जहाँबाट देखिन्छ प्रदेश १ का सबै जिल्ला

|

इलाम : छिनछिनमा परिवर्तन हुने मौसम र चिसो बताससँग लुकामारी खेल्न उत्कृष्ट गन्तव्य हो इलाम र पाँचथर सीमानामा अवस्थित छिन्टापु। इलामको सन्दकपुर गाउँपालिका र पाँचथरको फालेलुङ गाउँपालिकाको सीमानामा रहेको छिन्टापुबाट प्राकृतिक सुन्दरताको अनुपम दृश्यावलोकन गर्न सकिन्छ।

महाभारत पर्वत र सिंहलीला पर्वत श्रृङ्खलालाई विभाजन गर्ने छिन्टापु तीन हजार ३०० मिटरको उचाइमा रहेको छ। यहाँबाट कञ्चनजंघा, कुम्भकर्ण, सगरमाथालगायतका नेपाल, भारत र भुटानका हिमश्रृङ्खलाहरू अँगालो हाल्न सकिएलाजस्तै गरी दृश्यावलोकन गर्न सकिन्छ। यति मात्र कहाँ हो र यहाँबाट सीमापारिका सिक्किम, दार्जिलिङका साथै नेपालका प्रदेश १ का अधिकांश जिल्ला देख्न सकिन्छ। 

लालीगुराँसको घना जंगल रहेको छिन्टापुमा रेडपाण्डा, विभिन्न प्रजातिका पुतली, थार, चराचुरुङ्गी र जडीबुटीको अध्ययनका लागि पनि उत्कृष्ट गन्तव्य हुन सक्छ। छिन्टापुडाँडामा दुईवटा सुन्दर पोखरीले यहाँको सौन्दर्यतालाई अझै थपेको छ। छिन्टापुभन्दा केही तल तालपोखरी, डढेली पोखरी, हाँसपोखरीलगायतका आधा दर्जन पोखरी, छाँगे झरना, धप्परलगायत दृश्यावलोकनका लागि उत्कृष्ट स्थल समेत रहेका छन्। तालपोखरीमा तैरिने हिमालको छाँयाले पर्यटकलाई लोभ्याउने गर्दछ। यहाँका जीवनशैलीले पनि पर्यटकहरुलाई आकर्षण गरेको स्थानीय बताउँछन्।

यति धेरै विविधता बोकेको छिन्टापुले भौगोलिक विकटताका कारण भौतिक पूर्वाधार निर्माण हुन सकेको छैन। पर्यटकहरुको सहजताको लागि छिन्टापु डाँडाको पाँचथर क्षेत्रमा गेष्ट हाउस निर्माण गरिए पनि प्रयोगमा नआउँदा जीर्ण बनेको छ। पर्यटन मन्त्रालयको सहयोगमा निर्माण गरिएको गेष्ट हाउस भएको क्षेत्रमा जंगली जनावारको खतरा भएकाले प्रयोग नआई जीर्ण बनेको स्थानीयहरुको भनाइ छ।

छिन्टापुलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न केही प्रयास भएका छन्। आर्थिक वर्ष २०७३÷७४ मा छिन्टापुको विकासको लागि मेची पहाडी क्षेत्र पर्यटन विकास समितिले आठ लाख र ०७४÷७५ मा पाँच लाख रुपैयाँ लगानीमा पदमार्ग निर्माण गरिएको छ। उक्त पदमार्ग हुँदै गुराँसको वन हुँदै छिन्टापु डाँडासम्म पुग्न सकिने मेची पहाडी क्षेत्र पर्यटन विकास समितिका योजना अधिकृत सन्जीव पौडेलले बताए।   

यसरी जाने 

छिन्टापु जान हिउँदको समयमा इलामको माईपोखरी हुँदै माईमझुवाको बुधबारे गोरुवालेसम्म गाडीमा जान सकिन्छ। यसपछि दुई घण्टाको पैदल यात्रापछि छिन्टापु पुगिन्छ। तर, बर्खाको समयमा भने मुस्किलले बुधवारे बजारसम्म मात्र गाडीमा यात्रा गर्न सकिन्छ।

माईपोखरीबाट माईपाताल टप्पु हुँदै छिन्टापु पुग्न सकिन्छ। यसरी नै माईमझुवाकै शेर्पेगाउँ हुँदै पाँच घण्टाको पैदल यात्रापछि पनि पुग्न सकिन्छ। चुचुरोमा पुगेर फर्कन सहज नभए पनि बाटोमा रहेका गोठहरूमा बास बस्न सकिन्छ। गोरुवाले भञ्ज्याङमा सामान्य खानेबस्नको व्यवस्था छ। यस क्षेत्रमा बर्खाको समयमा छिनछिनमा मौसम परिर्वतन भइरहन्छ। त्यसैले असोजदेखि चैतसम्म छिन्टापुको यात्रा गर्न उयुक्त हुन्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.