|

काठमाडौं : आइतबार संसद बैठकमा सभामुख ओनसरी घर्तीले शून्य समयमा सांसदहरुलाई बोल्न दिइन्। विशेष समय हटाएर कार्यसूचीमा प्रवेश गरिन्।

संसदको कार्यसूची संवैधानिक व्यवस्था अनुसारका आयोगका विधेयक समितिमा दफावार छलफलका लागि पठाउने प्रस्ताव पारित गर्नमै केन्द्रित रह्यो।

संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले प्रस्तुत गरेको ५ वटै प्रस्ताव पारित गरेपछि संसद बैठक असोज १८ गतेसम्मका लागि स्थगित भयो।

बैठक कक्षबाट बाहिर निस्किएका अधिकांश सांसद दसैँको बेलामा बैठक लम्ब्याउने सभामुख घर्तीको निर्णयप्रति असन्तुष्ट थिए।

बैठक कक्षबाट निस्केर संसदको चमेना गृहमा भेला भएका केही सांसद निर्वाचन क्षेत्रमा दसैँ शुभकामना कार्यक्रम सुरु हुँदा समेत संसद बैठकमा सहभागी हुनुपरेको भन्दै आक्रोश पोखिरहेका थिए। 

चमेना गृहमा गफिँदै गरेका मकवानपुरका ३ का सांसद अनन्त पौडेलले भने- 'बिजनेस नभइकन हाउस लम्बिरहेको छ। निर्वाचन क्षेत्रमा कार्यक्रम सुरु भइसक्यो, जान पाएको छैन', उनले प्रश्न गरे- 'हैन, यो प्रत्यक्ष निर्वाचित सांसद कम भएको पार्टी नेतृत्वको सरकारले निर्वाचन क्षेत्रको महत्व बुझ्दैन कि क्या हो?'

एकछिनमा ओखलढुंगा २ का सांसद रामहरि खतिवडा संसदीय मामिला पत्रकार समाजका अध्यक्ष राजेन्द्र फुयाँलसँग गफिन आए। फुयाँलले उनलाई भने- 'दाइ, संसद बैठक पर्सीसम्म लम्बियो त।'

'खै के गर्न खोज्या हो। महत्वपूर्ण विधेयक पनि केही छैन, चाडवाडको बेलामा छिट्टै सकाए हुन्थ्यो', उनको जवाफ थियो।

निर्वाचन क्षेत्रमा दसैँ शुभाकामना कार्यक्रम धमाधम सुरु भइरहेका बेला संसद बैठकमा सहभागी हुनुपरेपछि अधिकांश सांसद रुष्ट छन्। कतिपय सांसद बैठक छाडेर निर्वाचन क्षेत्रमा पुगिसकेका छन्।

कांग्रेसकी सांसद रीता शाही हुम्ला पुगिसकेको बताइन्। चाडबाडका बेला बैठक लम्ब्याउनु अव्यवहारिक भएको उनले तर्क गरिन्।

'निर्वाचन क्षेत्रमा जनताहरुले कार्यक्रम आयोजना सुरु गरिसकेका छन् म त हुम्ला आइपुगेँ', उनले थाहाखबरसँग टेलिफोनमा भनिन्, 'चाडपर्वको समयमा सांसदलाई छिटै बिदा नदिएर संसद बैठक सञ्चालन गरिरहनु अव्यवहारिक हो।'

कतिपय सांसदले १६ गतेदेखि काठमाडौंमा नहुने जानकारी दलका प्रमुख सचेतकहरुलाई जानकारी गराएका थिए। आइतबार बैठकमा केही विधेयक पेश गरी सांसदलाई चाडवाडका लागि छुट्टी दिने तयारी पनि थियो। तर बैठक १८ गतेसम्म चल्ने भयो।

संसद बैठक किन लम्बियो?

सरकारले संविधान कार्यान्वयन सम्बन्धी केही विधेयक संसदमा पेश गर्ने तयारी गरेपछि बैठक १८ गतेसम्मका लागि लम्बिएको हो। सरकारले संसद सचिवालयमा निर्वाचन सम्बन्धी विधेयक, राजनीतिक दल सम्बन्धी विधेयक र मतदाता सम्बन्धी विधेयक दर्ता गराएको छ।

मंगलबारको संसद बैठकमा सरकारले निर्वाचन सम्बन्धी विधेयक पेश गर्ने जानकारी पाएको संसद सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलले थाहाखबरलाई बताए। 'सरकारले निर्वाचन सम्बन्धी विधेयक मंगलबार पेश गर्ने तयारी गरेकाले सांसदहरुको आग्रहकाबीच पनि बैठक लम्बियो' उनले भने।

सांसदलाई डेढ महिना बिदा दिने तयारी

संसद बैठक कहिलेसम्म सञ्चालन गर्ने भन्ने विषयमा शुक्रबार सभामुख ओनसरी घर्तीले कार्यव्यवस्था परामर्श समितिमा छलफल गरिन्। दलका प्रमुख सचेतक सम्मिलित समितिले कम्तिमा कात्तिक २३ गतेसम्म बैठक स्थगित गर्न सभामुखलाई सुझाव दिएको थियो।

'सरकारसँग महत्वपूर्ण विधेयक भएमा एक दुई दिन संसद बैठक चलाउँ नभए सांसदहरु निर्वाचन क्षेत्रमा पनि व्यस्त हुनुपर्छ। निर्वाचन क्षेत्र टाढा भएका सांसद पनि छन्', राप्रपा नेपालका प्रमुख सचेतक दीलनाथ गिरीले भने, 'बैठक कात्तिक २३ गतेसम्म स्थगित गर्न हामीले सभामुखलाई सल्लाह दियौं।'

संसदको अधिवेशन अन्त्य नगरी छठ पर्वपछि मात्र बैठक सञ्चालन गर्ने तयारी छ। संसदको चालू अधिवेशन वैशाख २१ गतेबाट सुरु भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.