|

दार्चुला ः बहुमुखी क्याम्पस खलंगा दार्चुलालाई सुदूरपश्चिम विश्वविद्यालयमा हस्तान्तरण गर्ने निर्णय गरिएको छ। त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिई २०५९ सालमा स्थापित क्याम्पसलाई जेठ २२ गते बसेको क्याम्पस सञ्चालक समितिको बैठकले सुप विश्वविद्यालयमा हस्तान्तरण गर्ने निर्णय गरेको हो।
सुदूरपश्चिमका १५ वटा क्याम्पसलाई सुप विश्वविद्यालय क्याम्पसका आंगिक क्याम्पस बनाउने अर्थात सुप विश्वविद्यालयमा समायोजन गर्ने प्रक्रिया चलिरहेको बेला क्याम्पसको चल अचल सम्पत्ति, नगद र बैंक मौजदात र जनशक्ति हस्तान्तरण गर्ने निर्णय गरिएको क्याम्पस प्रमुख कृष्णसिह साउँदले जानकारी दिए।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष दयाकृष्ण पन्तको अध्यक्षतामा आयोजना गरिएको उक्त बैठकमा जिल्ला समन्वय समितिका अध्यक्ष करबीरबहादुर कार्की प्रमुख अतिथि रहेका थिए भने संस्थापक सदस्य रामदत्त जोशीसहित सञ्चालक समितिका सदस्यहरुको बैठकका उपस्थिति रहेको थियो ।
बैठकले करिब २५ करोड बराबरको चलअचल सम्पत्ति, १० प्राध्यापक, छजना सहायक प्राध्यापक र सातजना कर्मचारीलाई सुप विश्वविद्यालयमा हस्तान्तरण गर्ने निर्णय गरेको हो। यो निर्णयसँगै क्याम्पसले आगामी शैक्षिक सत्रबाट सुदूपश्चिम विश्वविद्यालयको पाठ्यक्रम कार्यान्वयन गर्ने छ।
विश्वविद्यायका थप कार्यक्रम सञ्चालन गर्न, कक्षा कोठा थप्न, भवन निर्माण गर्न, थप जग्गा उपलब्ध गराउन र छात्राबास निर्माण गर्न जिल्ला समन्वय समितिको कार्यालय दार्चुला, जिल्लाका सम्पूर्ण गाउँपालिका र नगरपालिकाका साथै संघीय तथा प्रदेश सभासद्हरुलाई अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ।
बैठकले महाकाली नगरपालिका वडा नम्बर १ सल्याडीमा रहेको जमिनमा सुप विश्वविद्यालयको सहयोगमा निर्माण हुन गइरहेको भवन निर्माणमा थप वजेट विनियोजन गर्न ७ नम्बर प्रदेश सरकारलाई प्रदेश सरकार कै वजेटमा राख्न माग गर्ने निर्णय गरिएको छ।

क्याम्पस सुप विश्वविद्यालयमा समायोजन भई सकेकाले समय सुहाउँदो नवीन विषयहरु अध्यापन कार्य सुरु गर्ने योजनामा क्याम्पस रहेको क्याम्पस प्रमुख कृष्णसिह साउँदले जानकारी दिनुभएको छ । दार्चुला बहुमुखी क्याम्पसले निकट भविष्य मै वन विज्ञान, सञ्चार प्रविधि र सञ्चार व्यवस्थापन जस्ता विषयहरुका अध्यापन सुरु गराउने योजना बनाएको प्रमुख साउँदको भनाई छ ।

क्याम्पसमा शिक्षाशास्त्र, व्यवस्थापन र मानविकी संकायका स्नातक कक्षा र शिक्षाशास्त्रका स्नातकोत्तर तहका कक्षा सञ्चालित छन् । जिल्ला सदरमुकाममा रहेको जिल्ला कै अग्रणी क्याम्पसका रुपमा रहेको क्याम्पसमा हाल करिब साढे ४ सय विद्यार्थी अध्ययनरत छन् ।

अध्यक्षको विशेष धन्यवाद
जनताको सहकार्यमा स्थापित क्याम्पसलाई यो अवस्थासम्म ल्याई पुर्याउने सम्पूर्ण राजनीतिक दलका नेता कार्यकर्ता, समाजसेवी, शिक्षाप्रेमी, सञ्चालक समितिका सदस्यहरु, शिक्षक प्राध्यापक, कर्मचारी, विद्यार्थी र सम्पूर्ण जिल्लाबासीलाई सञ्चालक समिति अध्यक्ष दयाकृष्ण पन्तले विशेष धन्यवाद दिनुभएको छ ।
जिल्ला कै पहिलो एस्एल्सी अध्यक्ष दयाकृष्ण पन्त क्याम्पस स्थापना कालदेखि अध्यक्ष रहँदै आएका छन् । २०२१ सालमा दार्चुलाका १० जनासँगै डडेल्धुरामा एस्एल्सी दिन पुगेका तत्कालीन शंकरपुर गाविसका पन्तले मात्रै सो वर्षको एस्एल्सी उत्तीर्ण गरेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.