|

विभागीय टिम त्रिभुवन आर्मी प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको समूह ए को विजेता बनेको छ। टियू मैदान कीर्तिपुरमा भएको खेलमा उपाधिका दाबेदार एपीएफलाई ७० रनले पराजित गरेपछि आर्मी समुह विजेता बन्न सफल भएको हो। दुवै टिम यसअघि नै सेमिफाइनल प्रवेश गरेका थिए।

वर्षाका कारण ४० ओभरमा छोट्याइएको खेलमा टस हारेर पहिलो ब्याटिङ गरेको आर्मीले ओपनर अनिल मण्डल र कप्तान बिनोद भण्डारीको अर्धशतकीय इनिङमा निर्धारित ४० ओभरमा सम्पूर्ण विकेट गुमाएर २२८ रन बनाएको थियो।

आर्मीका लागि मण्डलले ९९ बल खेलेर सात चौकाको सहयोगमा ७२ रनको पारी खेल्दा सागर पुनले ४६ तथा नरेशले बुढाएेरले ३७ रन बनाए। चौथो नम्बरमा ब्याटिङमा आएका कप्तान विनोद भण्डारीले फेरि एक पटक विष्फोटक पारी खेल्दै २२ बलमा अर्धशतक पूरा गरेका थिए। एपीएफका भुवन कार्कीले तीन विकेट लिए पनि ठूलो स्कोर रोक्नका लागि पर्याप्त भएन।

२२९ रनको विजय लक्ष्य लिएर मैदानमा उत्रिएको एपीएफ ३२ ओभर पाँच बलमा १५८ रन मात्र बनाउन सक्यो। एपीएफका कुनै पनि ब्याट्सम्यानले संयमित पारी खेल्न सकेन। उसका लागि रोहितकुमार पौडेलको २८ रन सर्वाधिक रनका रुपमा रह्यो।

एपीएफलाई सस्तैमा समेट्न आर्मीका सोमपाल कामीले तीन विकेट लिँदा शुसान भारी, सागर पुन र साहव आलमले समान दुई दुई विकेट लिए। आर्मीका अनिल मण्डल खेलको म्यान अफ द म्याच चुनिए।

पुलिस सेमिफाइनल नजिक

मंगलबार नै मुलपानी मैदानमा भएको अर्को खेलमा प्रदेश ३ लाई छ विकेटले पराजित गर्दै नेपाल पुलिस क्लब सेमिफाइनल नजिक पुगेको छ। जितपछि पुलिसको पाँच अंक भएको छ भने प्रदेश ५ र ७ को पनि समान पाँच अंक रहेको छ। बुधबार हुने प्रदेश ५ र पुलिसबीचको खेलले सेमिफाइनलमा पुग्ने दुई टिमको टुंगो लाग्ने छ।

बुधबारको खेलमा पुलिस वा प्रदेश ५ ले ठूलो अन्तरको जित हासिल गरेको खण्डमा प्रदेश ७ को पनि सेमिफाइनल पुग्ने सम्भावना कायमै छ। प्रदेश ७ ले समूह चरणका चारै खेल खेलिसकेको छ। वर्षाका कारण २० ओभरमा छोट्याइएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश ३ ले निर्धारित ओभरमा नाै विकेट गुमाएर १३७ रन बनाएको थियो।

जवाफमा पुलिसले अन्तिम बल बाँकी छँदा चार विकेटको क्षतिमा लक्ष्य भेट्टायो। पुलिसका लागि ओपनर सुनील धमला र मध्यक्रमका ब्याट्सम्यान आरिफ शेखले उत्कृष्ट साझेदारी गर्दै टिमको हार टारेका थिए। यी दुईले चौथो विकेटका लागि ११० रनको साझेदारी गरेका थिए।

आरिफले ५४ बलमा दुई छक्का र चार चौकाको सहयोगमा ६० रन बनाउँदा सुनील धमलाले ४६ बलमा तीन छक्का र दुई चौकाको सहयोगमा अविजित ५० रन बनाए। अन्तिम ओभरको दोस्रो बलमा आरिफ क्याचआउट भएपछि आएका पुलिसका कप्तान मञ्जित श्रेष्ठले तीन रन लिँदै जित दिलाउन सफल भए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.