|

विराटनगर : ३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा संलग्न भनिएका फरार अभियुक्त छिरिङ वाङ्गेल (घले) पूर्पक्षका लागि जेल चलान भएका छन्।आइतबार मोरङ जिल्ला अदालतमा आत्मसमर्पण गरेका घलेलाई अदालतका न्यायाधीश नारायणप्रसाद शर्माको इजालसले पूर्पक्षका लागि जेल पठाएको हो।

मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मनोजकुमार केसीका अनुसार कार्यालय खुलेलगत्तै घलेले आत्मसमर्पण गरेका थिए। त्यसपछि अदालतले उनको बयान लिएको थियो। बयानपछि थुनछेक बहस भएकोमा अदालतले पूर्पक्षका लागि उनलाई थुनामा पठाएको हो।

अभियुक्त घले अर्का अभियुक्त भनिएका राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङका नातामा ‘सालो’ भएको बताइएको छ। सुन काण्डका मुख्य अभियुक्त चूडामणि उप्रेती 'गोरे'ले छिरिङ पनि सुन तस्करीमा संलग्न रहेको बयान दिएका थिए। यसअघि गत बिहीबार सुन काण्डमा मुछिएका वरिष्ठ प्रहरी उपरीक्षक श्याम खत्रीले पनि अदालतसामु आत्मसमर्पण गरेका थिए। 

अदालतलाई दिएको बयानमा घलेले घटनामा संलग्नता नरहेको भन्दै इन्कारी बयान दिएका छन्। उनले आफूमाथि लागेका सबै आभियोग अस्वीकार गरेका छन्। भुजुङ गुरुङ नाताले भिनाजु पर्ने भए पनि सुन तस्करीमा आफ्नो संलग्नता नभएको उनले बताएका छन्।

मुख्य अभियुक्त चूडामणि उप्रेती 'गोरे'सँग भने चिनजान नै नभएको घलेले दाबी गरेका छन्, जबकि गोरेले सुन तस्करीको नेपालमा सेटिङ मिलाउने मुख्य व्यक्ति छिरिङ भएको र उनकै मातहत बसेर आफूले भरियाको नेतृत्व गरेको बयान दिएका थिए।

छिरिङले भने आफू सुन तस्करीमा संलग्नै नभएको दाबी गरेका छन्। साढे ३३ किलो सुन हराएपछि भने गोरे र उनका केटाहरूलाई दुई पटक बोलाएर सोधपुछ गरेको स्वीकार गरेका छन्। तिलगंगा नजिकै एक होटलमा भएको सोधपुछका क्रममा गोरेकै दबाबमा आफूले भुजुङलाई फोन गरेको उनको बयान छ।

गोरे समूहका मानिसहरूले भन्ने गरेको डा. डेविट आफू नभएको दाबी गर्दै छिरिङले गोरेले अदालतमा उसको समूहका मानिसलाई बचाएर आफूलाई फसाउन खोजेको बताएका छन्। छिरिङले भुजुङसँग हाइड्रोको शेयरमा भने आफूले कारोबार गरेको स्वीकार गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.