|

काभ्रेपलाञ्चोक : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारको ध्यान आर्थिक समृद्धितर्फ केन्द्रीत भएको बताएका छन्। शनिबार काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकास्थित ढुंखर्कमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना आलु सुपरजोन समिति बेथानचोक समन्वय समिति ढुंखर्कले आयोजना गरेको ‘प्रथम काभ्रे आलु महोत्सव २०७५’ को उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले देशलाई आत्मनिर्भर बनाउनका लागि कृषि नै पहिलो आधारशीला भएको बताएका हुन्।

मन्त्री बाँस्कोटाले अब राजनीतिक पार्टीहरू पनि आपसमा आरोप प्रत्यारोप छोडेर बेथितिविरुद्ध एउटै आवाजसहित सहकार्य र उत्पादनतर्फ लाग्नुपर्ने बताए।आर्थिक विकासकै लागि यसै आर्थिक वर्षको बजेटमा कृषि, पर्यटन, उर्जा र यातायात गरी चारवटा पिलरलाई लिएर विकासको गतिमा अगाडि बढाउँने सरकारको योजना रहेको उल्लेख गरे। संसार नै सूचना प्रविधिको युग भएकाले कृषि, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा प्रविधिको प्रयोग गरेर आमूल परिवर्तन गर्न सरकार लागी परेको उनको भनाई छ।

मन्त्री बाँस्कोटाले प्राकृतिक स्रोत साधन तथा मानवीय क्षमताको प्रयोग गरेर देशलाई आर्थिक रुपमा सवल बनाउन सकिने र आर्थिक रुपले सवल भएमा मात्रै अरुले हेप्न नसक्ने बताएका छन्। ‘यो युग नव निर्माणको युग हो’, उनले भने। देश धनी भए राजनीतिक मुद्दा कमजोर हुँदै जाने भएकाले त्यसतर्फ सबै लागेको उनको भनाई छ। उनले बजेटले ठाउँ, जनसंख्या, मानव विकासको सूचकांक र पछि परेकाहरूलाई लक्षित गरी प्रस्तुत गरेको बताए। विकासको लागि दुर्गम क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने योजना बनाएको बाँस्कोटाको भनाई छ।

किसानहरू तरकारीको सिन्डिकेटले मारिएको अवस्था सरकारलाई राम्रोसँंग थाहा भएकोकाले त्यसका निम्ति सरकारले केही गर्न सोचिरहेको उल्लेख गरे। मन्त्री बाँस्कोटाले जनताले बनाएको सरकार र छानेको प्रतिनिधि अर्को चोटी आउँदा शिर निहुर्‍याएर आउने वातावरण बन्न नदिने ठोकुवा गरे। मन्त्री बाँस्कोटाले काभ्रेमा स्थापना भएर बर्षौदेखि नचलेको सूचना प्रविधि (आईटी) पार्कमा हजारौं विद्यार्थीले पढ्न पाएको र सयौंले जागिर पाएको केन्द्र बताउने बताए। 

कार्यक्रममा बेथानचोक गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले किसानहरूलाई व्यवसायीकरण गर्न सरकारले जोड दिनुपर्ने बताए। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना आलु सुपरजोनको कार्यालय बनेपाका प्रमुख किशोर पन्तले बाहिर देशबाट भित्रिएको आलुसँग प्रतिस्पर्धा गर्न व्यवसायिक खेतीतर्फ किसानलाई डोर्‍याउनको लागि आलु सुपरजोनले काम गरिरहेको बताए। 

जिल्लाका किसानहरूले बीस वर्ष अगाडिदेखिको आलुको वीउ प्रयोग गर्दै आएको ढुंखर्क क्षेत्र आलुको बीउ उत्पादनको लागि निकै उपयुक्त क्षेत्र भएकोले पनि बेथानचोकमा आलु महोत्सव गरी किसानलाई आकर्षण गर्न सो महोत्सव आयोजना गरिएको उल्लेख गरे। सो क्रममा आलु खेती गर्ने किसानहरू मध्येका उत्कृष्ट पाँच जनालाई नगदसहित सम्मान गरिएको छ। सम्मानित हुनेहरूमा पाँचखालका यावदप्रसाद अधिकारी, बनेपाका राजेशप्रसाद श्रेष्ठ, बेथानचोकका कृष्णप्रसाद तिमल्सिना, भक्तपुरका शेखरप्रसाद दुलाल र पनौतीका देवकृष्ण मानन्धर रहेका छन्।

महोत्सवमा आलुका विभिन्न परिकारहरू, कृषिसम्बन्धी बृत्तचित्र प्रदर्शनी, कृषि औजार प्रदर्शनी र बाली उपचार शिविर तथा कृषिसम्बन्धी दोहोरी गीत लगायत रहेको थियो।


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.