|

उदयपुर : जिल्लाका पहाडी क्षेत्रका किसान बर्खे आलु बिक्री गर्ने बजार नपाउँदा मर्कामा परेका छन्। माघ–फागुनमा रोपेर बैशाख–जेठमा उत्पादन हुने आलुले बजार नपाउँदा आफुहरु मर्कामा परेको किसानको गुनासो छ।

समुन्द्र सतहबाट दुई हजार २०० मिटरको उचाइमा रहेको महाभारत पर्वतमा पर्ने रौतामाई र लिम्चुङबुङ गाउँपालिकामा मुख्य बालीको रुपमा आलु खेती हुन्छ। ‘हाम्रो क्षेत्रमा वार्षिक करिब दुई करोड रुपैयाँभन्दा बढीको आलु उत्पादन हुने गरेको छ,’ रौतामाई गाउँपालिकाका–१ का किसान नोर्बु शेर्पाले भने, ‘जिल्लाबाहिरका ठूला सहरका बजारमा लगेर बेच्ने चलन छैन, त्यसो भएकाले मूल्य पनि कम पाउँछौं।’ 

मोटरबाटो राम्रो नहुँदा उत्पादन भएको भएको आलु जिल्लाबाहिर निर्यात गर्न नसकेको किसानको गुनासो छ। रौतामाईको माझखर्क, नामेटार, टाट्ने, रचने, रौतापोखरी र लिम्चुङबुङको वाराहा, निगलवास, आहालेलगायतका दर्जनौ गाउँमा बर्खे आलु खेती हुने गरेको छ। यस क्षेत्रमा वर्षको एक पटक मात्र खेती हुन्छ।

स्थानीय किसान नरबहादुर बस्नेतका अनुसार यस क्षेत्रमा उत्पादन भएका आलु गाईघाट, कटारी, मुकुर्चीसम्म लगेर बिक्री हुँदै आएको छ। जिल्लाभित्रै बजार क्षेत्रमा लगेर बेच्दा पनि वर्षिक चारदेखि पाँच लाखसम्म गाउँहरुले आम्दानी गरेको उनको भनाइ छ। तर, ठूला सहरसम्म लान नसकेको उनीहरु बताउँछन्।

उदयपुरकै बजारमा बेच्ने र खानेबाहेक बाँकी सबै आलु खेर जाने गरेको गरेको छ। केही किसानले भने व्यवसायिक रुपमा आलु खेती गरी मनग्ये आम्दानी लिन थालेका छन्। रौतामाई गाँउपालिका–१ वडाध्यक्ष रुद्रबहादुर कार्कीले भने, ‘यस क्षेत्रको आलुलाई प्रचारप्रसार गर्न सके र ठूला सहरका आलु व्यापारी ल्याउन सके गाउँपालिकाको मुख्य आम्दामीको स्रोत हुने थियो।’

जिल्ला कृषि विकास कार्यालय उदयपुरका बाली विकास अधिकृत रामसेव ठाकुरका अनुसार अनुसार उदयपुरमा हिउँदे र वर्षे गरी २० हेक्टर क्षेत्रफलमा आलु खेती हुने गरेको छ। रौतामाई, ताप्ली र लिम्चुङबुङ गाउँपालिकामा बर्खे आलु उत्पादन गर्ने पकेट क्षेत्र विस्तार गर्न सकिने अधिकृत ठाकुरको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.