नागरिकता सच्याउन मिल्दैन भन्दै फर्काउछन् सरकारी कर्मचारी

|

गोरखा : नेपालको प्रचलित कानुनअनुसार सामाजिक सुरक्षाअन्तर्गगतको वृद्धभत्ता दलित महिलाहरूले ६० वर्षको उमेरमा पाउँछन्। अन्यले भने ७० वर्षको उमेर नाघेपछि मात्रै पाउँछन्। पुरुषको हकमा पनि उही नियम लागू हुन्छ। तर, यहाँकी एक ३५ वर्षकी महिलाले वृद्ध भत्ता बुझ्न थालेको चार वर्ष भयो।  गोरखा नगरपालिका-९ दल भञ्ज्याङकी राममाया नेपालीले २०७१ सालदेखि वृद्ध भत्ता बुझ्न थालेकी हुन्।

उमेरले ३५ वर्षकी भए पनि नागरिकतामा ७१ वर्षको उमेर भएपछि उनले वृद्ध भत्ता बुझ्दै आएको बताइन्। भत्ता उनलाई कम्ता लाज लाग्दैन। उनले भनिन्। ‘म जन्मेको त २०४० सालमा हो,’ उनले भनिन्, ‘भत्ता त बुझ्छु तर, लाज लाग्छ,सबैले हजुर आमा भनेर जिस्काउँछन्। उमेरले ३५ वर्षको भए पनि भत्ता बुझेपछि हजुरआमा नै भएँजस्तो लाग्छ।’

उनले भत्ता पाउने अधिकार २०७० सालदेखि नै सुनिश्चित भएको थियो। तर, सुरुको एक वर्षमा उनले लाज लागेर भत्ता बुझ्नै नगएको बताइन्। त्यो वर्षको उनको नामको भत्ता कहाँ गयो उनलाई पत्तो छैन। पछिल्लो वर्षहरूमा भने अरूले कर गरेर भत्ता बुझ्न थालेकी हुन्। उनले नागरिकता पनि ३० वर्षको उमेरमा बनाएकी हुन्।

नेपाल सरकारले सुगम ठाउँमा बैंकमार्फत सामाजिक सुरक्षा भत्ता बुझ्ने सुविधा प्रदान गरेको छ। राममायाँले अहिले गोरखा सदरमुकामको कृषि विकास बैंकमार्फत आफ्नो भत्ता बुझ्ने गरेकी छन्।

उनले भनिन् ‘पहिले बैंकमा भत्ता लिन पनि एकदम गाह्रो मानीमानी जान्थेँ’ ‘बैंकका सरहरूले पनि तपाईंभन्दा सानो उमेरका अरूले पनि खाँदै आएका छन्, गाह्रो नमान्नु भनेपछि मलाई पनि लिउँलिउँ लाग्यो लिन थालेँ।’

बुबाको जन्ममिति छोरीकोमा

यस्तै उनले आफूभन्दा कम उमेरका ढुंगागाढे र खोप्लाङका अरूले पनि वृद्धभत्ता खाँदै आएको बताइन्। आफ्नो वास्तविक जन्ममिति २०४० साल भएको मनमायाँ बताउँछिन्। २०६७ सालमा नागरिकता बनाउन वडा कार्यालय जाँदा तत्कालीन गोरखा नगरपालिकाको वडा नं. आठ को कार्यालयले जन्ममिति २००१ साल राखेर सिफारिस बनाइदिएको नेपाली बताउँछिन्।

साधारण लेखपढ मात्र भएकी नेपालीले भनिन्। ‘बुबाको नागरिकतामा उहाँको जन्ममिति २००१ साल रहेछ तर कर्मचारीले सिफारिस बनाउँदा बुबाको जन्ममिति मेरोमा राखिदिएछन्।’

उनको नागरिकतामा जन्ममिति २००१ भदौ १२ गते उल्लेख छ। २०६७ साल कात्तिक १७ गतेको मितिमा बनेको उनको नागरिकतामा तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद भण्डारीको दस्तखत गरेका छन्। उनले त्यो बेला नागरिकता बनाउँदा आफ्नै पति कृष्ण बहादुरको नागरिकताको आधारमा बनाएकी हुन्। तर, जिल्ला प्रशासन कार्यालयका कर्मचारीले गोरखा नगरपालिकाले गरेको सिफारिसको आधारमा बुबाको जन्म मिति राखेर नागरिकता बनाइदिएको राममाया बताउँछिन्।  राममाया साधारण लेखपढ मात्र गर्न सक्छिन्।

सच्याउन मिल्दैन भन्दै फर्काए

जन्ममिति सच्याउन उनी नगरपालिका र जिल्ला प्रशासन  कार्यालय नधाएको पनि होइन। ‘म नगरपालिका र प्रशासनमा पटक-पटक धाएँ उनले भनिन्, ‘जहाँ गए पनि सरहरुले यो सच्याउन मिल्दैन। यसलाई धेरै खोजीनीति नगर्नुस्। तपाईं एउटाको सच्याउन थालियो भने अरू सबैको सच्याउनुपर्छ। त्यसैले चुपचाप लागेर बस्नु भन्दै फर्काउनुभयो।’

नागरिकता त्यति महत्वपूर्ण नभएको भन्दै नागरिकता सच्याइदिन झण्झट मानेको उनले बताइन्। उनले भनिन्, ‘तपाईंलाई किन नागरिकता सच्याउनुपयो? कतै जागिर खानु छैन। विदेश जानुछैन बरु यही जन्ममितिको नागरिकताको आधारमा वृद्धभत्ताको पट्टा बनाइदिन्छौँ। वृद्धभत्ता आउँछ। चुपचाप लागेर यही खानुस् भन्नुभयो’ ‘त्यसैले मैले भत्ता रहरले होइन करले बुझ्दै आएको छु।’ 

यता, गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्त यसबारे तत्काल छानबिन गर्ने बताउँछन्। नागरिकताको जन्ममिति सच्याउन मिल्ने भन्दै प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले आवश्यक कागजात जुटाएर जन्ममिति सच्याइदिने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.