थाहा संवाद : स्थानीय सरकार

गाउँपालिकाभित्र दुई सय परिवारको एकीकृत बस्ती बनाउँछौँ : अजयमेरु गाउँपालिकाका अध्यक्ष भट्ट
SHARES

जेठ २९, २०७५

    डडेल्धुराको अजयमेरु गाउँपालिका साविकका समैजी, अजयमेरु, भद्रपुर, चिपुर र देवल दिव्यपुर गाउँविकास समिति मिलाए बनाइएको हो। अजयमेरु गाउँपालिकाको कुल क्षेत्रफल १४८.९० वर्ग किलोमिटर रहेको छ। 

    २०६८ सालको जनगणनाअनुसार यस गाउँपालिकाको जनसंख्या १७ हजार ६६ जना रहेको छ, जसमा नौ हजार १७२ महिला र सात हजार ८९४ पुरुष छन्। उक्त गाउँपालिकामा तीन हजार ३११ घरधुरी छन्। यहाँको साक्षरता दर ६५.५८ प्रतिशत छ। 

    अजयमेरुकोट, देवल, जगन्नाथ मन्दिर, डागेश्वरी मन्दिर, गंगेश्वर मन्दिर, दुर्गा भगवतीलगायतका धार्मिक पर्यटकीय क्षेत्रहरू यहाँ छन्। यस गाउँपालिकामा फलाम खानीको पनि सम्भावना छ। यहाँ प्रायः सबै जातजातिका मानिसहरूको बसोबास छ। सडक मार्गबाट जिल्ला सदरमुकामदेखि अजयमेरु गाउँपालिका १८ किलोमिटर टाढा छ। 

    गत वर्ष सम्पन्न स्थानीय तहको निर्वाचनमा अजयमेरु गाउँपालिकामा तत्कालीन नेकपा माओवादी केन्द्रले जित्यो। अजयमेरु गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका उमेशप्रसाद भट्ट (विकास) विजय भए भने उपाध्यक्षमा माओवादीकै कलावती भाँड विजयी भइन्। 

    गाउँपालिकाका अध्यक्षमा निर्वाचित भट्टले विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका हुन्। तत्कालीन चिपुर गाविस– ६ हाल अजयमेरु– ४ चौडी कफल्ली वि. सं. २०३९ भदौ २४ गते जन्मेका भट्टले पत्रकारिता पनि गरे। गाउँपालिका अध्यक्ष भट्ट कञ्चनपुरमा २०५५ सालदेखि पत्रकारिता क्षेत्रमा लागेका हुन्। 
    कञ्चनपुरबाट प्रकाशन हुने नयाँ मुलुक दैनिकमा २०५५ सालदेखि उनले पत्रकारिता सुरु गरेका थिए। यस्तै, सोही ठाउँबाटै प्रकाशन हुने कालापानी सन्देश साप्ताहिकमा समेत उनले काम गरे। २०५७ सालमा शिखा साप्ताहिकमा पनि भट्टले काम गरे। राष्ट्रियस्तरका पत्रिकामा पनि काम गरेको अनुभव छ उनीसँग। 

    निर्वाचनमा विजयी भइसकेपछि जनप्रतिनिधि भएर अहिलेसम्म गरेको काम, अबका वर्षहरूमा गर्ने योजनालगायतका विविध विषयमा केन्द्रित रही थाहाखबरकर्मी प्रकाश पार्कीले गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्टसँग गरेको कुराकानी–

    जनताबाट निर्वाचित भएर गाउँपालिकामा आएको एक वर्ष पूरा भएको छ। समग्रमा यो एक वर्षको अवधिमा अजयमेरुमा केके गर्नुभयो ?

