|

धनगढी : धेरै बेर कुरेपछि बल्ल एउटा सानो गाडी देखा पर्‍यो। अगाडि सानी नानी च्यापेर एउटी अधबैंसे महिला आइन्। ‘कता जानु पर्नी?’ उनने प्रश्न गरिन्। कोही बोलेनन्, तर अगाडि च्यापेको बालक रोइरहेको थियो।‘कहाँ पुग्नुपर्ने होला, म पुर्‍याइदिऊँ’, उनले फेरि प्रश्न गरिन्। 

सडकमा उभिएका एक हुल हामी गाडीमा चड्यौँ। अटो हुइँकियो। अघिदेखि रोइरहेको बालकको रुवाइ रोकियो। यो उनको दैनिकी हो। दुई छोराछोरीलाई विद्यालय पठाइसकेपछि उनी आफ्नो दिनचर्यामा निस्किन्छिन्।

उनी हुन् धनगढी उपमहानगरपालिका-७ मनेहराकी सुनीता चौधरी। उनी मुक्त कमैया हुन्, सरकारले कमैया मुक्त घोषणा गरेपछि व्यवहारमा लागू हुन नसकेको उनले गुनासो गरिन्।

‘तपाईंहरू मेरो अटो चढ्न किन आनाकानी गर्नुभएको थियो?’ उनले प्रश्न तेर्साइन्। सबै अनुत्तरित भए। उनले फेरि आफैँ भनिन्, ‘सायद महिला भनेर होला हैन? सबै यस्तै गर्छन्।’

‘समाज नै यस्तै छ, अनि कसरी बन्नुभयो त ड्राइभर?’ ‘श्रीमानको गतिलो इलम छैन परिवार पाल्नै पर्‍यो, छोरा छोरीलाई पढाउनै पर्‍यो अनि ड्राइभर भएँ।’ मुस्कुराउँदै भनिन्। 

चौधरीका श्रीमान् मजदुरी गर्छन्, तर उनको गतिलो आम्दानी छैन। उनको भने ठीकै कमाइ छ। उनले भनिन्, ‘कहिले हजार, १२ सय, कहिले दुई हजारसम्म पनि उठाएको छु।’

वसन्ती चौधरी


चौधरीका तीन सन्तान छन्। दुईजना स्थानीय विद्यालयमा अध्ययन गरिरहेका छन् भने एकजना बालक उनले च्यापेरै हिँड्ने गरेकी छन्। घरमा हेरिदिने कोही नभएपछि साँझ बिहान आफूसँगै लिएर जाने र दिउँसो गर्मी भएका कारण घरमै छोड्ने गरेको उनले बताइन्।

धनगढीमा घर घडेरी किन्ने सपना

सुरुमा आटो चलाउँदा सबैले फरक दृष्टिकोणले हेर्ने गरेको उनले गुनासो गरिन्। ‘गाडी चलाउने त छोरा मान्छेको काम हो, आईमाई भएपछि त घरको काम गरेर बस्नु नि कतिले यस्तै भन्थे,’ उनले भनिन्।

‘मेरै अटोमा बसेर मेरै कुरा काट्नेहरूलाई यही धनगढीमा घरघडेरी किनेर देखाउने मन छ,’ भावुक हुँदै भनिन्, दुई वर्षको अवधिमा तीन लाख जम्मा गरेको उनले बताइन्। यस्तै, गरी जम्मा भए केही वर्षमै राजधानीवासी बन्ने उनको सपना छ।

आत्मानिर्भरको बाटो

सामान्य आवश्यकताका लागि पनि पैसा माग्नुपर्ने र श्रीमानबाट अनेकौँ शब्दहरू सुन्नुपर्ने दिनहरू नआएको अटो चालक महिलाहरू बताउँछन्। उनीहरूले बरु अहिले श्रीमानको खर्च पनि आफैँले उठाउने गरेको बताउँछन्। अहिले अटोरिक्सा महिलाहरूको आम्दानीको गतिलो स्रोत बनेको छ। 

रीता चौधरी


बिहान बेलुका घर धन्दाको काम सकेर दिउँसो रिक्सा डुलाउँदै बजार आउनेहरूको संख्यामा ठूलै छ। धनगढी क्षेत्रभित्र मात्रै ४५ जनाभन्दा बढी महिला चालक रहेका छन्। उनीहरूको प्रमुख आयस्रोत अटोरिक्सा बन्न पुगेको छ ।

धनगढी हसनपुरकी महिला अटोरिक्सा चलाक वसन्ती चौधरीले भनिन्, ‘घर खर्च, छोरा छोरीको कापी किताब मात्रै होइन मैले त बचत पनी सुरु गरेकी छु।’ 
अटोको किस्ता पनि आफैँले तिरिरहेको उनले बताइन्। अटोरिक्सा जीवनयापनको स्रोत बनेको उनको भनाइ छ। सबैजसो महिला चालकले घरकोे सबै काम सकेर आत्मनिर्भरको लागि आटो चलाएको बताउँछन्।

