|

रौतहट : सदरमुकाम गौरलगायत जिल्लाका अधिकांश सीमा क्षेत्रमा निर्वाध रूपमा भारतीय नम्बरका सवारी साधनहरू चलिरहेका छन्। भारतीय नागरिककै नाममा रहेका ती भारतीय गाडीहरू निर्वाध सञ्चालनमा आइरहेका छन्। 

अवैध रूपमा भारतीय सवारी साधन खुलमखुला गुडिरहँदा पनि नियमन गर्ने निकाय मौन छ। नियामक निकाय राजस्व अनुसन्धान इकाई कार्यालय, प्रहरी, भन्सार र स्थानीय प्रशासन हुन्। यी निकायले देखेर पनि नदेखे झैं गरेर बसेको पाइन्छ।

प्रमुख र उपप्रमुख भारतीय गाडीमा 

रौतहटका १८ स्थानीय तहमध्ये १२ वटा स्थानीय तहका नगर प्रमुख तथा उपप्रमुखहरूले भारतीय नम्बर कै सवारी साधन चलाइरहेका छन्। चन्द्रपुर, गरुडा र गौर, गुजरा र गडीमाई नगरपालिकाको नगरपालिकाको आफ्नै पुरानो गाडी छ। दुर्गा भगवती गाउँपालिकाका प्रमुख मोटरसाइकलमै हिँड्ने गरेका छन्। यीबाहेकका एक गाउँपालिका र ११ नगरपालिका गरी १२ वटा स्थानीय तहका प्रमुखले भारतीय नम्बरको सवारी साधन प्रयोग गर्दै आएका छन्। 

नेपाली सवारी साधनको तुलनामा भारतीय सवारी साधन सस्तो भाडामा पाइने भएकाले भारतीय नम्बरको सवारी साधन प्रयोग गरेको एक नगर प्रमुखले बताए। यस क्षेत्रका विवाह, राजनीतिक कार्यक्रमलगायत हरेक कार्यक्रमहरूमा अवैध रूपमा भित्रिएका भारतीय नम्बर प्लेटका सवारी साधनहरु प्रयोग हुँदै आएका छन्। 

सीमा क्षेत्रका गौर, राजदेवी र बौद्धिमाई नगरपालिका तथा यमुनामाई, दुर्गाभगवती गाउँपालिकाका अधिकांश स्थानियवासीले भारतीय नम्बरको मोटरसाइकल र चार चक्के सवारी साधन प्रयोग गर्दै आएका छन्।

तस्करीमा प्रयोग

सीमा क्षेत्रमा हुने तस्करीमा भारतीय नम्बरका सवारी साधन प्रयोग हुने स्थानीयहरू बताउँछन्। केही समयअघि गौर नगरपालिका–३ का सन्नी ज्वेलर्सका सञ्चालक सन्नी कुमारले बीआर ३० केयु ३३८२ मारुती स्वफट अवैध भारतीय नम्बरको जिपमा नौ किलो ६०० ग्राम चाँदी भारतबाट नेपाल भित्र्याएका थिए।

चाँदीका गरगहना भारतीय बजारबाट लिएर गौरतर्फ आउने क्रममा सीमावर्ती क्षेत्र बैरगनिया बोर्डरमा खटिएका भारतीय सुरक्षा बल एसएसबीले उक्त चाँदी बरामद गरेको थियो। जिल्लाका लक्ष्मीपुर बेबिछुअवा नाका, गौर नाका, औरैया नाका, रामपुरखाप नाका, बंकुल नाकालगायतका नाकाबाट यस्ता सवारी साधनबाट तस्करी भइरहेका प्रहरीले बताए।


यसो भन्छ प्रशासन

जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल कसैले पनि अवैध रूपमा सवारी साधन चलाउन नपाइने र चलाएको भेटिएमा कारबाही हुने बताउँछन्। नियमभन्दा बाहिर सवारी साधन चलाउने अधिकार कसैलाई नभएको हुँदा अनुगमन गरी त्यस्तो सवारी साधनलाई कारबाही गर्नेबारे छलफल भइरहेको उनले बताए।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक रविन्द्र केसीले अवैध रूपमा भित्रिएका सवारी साधन नियन्त्रणबारेमा गहन छलफल गरेर अगाडि बढ्ने बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.