    अब खासगरी हामी अजयमेरुमा निर्वाचित भयौँ। स्थानीय तह लामो समय जनप्रतिनिधिविहीन रहेको थियो र स्थानीय तहको पहिलो कार्यकाल हाम्रो रहन गएको छ। यो एक वर्षलाई हामीले योजना निर्माणको वर्षका रूपमा बुझेका छौँ। अध्ययन, अवलोकनका रूपमा बुझेका थियौँ। यसअन्तर्गत हामीले यस वर्ष धेरै योजनाहरू निर्माण गरेका छौँ। केही गुरुयोजनाहरू बनाएका छौँ। जल उपयोग गुरुयोजना अन्तिम चरणमा पुगेको छ।

    गाउँपालिकाको प्रोफाइल निर्माण कार्य पनि लगभग अन्तिम चरमा पुगेको छ। जीविकोर्पाजन गुरुयोजनाको पनि हामी अन्तिम चरणमा पुगेका छौँ। पाँच वर्षे उद्यम विकास रणनीतिक योजना हामीले निर्माण गरिसकेका छौँ। गाउँ शिक्षा योजनाको पनि हामी अन्तिम चरणमै छौँ र समग्र गाउँपालिकाको पर्यटकीय, भौतिक पूर्वाधार, अर्थिक विकास, सामाजिक विकासलगायतका वन, वातावरण क्षेत्रको गुरुयोजना निर्माणको अन्तिम चरणमा हामी छौँ।

    तत्कालका लागि हामीले जनप्रतिनिधि भएर आउनेवित्तिकै एउटा सामाजिक सुधारका लागि सरकार हो यो स्थानीय निकाय होइन, स्थानीय सरकार हो भन्ने प्रत्याभूति दिलाउनेगरी कार्यक्रमहरू गर्‍यौँ। संघीयताप्रतिको जनताको विश्वास दिलाउने कार्य हामीले गरेका छौँ। हाम्रो गाउँपालिकामा सुरक्षा निकाय थिएन। अहिले सुरक्षा चौकीका रूपमा स्थापना गरेका छौँ। हाम्रो गाउँपालिकामा बैंक थिएन, सुरुवातमा हाम्रो गाउँपालिकालाई बैंकहरूले रुचाएका थिएनन् तर आज आएर डडेल्धुरा जिल्लाको सबैभन्दा पहिले हाम्रो गाउँपालिकामा बैंक स्थापना भएको छ। दुर्गम ठाउँमा स्वास्थ्य चौकीहरू स्थापना भएका छन्। हाम्रा गाउँपालिकाका सबै स्वास्थ्य चौकीमा ल्याव सेवा सुचारु गरेका छौँ। स्वास्थ्य सेवा जनताको आधारभूत अधिकार हो भन्ने मान्यताले हामीले बस्तीबस्तीमा र प्रत्येक वडाहरूमा विशेषज्ञसहितको स्वास्थ्य सेवासहितको शिविर सञ्चालन गरेका छौँ।

    शिक्षामा अहिले अभिभावकहरूमा संस्थागत मोह छ, त्यो कुरालाई तोड्नका लागि हामीले हरेक सामुदायिक विद्यालयमा एक कक्षामा ग्रेड कक्षा सञ्चालन गर्दै अंग्रेजी माध्यमबाट पढाइ सुरु गरेका छौँ। अहिले पनि धेरै जिल्ला स्थनीय तहमा वडा कार्यालय स्थापना भएका छैनन् तर हामीले निर्वाचित भएको १५ दिनमै सबै वडा कार्यालय स्थापना गरेका छौँ। हामी आउँदा सडकको स्तरोन्नति भएको थिएन। सडकहरू गन्तव्यमा पुगेका थिएनन्, ती सडकहरूलाई हामीले गन्तव्यसम्म पुर्‍याएका छौँ। 

    २० वर्षसम्म सडक नपुगेका बस्तीहरूमा हामीले सडक पुर्‍याएका छौँ। अहिले आएर ९५ प्रतिशतजति बस्तीमा सडक पुगेको छ भने ९५ प्रतिशत बस्तीमा विद्युतीकरण भएकोे छ। हाम्रो गाउँपालिकाभित्र रहेको वन वातावरण क्षेत्रमा समस्याको रूपमा रहेका नांगा डाँडाकाँडाहरू छन्, ती डाँडाकाँडाहरूलाई हराभरा बनाउनका लागि हामीले ५० हजार बिरुवाहरू गरिसकेका छौँ, बर्खाका त्यहाँ वृक्षरोपण गर्ने योजना छ। 

    तपाईंले यो एक वर्ष योजना बनाउने वर्ष, अनुुसन्धान र अनुगमनको वर्षका रूपमा बित्यो भन्नुभयो। केके योजना बनाउनुभयो?

