबाट लिएर गएका थिए तर, आमा केही समयमै कुटी फर्कनुभएको रहेछ। एकल जीवन बिताउँदा आफूमाथि उठ्ने प्रश्नहरुको सामना गर्न नसकेर, समाजले लगाएका आरोपहरु सहन नसकेर, आत्महत्यालाई पाप मानी साधुको जीवन अनुशरण गरिरहेका आमाहरुको दिनचर्या हेर्दा लाग्थ्यो म कुनै नेपाली गाउँघरमा छु र उहाँहरुका कथा सुनिरहेकी छु।

दुई सय वर्षभन्दा पुरानो भजनकुटी आश्रममा हजारौं आमाहरु आउनुभयो र अस्ताउनुभयो, अहिले ४५ जना हुनुहुन्छ। मलाई त्यसबेला अचम्म लाग्यो जतिबेला थाहा पाएँ कि यहाँ बस्ने आमाहरुको हेरविचार, स्वास्थ्य, खानपिनमा सुलभ इन्टरनेशनलको सहभागिता छ। चर्चामा नराखी समाजसेवाको यो अनुपम उदाहरण एउटी नेपाली छोरीका लागि अश्रुपूर्ण भावञ्जली मात्र थियो। 

केही समययता आएर भूमाफीयाहरुले आँखा लगाएका रहेछन् र पटक-पटक यस कुटीमा आक्रमण गरेका रहेछन्। यी आमाहरु समेत उनीहरुको डर धम्कीबाट त्रस्त रहेका थिए। भारतको सबैभन्दा ठूलो नेपालीहरुको संस्था नेपाली एकता समाजको सक्रियतामा कुटीको संरक्षणका लागि आवश्यक सहयोग गरिँदै आएको छ। तरपनि स्थानीय प्रशासनको उदासीनताका कारण माफियाहरुले पटक-पटक मानसिक यातना दिने काम भइरहेकोबारे उचित सम्बोधन हुन सकेको छैन।

दिल्लीस्थित नेपाली दूतावासका कर्मचारीहरु भजन कुटी आश्रमको समस्याबारे जानकार भएरपनि केही गर्न नसकेको देखियो। नेपालीहरुकै संरक्षण र सम्बर्द्धन रहेको कुटीको विषयलाई लिएर भर्खरै मात्र भारत भ्रमणमा जानुभएका प्रधानमन्त्री पुष्पकमल दाहाललाई नेपाली एकता समाजका प्रतिनिधिहरु अध्यक्ष कमल खनाल, सचिव ठाकुर खनाल लगायतले ध्यानाकर्षण गराउनुभएको थियो।

हाम्रो नेपाली समाजमा अझै पनि सुनिने पढिने बाल-विवाहको कारण असमयमै पति गुमाएपछि लामो समयसम्म एकल जीवन बाच्नुपर्ने विवशता धेरै नेपाली नारीहरुको छ। कालान्तरमा यसरी नै कुटीमा जानुपर्ने र कष्टकर जीवन बिताउनुपर्ने तथ्यबाट हामी सबै सचेत हुनुपर्छ। सुलभ इन्टरनेशनलको सामाजिक परिवर्तनकारी कार्यक्रममा नेपालका तर्फबाट सहयोगी सदस्यका रुपमा सहभागी हुन पाउनु मेरो लागि ठूलो अवसर हो, ती नेपाली आमाहरुको स्मृति कहिल्यै नमेटिने कथाका रुपमा सजिव भई मेरो मनमा बसेको छ। परिवर्तन हामीबाट सम्भव छ, प्रयास पहिलो कदम हो, परिवर्तन हामीले नै गर्ने हो, थालनी गर्नुपर्छ, सबैको हातेमालोले हामीले चाहेको समाज निर्माण गर्न सक्छौ भन्ने अठोट मेरो रहेको छ।

[email protected]

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.