कोमल वलीको तारिफमा मुस्कुराए खतिवडा

|

काठमाडौं : सरकारले आगामी आर्थिक वर्ष २०७५/०७६ का लागि ल्याएको बजेटमाथि संघीय संसदअन्तर्गत राष्ट्रियसभामा छलफल सकिएपछि अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्रियसभामा सांसदहरूले उठाएका प्रश्‍नको जवाफ दिएका छन्।

प्रतिनिधिसभामा भने बजेटमाथिको छलफल अझै जारी छ। राष्ट्रियसभामा उनले बजेट जमिनमा टेकेर फड्को मार्नेगरी आएको बताउँदै देशको विकासका लागि सरकार आफ्नै शैलीबाट अघि बढ्ने प्रतिक्रिया दिए।

यसअघि अर्थमन्त्रीले सार्वजनिक गरेको श्‍वेतपत्र र राष्ट्रपतिले सम्बोधन गरेको नीति तथा कार्यक्रममा प्रतिपक्षबाट मात्रै आलोचित बनेका अर्थमन्त्री खतिवडाले बजेटपछि स्वाभाविक प्रतिपक्षबाट त आलोचित छन् तर सत्ता पक्षीय सांसदहरूले नै उनीमाथि अविश्वास जाहेर गर्न थालेका छन्।

शेयर बजार, बजार अनुगमन, भन्सार कडाइलगायतका विषमया उनी चर्चाको विषय बने, जसरी अहिले ट्रयापमा परेर निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रममा बजेट छुट्याएको भन्ने प्रतिक्रियापछि चर्चामा छन्।

२०७४ फागुन महिनामा सरकार गठनका लागि बहस तथा छलफल जारी थियो। सबैको चासोको विषय अर्थ मन्त्रालय बनेको थियो। तत्कालीन एमालेका चार पात्रले अर्थ मन्त्रालय आफूले पाउनुपर्ने लविङ गरेका थिए।

यसअघि केपी शर्मा ओलीकै नेतृत्वमा अर्थमन्त्री भएका विष्णु पौडेल, तत्कालीन महासचिव ईश्‍वर पोखरेल, नेता सुरेन्द्र पाण्डे र प्रदीप ज्ञवाली अर्थमन्त्री बन्न लविङ गरिरहेका थिए। तर अन्तत: अर्थमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना विश्‍वासयोग्य अर्थ विज्ञ डा. खतिवडालाई नियुक्त गरे।

 यसरी पार्टीका झण्डै आधा दर्जन आकांक्षीलाई पछि पारेर अर्थमन्त्री भएसँगै खतिवडा चर्चामा छन्। उनले बोलेका धेरै कुरा चर्चाको उचाइमा पुग्ने गरेका छन्।

शेयर बजार, बजार अनुगमन, भन्सार कडाइलगायतका विषमया उनी चर्चाको विषय बने, जसरी अहिले ट्र्यापमा परेर निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रममा बजेट छुट्याएको भन्ने प्रतिक्रियापछि चर्चामा छन्।

प्रतिपक्षले विरोध गर्ने अवसर भने खतिवडाले जारी गरेको श्‍वेतपत्रपछि मात्रै पाए। उनले अनुकूल तथ्यांक प्रयोग गरेर श्‍वेतपत्र ल्याएको भन्दै प्रतिपक्षी सांसदहरू श्‍वेत्रपत्रको विरोधमा लागे।

त्यस्तै, अर्थमन्त्रीले तय गरेर सरकारले राष्ट्रपतिमार्फत ल्याएको नीति तथा कार्यक्रममा पनि प्रतिपक्षले आलोचना गरे। सत्ता पक्षले भने 'प्रतिपक्षले धर्म निभाएको' भनेर बचाउमा एक भए। अर्थमन्त्रीले जारी गरेको श्‍वेतपत्रमा पनि तत्कालीन माओवादी र एमाले सांसदहरू एक भएर बचाउमा लागेका थिए।

तर बजेट सार्वजनिक भएपछि प्रतिपक्षले उठाएको प्रश्‍नमा अर्थमन्त्री नबोली सत्ता पक्षीय सांसदले जवाफ दिने प्रयास गरे तापनि प्रतिपक्ष भन्दा सत्ता पक्षको असन्तुष्टि बढी देखिएको छ। 

सत्ता पक्षको आलोचना

बजेटमाथिको छलफलमा नजानिँदो शैलीबाट प्रतिपक्षको प्रशंसा र सत्ता पक्षको अवरोध जस्तै भएको छ, अर्थमन्त्री खतिवडालाई। भलै, बजेट ठीक भनेर सत्ता पक्ष सांसदले भन्न सकेका छैनन्।

बजेटमा धेरै कार्यक्रम छरिएको संघीयता कार्यान्वयनमा गम्भीर नभएको लगायतका विषयमा प्रतिपक्षले बढी टिप्पणी गरेका छन्। यिनै विषयमा सत्तापक्षको समेत टिप्पणी रहेको छ।

तर सत्ता पक्षको टिप्पणी बढी भने निर्वाचन क्षेत्र विकास कार्यक्रममा स्थानीय तहसँगको समन्वयलाई लिएर गर्नुपर्नेमा छ। यसै विषयमा संसदमा सांसद आक्रोशित मात्रै भएका छैनन्, आँखामा पिलपिल आँसु लिएर बोलेका छन्। साथै अर्थमन्त्री खतिवडाले निर्वाचन क्षेत्र विकास कार्यक्रम दोहोरो ट्र्यापबाट आएको भन्ने विषयमा दिएको अभिव्यक्तिलाई लिएर सत्ता पक्ष सांसदले र्‍याखर्‍याखती पारेका छन्।