    मैले तपाईंलाई अघि पनि भने गाउँ शिक्षा योजना अन्तिम चरणमा छौँ, प्रोफाइल निर्माण गरेका छौँ। समग्र गाउँपालिकाको गुरुयोजना बन्ने प्रक्रियामा छ। जीविकोर्पाजन गुरुयोजनाको अन्तिम चरणमा र यस्ता धेरै योजनाहरू हामीले निर्माण गरेका छौँ। त्यस कारण हामी यी योजनाहरूमा टेकेर अगामी वर्षमा कार्यान्वयनमा जान्छौँ।

    शिक्षा क्षेत्रमा गाउँपालिकामा परिर्वतन गरेको भन्नुभयो। त्यस्तो के परिर्वतन गर्नुभयो?

    हो, हामीले शिक्षा क्षेत्रमा परिर्वतन गरेका छौँ। हामीले गाउँ शिक्षा कानुन निर्माण गरेका छौँ। कानुन निर्माण गरेर कार्यान्वयनमा ल्याएका छौँ र कानुन कार्यान्वयनमा ल्याइसकेपछि हामीले बालविकासलाई मूल्यांकनमा आधारित बालविकासहरू बनाएका छौँ। 

    अहिलेसम्मको प्रचलन के थियो भने एक वर्ष बालविकासमा गयो भने उसले ‘क’ नजाने पनि विद्यालय पठाइदिने, सिफारिस गरिदिने एउटा पद्धति थियो भने हामीले न्यूनतम बालविकासमा पढ्ने बच्चाले केके कुरा सिक्ने त्यसको मूल्यांकनको एउटा मापदण्ड बनाएर मात्रै अगाडि बनाउने कुराको हामीले ग्यारेन्टी गरेका छौँ। 

    समुदायमा सञ्चालनमा नभएका बालविकास केन्द्रहरूलाई विद्यालयमा मर्ज गरिरहेका छौँ। नजिकै रहेका विद्यालयलाई 'मर्ज' गर्ने प्रक्रिया पनि अगाडि बढाइरहेका छौँ। विद्यालयको भौतिक सुधारलाई पनि हामीले विशेष जोड दिएका छौँ। प्राविधि शिक्षालाई विशेष प्रोत्साहन कार्यक्रम राखेका छौँ। शिक्षा क्षेत्रमा प्रविधियुक्त बनाउनका लागि हाल विद्यालयहरूमा ई हाजिरीको सुरुवात गरेका छौँ। यसले गर्दा हरेका शिक्षकहरू जिम्मेवार भएर लागेका हामीले पाएका छौँ। हामीले हाम्रो शैक्षिक क्यालेण्डर निर्माण गरेका छौँ। क्यालेण्डरमार्फत् हामीले २०७५ का कार्यक्रमहरू निर्धारण गरेका छौँ। यसैगरी प्रविधियुक्त शिक्षा बनाउनका लागि हरेका विद्यालयमा कम्प्युटरको तालिम दिने र हरेका विद्यालयमा एउटा कम्प्युटर दिने योजना छ।

    तपाईंको गाउँपालिकामा उत्पादित तरकारी सदरमुकामसम्म आउने गरेको छ। तरकारीमा अझै आत्मनिर्भर बन्नका लागि के छन् योजना?

    हो, गाउँपालिकामा उत्पादित तरकारी सदरमुकामसम्म आउँछ। अहिले पनि तरकारी तथा फलफूल बगैँचाका कार्यक्रमहरू हामीसँग छन्। तरकारीका पकेट कार्यक्रमहरू निर्माण गरिरहेका छौँ। यो वर्ष पनि हामीले १२ वटा टनेलसहितका फलामका घर र प्लाष्टिक वितरण गरेका छौँ। 

    यो जेठको महिनामा पनि हाम्रो ठाउँमा उत्पादन भएको काँक्रा यहाँको बजारसम्म पुगेको छ। हामी एकातिर कृषिमा आत्मनिर्भर हुँदै गएका छौँ भने अर्को जो हाम्रो गाउँपालिकामा आएको पैसा छ, त्यो पैसा बाहिर जाँदैन, गाउँपालिकामै रहने ग्यारेण्टी हामी गरिरहेका छौँ।

    कृषि क्षेत्रमा युवालाई आकर्षित गर्नका लागि योजना के बनाउनुभएको छ?