अटोको बजार मूल्य चार लाख रुपैयाँको हाराहारीमा छ। बैंकबाट रकम निकालेर प्राय महिलाहरूले अटोको चलाइरहेका छन्। अटोबाट आएको आम्दानीले, घर खर्च छोराछोरीको पढाइ र अटोको किस्तासमेत तिरिरहेका छन्।

आफ्नैले नचिनुन् भन्छन्

प्रदेश नम्बर सातको अस्थायी मुकाम धनगढीको व्‍यस्त सडकहरूमा सुनीता जस्तै ‘लेडि ड्राइभरहरू’ थुप्रै भेटिन्छन्। प्रायः चौधरी समुदायका महिलाहरूले यो पेसा अँगालेको देख्न पाइन्छ ।

अधिकांस पुरुषले हुइँक्याइरहने कहीँकतै फाट्टफुट्ट महिलाले पनि चलाएको देख्दा जिब्रो टोक्नेहरूको पनि कमी छैन यहाँ। धनगढी उपमहानगरपालिका १९ की रीना चौधरी पनि बिहानैदेखि घाम नडुबुन्जेल धनगढीकै गल्लीहरूमा अटो कुदाइरहेकी भेटिन्छिन्।

यहाँ गर्मी ह्वात्तै बढेको छ। गर्मी बढेपछि आँखा मात्रै देखिने गरी अनुहार पूरै छेकेर अटो चलाइरहेकी चौधरी भन्छिन्, ‘यसले थुप्रै फाइदा छ। बाटोमा नातागोता फेला पर्दा विभिन्न कुरा गर्छन्,’ उनले भनिन्, ‘मुख छोपेर हिँड्दा उनीहरूको भनाइ सुन्नुपर्दैन। साथै घाम र धुलोबाट त ठूलो राहत मिलेको छ।’ सुरुसुरुमा भेटिने आफन्तहरूले अटो चलाउनुभन्दा बरु घरधन्दा गरेर बस्न सुझाव दिएका उनले बताइन्।

शान्ता चौधरी


पैसा कमाउन थालेपछि माया पनि बढ्यो

लगातार तीन छोरी जन्माएकी सीतामती चौधरीलाई परिवाका सदस्यले विगतमा जस्तो गर्न छाडे। छोरा नपाएको भन्दै आफ्नै श्रीमानले समेत तिरस्कार गर्न थालेका थिए। घरमा बोलचालै बन्द भएको थियो।

परिवारबाट यक्लिकी सीताले आटो चलाएर राम्रो आम्दानी गर्न थालेपछि परिवारसँग पुनर्मिलन भएको बताउँछिन्। ‘छोरा नपाएको भन्दै सबैले हेला गर्थे, श्रीमान पनी बेरोजगारी राती रक्सी खाएर मै माथि पोखिनुहुन्थ्यो, घर परिवारसँग वाक्क भएर अटो चलाउन थालेँ, अहिले घरको सबै खर्च मैलेनै धानेकी छु’, उनले भनिन् ।

तीन छोरीलाई आफ्नै खर्चमा बोर्डिङ स्कुल बढाइरहेको उनले सुनाइन्। राम्रो शिक्षादिक्षा दिएर छोरीलाई छोरा सहरको बनाउने सीतामतीको सपना छ।

पुरुष चालकहरूको हेपाइ 

एक हजार ८०० भन्दा बढी अटोरिक्सा चल्छन् धनगढी क्षेत्रमा। करिब ५० जनाको संख्यमा महिला अटो चालक रहेका छन्। विहानै घाम उदाउनुभन्दा पहिलदेखि झमक्क अधेरो हुँदासम्म पनि सडकहरूमा अटो कुदिरहेका हुन्छ।

प्रायः महिलाहरू साझ र बिहानको समयमा घरकै काम गर्ने गरेको र दिउँसोको समयमा अटो चलाउने गरेको बताउछन् । तर कहिलेकाहीँ यात्रु टाडा पु¥याउदा, टाडाबाट ल्याउदा, सवारी बिग्रदा सधैँको समय भन्दा अबेर हुने गरेको उनीहरू बताउँछन्।

साझपख बाटोमा भेटिने अल्लरे केटाहरूबाट तर्किएर जानुपर्ने धनगढीकै सम्झना चौधरी बताउछिन्। दिनभरी पनि पुरूष चालकहरूले फरक व्यवहार गर्ने गरेको उनी बताउँछिन्। ‘हामीलाई देखेपछि हरन बजाउने, आखाँ जुधाउने गर्छन्’ उनले भनिन्, ‘बाटो पनि छोड्दैनन्।’

सम्झना चौधरी

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.