रोनाल्डो निश्चित रूपले विश्वकै सबैभन्दा राम्रो खेलाडी : पेले

|

केही अहंकारी, केही छुच्चा तर गोलकै पछि लागिपर्ने रोनाल्डो भनेकै अहिलेको पोर्चुगेली टिम हो। रोनाल्डो अर्थात् पोर्चुगल। टिमका लागि प्रशिक्षक फर्नान्डो स्यान्टोसको ब्रह्मास्त्र। अन्य खेलाडीका लागि प्रेरणा। भनौँ टिमको अभिभावक। पछिल्ला केही वर्षयता रोनाल्डोले अचाक्ली राम्रो फुटबल खेलिरहेका छन्। धेरै अवसरमा भाग्यमानी पनि प्रमाणित भएका छन्। भाग्यको कुरालाई एकाध अवसरमा रोनाल्डोले समेत स्वीकारेका छन्।

एउटा भनाइ छ, ‘मिहिनेतीलाई नै भाग्यले पनि साथ दिन्छ। अल्छीहरू त आफ्नै निधारलाई दोष दिँदै बस्छन्।’ तपाईंले रोनाल्डो खेलिरहेको नजिकबाट हेर्नुभए थाहा पाउनुहुनेछ- यी ६ फुट १ इन्च उचाइ भएका खेलाडीले कति मिहिनेत गर्छन् गोल गर्नका लागि। चाहे त्यो मिहिनेतमा आफैँले मात्र गोल गर्न खोजी बस्ने ‘सेल्फिसनेस’ नै किन नदेखियोस्। ३३ वर्ष पुगिसकेका रोनाल्डोको सम्भवतः यो अन्तिम विश्वकप हो। अर्को विश्वकप आइपुग्दा उनी ३७ वर्षका हुनेछन्, जुन उमेर प्रतिस्पर्धी फुटबलका लागि ठीक जँच्ने उमेर होइन।

‘नाम र काम’लाई हेरेर आउँदो विश्वकपमा स्थान पाइहाले तापनि खेलको अधिकांश समय मैदानबाहिर बेन्चमा बस्नुपर्ने निश्चित छ उनले। त्यसैले रोनाल्डोले जे गर्नु छ, यो विश्वकपमै गर्नुपर्छ। आफ्नो श्रेष्ठता प्रमाणित गर्न हेतु यी खँदिला खेलाडीका लागि यो अन्तिम मौका हो, यसमा दुई मत छैन। यदि रोनाल्डोले पोर्चुगललाई विश्व कप दिलाए उनी प्रशंसकहरूका लागि ‘भगवान्’ हुनेछन्। ‘अहंकार’ र ‘सेल्फिसनेस’को अर्थ लाग्नेछ तर जिताउन नसके रोनाल्डो आफ्ना लागि आफैँ अभागी बन्नेछन्।

मेस्सीभन्दा बढी यी सुपरस्टारका फ्यान एन्ड फलोअर्स छन्। पोर्चुगलबासीको पीडा देशले अहिलेसम्म विश्व कप जित्न नसक्नु हो। पोर्चुगल अहिलेसम्म विश्व कपको फाइनलसम्म पनि पुग्नसकेको छैन। दुई पटक अन्तिम चारमै अल्झेको छ। यसैले पनि सबैको आँखा अहिले रोनाल्डोमाथि गाडिएको छ। सबैको आशा भरोसा रोनाल्डोमाथि अडिएको छ। स्यान्टोसले टिममा पाको र युवा खेलाडीको राम्रो संयोजन मिलाएका छन्। पेपे (३५), ब्रुनो अल्भेस (३६), रिकार्डो क्वारेस्मा (३४), जोस फोन्टे (३४), आदिका लागि यो निश्चित रूपले अन्तिम विश्व कप हो। रोनाल्डो बुझ्छन्, ‘विश्व कप जित्नु भनेको आफूसँगै आफ्ना यी साथी खेलाडीहरूका लागि करिअरकै स्वर्णिम बिदाइ हो।’

असम्भव भन्ने कुरा केही छैन। पोर्चुगलले विषम परिस्थितिबीच युरो कप जितिसकेको छ। टिमले राम्रो खेलिरहेको छ। बलियो फ्रान्सलाई उसकै मैदानमा पराजित गरी पछिल्लो युरो कपको उपाधि पोर्चुगलले उचाल्नुअघि कसैले सोचेका थिएनन्, ‘पोर्चुगल युरो च्याम्पियन बन्नेछ।’ यसबाट पनि प्रमाणित हुन्छ, कागजमा मात्र टिम बलियो भएर हुँदैन। मैदानमा जसले श्रेष्ठ प्रदर्शन गर्छ, म्याच त्यो टिमले नै जित्नेछ। 'रोनाल्डोले गोल गरिरहेको हेर्न राम्रो लाग्छ। उनी हेडले पनि दर्शनीय गोल गर्छन्', केही वर्ष अघि रोनाल्डो र मेस्सीबारे सोधिएको प्रश्नमा रोनाल्डोको सन्दर्भमा पेलेले भनेका हुन् यो वाक्य। दुवै खुट्टा समान चलाउन सक्ने रोनाल्डोले हेडले पनि दर्शनीय गोल गर्छन्। वर्तमान समयमा हेडले दर्शनीय गोल गर्ने उनी सबैभन्दा माथिका खेलाडी हुन्। बललाई लिएर द्रुत गतिमा दौडिन्छन् उनी। बललाई नचाउने र विपक्षी खेलाडीहरूलाई छक्याएर पास दिने अद्भूत कला छ रोनाल्डोसँग। त्यस्तै राम्रो फ्री किक् हिर्काउँछन् उनी।

