पोखरेल र बाँस्कोटालाई ‘सरप्राइज’

|

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारमा हालसम्म कोही उपप्रधानमन्त्री थिएनन्। मन्त्रिपरिषद् विस्तार भएको चार महिना हुनै लाग्दासमेत ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्री नरहने चर्चा थियो। तर चौथो पटकको मन्त्रिपरिषद् विस्तारको क्रममा भने दुई उपप्रधानमन्त्री नियुक्त भएका छन्। 

संघीय समाजवादी फोरम नेपाललाई सरकारमा ल्याउन सत्तारुढ दलले निकै प्रयास गर्दासम्म उपप्रधानमन्त्री दिने चर्चा थिएन। फोरम अध्यक्ष उपेन्द्र यादवले पटक पटक उपप्रधानमन्त्री माग्दासमेत सरकार सहमत भएको थिएन। त्यसपछि स्वास्थ्य तथा जनसंख्यामन्त्रीमै भए पनि फोरम अध्यक्ष यादव सरकारमा जान तयार भए। पार्टीबाट मन्त्रीको नाम अन्तिम टुंगो लगाउँदासम्म यादव उपप्रधानमन्त्री हुने टुंगो थिएन।

पार्टीबाट मन्त्रीको शपथ लिन तयार भए अध्यक्ष यादव र मोहम्मद इस्तियाक राई। उनीहरू आफ्नो पार्टीबाट निर्णय लिएर शपथ ग्रहणका लागि राष्ट्रपति निवास शीतल निवास पुगे। तर शीतल निवास पुग्दा अध्यक्ष यादवले ‘सरप्राइज’ पाए। मन्त्रीको शपथ लिन बोलाइएका यदवलाई उपप्रधानमन्त्री बनाइयो। उनले उपप्रधानमन्त्रीसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाए। 

यसअघि यादव उपप्रधानमन्त्री हुँदै छन् भन्ने राष्ट्रपतिको कार्यालयलाई समेत थाहा रहेनछ। मन्त्रीले शपथ ग्रहण गर्नुअघि मात्र राष्ट्रपतिको कार्यालयबाट जारी गरिएको विज्ञप्तिमा यादवको पद स्वास्थ्य तथा जनसंख्यामन्त्री थियो। यसअघि यो मन्त्रालय प्रधानमन्त्री आफैँले राखेका थिए। फोरम अध्यक्ष यादव सरकारमा जाने भएपछि उनलाई प्रधानमन्त्रीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिए। 

यस्तै, रक्षामन्त्री ईश्वर पोखरेलले समेत प्रधानमन्त्री ओलीबाट ‘सरप्राइज’ पाएका छन्। उनी पनि उपप्रधानमन्त्रीमा बढुवा भए। अर्का एक मन्त्रीले पनि सरप्राइज पाए। संचार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटा पनि राज्यमन्त्रीबाट संचार तथा सूचना प्रविधिमन्त्रीमा बढुवा भए। फोरमबाटै सरकारमा गएका राईले भने शहरी विकासमन्त्रीको जिम्मेवारी सम्हालेका छन्।

शपथ हुनुभन्दा केही बेरअघि राष्ट्रपतिको कार्यालयबाट जारी गरिएको विज्ञप्तिभन्दा त्यसपछि जारी गरिएको विज्ञप्ति फरक देखियो। सुरुमा दुई मन्त्रीको जिम्मेवारीसहित विज्ञप्ति जारी गरियो पछि दुई उपप्रधानमन्त्री थपिएसँगै सबै मन्त्रीको जिम्मेवारीसहितको विज्ञप्ति जारी गरियो। फोरमबाट दुई जना मन्त्री थप भएसँगै ओली नेतृत्वको सरकार २४ सदस्यीय भएको छ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, सरकारका उच्च पदस्थ कर्मचारीहरूको सहभागिता रहेको थियो। नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराइन्। 

किन राखियो उपप्रधानमन्त्री?

ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्री नराख्ने यसअघि अनौपचारिक छलफल भएको थियो। त्यहीअनुसार ओली सरकारमा हालसम्म उपप्रधानमन्त्री थिएनन्। तर फोरम सरकारमा जानेवित्तिकै दुई जनालाई उपप्रधानमन्त्री बनाइयो।

यसको मुख्य कारण मन्त्रीको वरीयता व्यवस्थापन हो। फोरम अध्यक्ष यादव सयअघि दुई पटकसम्म उपप्रधानमन्त्री भइसकेका थिए। रक्षामन्त्री पोखरेलले पनि यसअघि नै उपप्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसकेका थिए। त्यसकारण कसलाई ‘सिनियर’ मान्ने भन्ने सरकारलाई समस्या थियो। स्रोतका अनुसार यादवले आफूलाई प्रधानमन्त्रीपछिको वरीयता चाहिने भनेपछि प्रधानमन्त्रीलाई मिलाउन केही समस्या भएको थियो। 

त्यसपछि ओलीले उपप्रधानमन्त्री राखेर दुई जनालाई मिलाए। ‘उपप्रधानमन्त्री भइसकेका यादवलाई मन्त्रीमा मात्र शपथ ग्रहण गराउन त्यति ठीक नहोला भन्ने भयो। त्यसकारण उपप्रधानमन्त्रीकै जिम्मेवारी दिइएको हो’, स्रोतले भन्नयो। 

यादवलाई उपप्रधानमन्त्री दिएपछि पोखरेलले दोस्रो वरीयता पाउने भएका कारण पनि प्रधानमन्त्री ओलीले दुई जना उपप्रधानमन्त्री थप गरेको स्रोतले बतायो। ‘उपेन्द्र यादवलाई उपप्रधानमन्त्री बनाएपछि यसअघि उपप्रधानमन्त्री भइसक्नुभएका ईश्वर पोखरेल पनि उपप्रधानमन्त्री नै हुनुहुने भयो। त्यसो गर्दा उपेन्द्र यादव पनि तेस्रो वरीयतामा बस्न तयार हुने हुनुभयो। त्यसकारण उपप्रधानमन्त्री बनाइएको हो।’ 

उपप्रधानमन्त्री थप गरेपछि पनि प्रधानमन्त्रीपछिको वरीयतामा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल छन्। त्यसपछिको वरीयतामा जनसंख्या तथा वातावरणमन्त्री यादव छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.