बिहीबारको संसद बैठकमा सांसद गजेन्द्रबहादुर महतले आँखाभरी आँसु लिएर सांसदको अपमान गर्न खोजिएको बताए। त्यस्तै, सांसद रामकुमारी झाँक्रीले अर्थमन्त्रीको अभिव्यक्तिमाथि कडा आपत्ति जनाइन्।

त्यसो त कांग्रेस सरकारमा रहँदा धेरै पटक अर्थमन्त्री भएका डा. रामशरण महतले ल्याउने बजेटमा पनि सत्ता पक्षकै सांसदले यसैगरी र्‍याखर्‍याखती पार्ने गरेका थिए। तर कम्युनिस्ट सरकारले ल्याउने बजेटमा सत्तारुढ दलका सांसदले पूर्ण बजेटको बचाउ र प्रतिपक्षको विरोध प्राय: हुने गरेको छ।

शुक्रबार राष्ट्रियसभा र प्रतिनिधिसभा बैठक एकै पटक बसेको थियो। राष्ट्रियसभाका सदस्य रहेका खतिवडा सभामा रहे तापनि प्रतिनिधिसभामा नआएको र आफूहरूले राखेको विषयलाई बेवास्ता गरिएको भनेर समेत आलोचना गर्न भ्याए। नेकपाका सांसद अमनलाल मोदीले बजेट कम्युनिस्ट सरकारले ल्याउने प्रकारको नभएको गर्दै त्यसअनुसार नआएकोमा आपत्ति पनि जनाए। उनले खतिवडा सिधै अर्थमन्त्रीको कुर्सीमा गएका कारण नेताहरूको मर्म अर्थमन्त्रीले नबुझेको समेत आरोप लगाए।

तर अर्थमन्त्री खतिवडाले आफू पूर्ण रूपमा राजनीतिज्ञ भएको दाबी गर्न थालेका छन्। 'विगतमा के थिएँ होइन, अहिले भने राजनीतिज्ञ नै हुँ, नेकपाको सदस्य छु', खतिवडाले मन्त्रालयमा गरिएको कार्यक्रममा भनेका थिए।

तत्कालीन माओवादीमा रहेका मोदीले मात्रै नभई सांसद अग्नि सापकोटाले पनि खतिवडाको आलोचना गर्न भ्याए। वाम गठबन्धनको घोषणापत्र, नीति तथा कार्यक्रम र बजेट हेर्दा बजेटमा केही नभएको र परम्परागत मात्रै रहेको दाबीसमेत गरे। त्यति मात्रै होइन, बजेट संशोधन गरेर पास गर्नुपर्ने सापकोटाको भनाइ छन्। उनले च्याउ लेख्ने ठाउँमा स्याउ लेख्दा पनि सच्याउन आनाकानी गर्न नहुने तर्क गरे। सापकोटकाले राजनीतिक गतिशीलता बजेटले नबुझेको दाबीसमेत गरे।

किन सत्तापक्षको बढी आलोचना?

त्यसो त कार्यकर्ताको घरदैलो गरेर लामो समय राजनीतिमा लागेका नेताहरूलाई कुनै क्षेत्रको विज्ञ आएर लाभको पद खाँदा स्वाभाविक आक्रोश हुने गरेको समेत बताउँछन् राजनीतिक विश्‍लेषकहरू। दुवै सदनमा आफूमाथिको आक्रोश मात्र देखेका खतिवडाले आफू उपस्थित राष्ट्रियसभामा सांसद कोमल वलीले बजेट यथार्थपरक र गफ नगरी काम गर्ने प्रकृतिको भएको भन्दै प्रशंसा गरेपछि खतिवडाको अनुहारमा आएको मुस्कान हेर्नलायक बन्यो।

तर राजनीतिक विश्लेषक हरि रोका भने बजेटमा पर्याप्त टिप्पणी गर्ने ठाउँ भएकाले सांसद विरोध गर्न बाध्य भएको दाबी गर्छन्। 'समर्थन गर्न पनि त केही आधार चाहियो नि', रोकाले भने, 'यो बजेटमा पर्याप्त कमजोरी रहेका छन्।'

उनले बजेट ककटेल भएको समेत बताए। 'यस बजेटलाई न समाजवादी भन्न सकिन्छ, न संघीयता केन्द्रित भन्न सकिन्छ, पुँजीवादी भन्नेजस्तो पनि छैन', रोकाले भने, 'बजेट त पंचायतवादी जस्तो छ अनि टिप्पणी गर्नै पर्‍यो नि।'

रोकाले अर्थमन्त्री र प्रधानमन्त्रीको क्षेत्र, जिल्ला र प्रदेश हुँदै बजेटको प्राथमिकीकरण भएको समेत आरोप लगाए।

अर्थविद् डा. विश्‍व पौडेल बजेटमा अनुशासन नाघ्न खोज्दा सत्ता पक्षीय सांसद नै अर्थमन्त्रीमाथि आक्रोशित भएको बताउँछन्। 'अझै पनि केही कार्यक्रम सांसदलाई हरेर मात्रै दिइएको छ, त्यो गर्नु राम्रो थिएन तर अझै पनि पुगेन भनेर आक्रोशित भएको देखिन्छ'।

उनले सत्ता पक्षीय सांसदले भनेजस्तै घोषणापत्र र बजेटमा आकाश पातलको फरक रहे तापनि बजेटले धरातल खोज्ने प्रयास गरेको समेत बताए। वित्तीय अनुशासनको केही पालना गराउन खोज्दा अर्थमन्त्रीमाथि बढी आलोचना भएको पौडलको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.