चानचुने खेलेर पाँच पटक विश्वका सर्वोत्कृष्ट खेलाडी भएका होइनन्, रोनाल्डो। रियलले लगातार तीन पटक च्याम्पियन लिगको उपाधि उचाल्दा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने यी जब्बर खेलाडीको आत्मविश्वास अहिले उच्च छ। मेस्सीझैँ रोनाल्डोले पनि आफ्नो श्रेष्ठता प्रमाणित गर्ने आवश्यकता छैन तर उनले आफ्नो देशलाई विश्व कप दिलाउन नसके यो श्रेष्ठता कहीँ कतै अधुरै रहनेछ। यो कुरा रोनाल्डोबाहेक कसले पो राम्रो गरी बुझेका छन्? पोर्चुगलसँग अहिले युसेबियो छैनन्, जसले आफ्नो बलबुतामा पोर्चुगललाई सन् १९६६ को विश्व कपमा सेमिफाइनलसम्म पुर्‍याएका थिए। न त आफ्नो कौशलले ख्याती कमाएका लुइस फिगो र पाउलेटा नै छन्।

अहिले छन् त केवल रोनाल्डो। जे गर्नु छ, उनैले आफ्ना साथी खेलाडीहरूलाई आफूसँगै लिएर गर्नु छ। खुला आँखाले देखेको ‘सपना’ एक दिन पुग्छ, उनलाई थाहा छ। युरो रोनाल्डोहरूले खुला आँखाले देखेको सपना थियो, पुग्यो। विश्व कपको उपाधि पनि स्यान्टोस, रोनाल्डो, पेपे र पेट्रेसियोहरूले खुला आँखाले देखेको सपना हो, अब यसलाई पूरा गर्नका लागि सामूहिक रूपले मिहिनेत गर्नुपर्छ। यो मिहिनेतमा रोनाल्डोको भागिदारी अरूभन्दा निश्चय नै बढी हुन्छ, किनभने उनी ठूला खेलाडी हुन्। ठूला खेलाडीले ठूलै दायित्व निर्वाह गर्नुपर्छ। रोनाल्डोको आँखाअघि सन् २००६ को जर्मन विश्व कपको सेमिफाइनलको दृश्य आज पनि नाच्दो हो, झल्झली। पीडाको भक्कानो र रोनाल्डोको आँखाबाट बगेको आँसुको धारा अहिले पनि फुटबलप्रेमीहरूले बिर्सेका छैनन्।

जे भयो त्यो विगत थियो, वर्तमान र भविष्य त रूस विश्वकप हो। विगतलाई सम्झेर रोइरहनेहरूमा रोनाल्डो अवश्यै पर्दैनन्। रोनाल्डोलाई हेरेर वर्तमान म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जो मोरिन्होले भनेका छन्, ‘पोर्चुगलका लागि सबै सम्भव छ।’ यो भनाइ र भनाइमा निहीत आशा भरोसा मोरिन्होको मात्र होइन, उनलाई मनपराउने र पोर्चुगललाई चियर्स गर्ने ती करोडौँ प्रशंसकको हो, जसले रोनाल्डोको हातमा विश्व कपको उपाधि देख्न चाहन्छन्। यो त्यतिबेला सम्भव छ, जतिबेला रोनाल्डोले साँच्चै आफ्नो ख्यातीअनुरूप सर्वश्रेष्ठ प्रदर्शन गर्नेछन्। ‘गोल स्कोरिङ रेट’लाई अझ जिउँदो र तीव्र पार्नेछन्। आखिर विश्वका करोडौँ प्रशंसक चाहन्छन्, ‘रोनाल्डोहरूले विश्व कप जितून्।’

यस्तो छ रोनाल्डोको व्यक्तिगत विवरण :

नाम : क्रिस्टियानो रोनाल्डो

जन्ममिति : ५ फरवरी १९८५ 

जन्मस्थान : मेडिरा पोर्चुगल

उचाइ : ६ फुट १ इन्च

खेल्ने पोजिसन : विङ्गर/स्ट्राइकर

वर्तमान क्लब : रियल म्याड्रिड

जर्सी नम्बर : ७ 

कुल क्लब म्याच : ७६१

कुल क्लब गोल : ५७३ 

अन्तर्राष्ट्रिय म्याच : १४९ 

कुल गोल सङ्ख्या : ८१

विश्व कपमा उपस्थिति : चार पटक (रूस विश्व कपसहित)

विश्वका कुल म्याच : १३

विश्व कपमा गोल सङ्ख्या : ३

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.