|

सिन्धुपाल्चोक : बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ 'ब्रेकथ्रु' भएको एक महिना पूरा भइसकेको छ। सुरुङको काम सकिएर 'ब्रेकथ्रु' भए पनि सुरुङ 'फिनिसिङ'को काम भने सोचेअनुरूप हुन नसकेको आयोजनाले जनाएको छ। 

२६ किलोमिटर लामो सुरुङको सबैभन्दा जटिल सुरुङ छेड्ने काम सकिएकाले मेलम्ची खानेपानी आयोजना र सुरुङ निर्माणमा संलग्न इटालियन ठेकेदार कम्पनी सिएमसी फाइलन फिनिसिङको काममा केन्द्रित भएको समेत जनाएको छ। 

सुरुङमार्गको फिनिसिङमा साढे तीन महिना समय लाग्ने अनुमान गरिएकोमा गत बिहीबारसम्ममा चार हजार ४४० मिटर मात्रै फिनिसिङको काम सकिएको मेलम्ची खानेपानी आयोजनाका सूचना अधिकृत राजेन्द्र पन्तले थाहाखबरलाई जानकारी दिए। 

‘चार वर्षमा सक्ने लक्ष्य राखेर खन्न थालिएको मुहानस्थल अम्बाथान–सुन्दरीजल सुरुङमार्ग भाका सार्दै सात वर्षमा मात्रै चैत २७ गते प्राविधिक रूपमा सकिएको थियो। अहिले सुरुङ फिनिसिङको काम पनि तीन महिनामा सक्ने भनिएको छ। निर्माण कम्पनीले सोचेअनुरूप काम गर्न सकेको छैन। त्यसैले मेलम्ची खानेपानी आयोजना पूरा हुने मिति अनिश्चित बन्दै गएको छ’, उनले भने। 

तीन अडिटमार्गका सातमध्ये एकसाथ छ स्थानबाट ढलानको काम थाल्ने कार्ययोजना ठेकेदारले पेस गरेको थियो तर अहिले तीन ठाउँबाट मात्रै ढलानको काम भइरहेको अधिकृत पन्तको भनाइ छ। 

आगामी दशैँयता काठमाडौंमा मेलम्चीको पानी पुग्नका लागि अहिले छ ठाउँबाट दैनिक ६० मिटर ढलान गर्नुपर्ने हुन्छ। तर निर्माण कम्पनीले काम सुरु गरेको एक महिनामा जम्ममा एक दिन मात्रै ६० मिटर ढलान गरेको छ। निर्माण कम्पनीको ढिलासुस्तीका कारणले आगामी दशैँमा काठमाडौंबासीलाई मेलम्चीको पानी उपहार दिने सरकारको योजना पछि धकेलिँदै गएकोे छ। 

‘तोकिएको समयमा काम सक्न छ ठाउँबाट ढलानको काम सुरु गर्नुपर्ने र दैनिक ६० मिटरभन्दा धेरै काम सक्नुपर्ने हुन्छ तर निर्माण कम्पनीले हालसम्म जम्मा एक दिन मात्रै ६० मिटर गरेको छ। अहिले विस्तारै कामको गति घट्दै छ। पछिल्लो समय २२ मिटर मात्रै ढलान गर्नेसम्मको काममा ढिलासुस्ती भएको छ’, उनले भने। 

आयोजनाका अनुसार सुरुङमार्गलाई पानी ओसार्ने हातलमा पुर्‍याउनुअघि सुरुङको जमिन सम्याउनुपर्नेछ। त्यसपछि सुरुङको गोलो भागमा लामालामा छड तेर्स्याएर ढलान गरिनेछ। साथै डेढ किलोमिटर लामो अडिट सुरुङसमेत ढलान गरेर त्यहाँ ढोका बन्द गर्नुपर्नेछ। सिन्धु, ग्याल्थुम र अम्बाथनमा तीन अडिटमार्ग छन्। 

मुख्य सुरुङ खनिने क्षेत्रमा पुग्न अडिट सुरुङ खनिएको थियो। यी काम सकेपछि मात्र सुरुङको फाइलन फिनिसिङ सम्पन्न हुनेछ। पहिलो चरणमा मेलम्चीबाट राजधानी पुग्ने दैनिक १७ करोड लिटर पानी प्रारम्भिक संकलन र उपचार गर्न सुन्दरीजलमा साढे आठ करोड लिटर क्षमताको प्रशोधन केन्द्र निर्माण भइसकेको छ।

रोयल्टीको विषयमा छलफल

मेलम्ची खानेपानी आयोजनाको सुरुङ ‘ब्रेकथ्रु’ भएसँगै प्रभावित क्षेत्रका बासिन्दालाई रोयल्टी दिन सरकारले छलफल सुरु गरेको जनाइएको छ। मेलम्चीको पानी लैजानुपूर्व नै रोयल्टी निर्धारण गर्न प्रभावित बासिन्दाले सुरुदेखि नै माग गर्दै आएका थिए। चैत २९ गते मेलम्चीमा सुरुङ औपचारिक ब्रेकथ्रु घोषणा कार्यक्रममा समेत स्थानीयले रोयल्टी तय गर्न माग गरेका थिए।  

खानेपानी मन्त्रालयले रोयल्टीबारे छलफल सुरु गरिसकेको आयोजनाले जनाएको छ। रोयल्टीबारे प्रारम्भिक प्रतिवेदन मन्त्रालयमा समेत पुगिसकेको छ। मन्त्रालयले करिब छ महिनाअघि रोयल्टीबारे अध्ययन गरी प्रतिवेदन पेस गर्न काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जीवविक्रम राणाको संयोजकत्वमा समिति गठन गरेको थियो।

अध्ययनपछि उक्त समितिले मन्त्रालयमा प्रारम्भिक प्रतिवेदन मस्यौदा पेससमेत गरिसकेको छ। प्रतिवेदन अध्ययनपश्चात मन्त्रालय विज्ञसहितको अझ ठूलो समिति बनाएर विस्तृत अध्ययन गर्ने निर्णयमा पुगेको छ। खानेपानीको क्षेत्र हेर्ने आयोगका सदस्यको संयोजकत्वमा विज्ञ सम्मिलित टोली बनाई काम थाल्न परिपत्रसमेत भइसकेको आयोजनाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.