    हामी अर्को वर्षका लागि सोचिरहेका छौँ। कार्यविधि बनाइरहेका छौँ। अब हामी युवाहरूको समूह निर्माण गर्छौं। अहिलेसम्मको एउटा 'ट्रेण्ड' के देखियो भने हरेक योजनाहरूलाई अनुदानमा आधारित योजना बनाइयो। अनुदानमा आधारित योजना बनाइयो, त्यो सफल भएन। त्यो विधि सफल हुन सकेन। त्यस कारण त्यो असफल विधिलाई अन्त्य गर्दै हामीले अनुदानमा होइन, अभियानमा आधारित कार्यक्रम वा योजना निर्माण गर्ने गरेका छौँ।

    त्यस कुरालाई अब युवाहरूको समूह बनाएर उनीहरूसँग साझेदारी गर्दै अगाडि बढ्छौँ। उहाँहरूलाई निर्ब्याजी रकम उपलब्ध गराउने र त्यसमार्फत् उहाँहरूले पनि केही रकम लगाउने, हामीले पनि उहाँहरूलाई केही रकम दिने अनि त्यो चरणबद्ध रूपमा उहाँहरूले फिर्ता पनि गर्ने। फेरि अर्को समूहलाई दिने। त्यो कार्यक्रम हामीले बनाउन खोजिरहेका छौँ। युवालाई व्यावसायिक कृषिसँग जोडेर अगाडि बढ्ने सोचमा छौँ।

    अहिलेसम्मको परम्परागत कृषिलाई तोड्दै व्यावसायिक कृषि पेसाका रूपमा लैजाने, हाम्रो गाउँपालिकामा रहेको अजयमेरुकोटलगायतका पर्यटकीय क्षेत्रको विकासका लागि विशेष रूपमा अगाडि बढ्ने, शिक्षा क्षेत्रमा केके सुधार गर्नुपर्छ, त्यो कुरामा हामी छलफल गरिहेका छौँ।

    स्वास्थ्य क्षेत्रको कुरा गरौँ, भौगोलिक विकटता भएका र जहाँ स्वास्थ्य सेवा पुगेको छैन, त्यस ठाउँका लागि के सोच्नुभएको छ?

    हामीले यही वर्ष मात्रै गाउँपालिकाका दुई ठाउँमा वडा ३ र ४ को लेकामी ठाउँलाई सम्बोधन गर्ने गरी दुईवटा स्वास्थ्य इकाइहरू स्थापना गरिसकेका छौँ। हाम्रा गाउँघर क्लिनिक नियमित सञ्चालनमा छन्। खोप क्लिनिकहरू सञ्चालनमा छन्। 

    अर्को वर्षमा हामीले सोचिरहेका छौँ जनतालाई कसरी स्वास्थ्यकर्मीसँग भेटघाट गराउने भनेर। मलाई लाग्छ, हाम्रो गाउँपालिकाको आधा–एक घण्टाको दूरीमा रहेका मान्छे एउटा स्वास्थ्य इकाइमा पुग्ने अवस्थामा छ। 

    यहाँको गाउँपालिकाको बढी बजेट सडक निर्माणतिर गयो विगतका वर्षमा, अबको बजेट कुन क्षेत्रमा बढी विनियोजन हुन्छ?

    यस वर्ष पनि हामीले योजना बनाउँदै जाँदा पनि २०७५/०७६ को योजना बनाउँदा पनि आर्थिक विकासलाई पहिलो प्राथमिकता दिऊँ भन्ने सोच बनायौँ। हुने के रहेछ भन्दा एउटा दश लाख रुपैयाँको आर्थिक विकासको कार्यक्रम बनाउने हो भने त्यसमा धेरै देखिने अनि कार्यक्रम गर्न सकिने तर एउटा भौतिक पूर्वाधारको दश लाख रुपैयाँको कार्यक्रम गर्‍यो भने केही पनि नहुने। एक–दुई किलोमिटर बाटोभन्दा बढी खन्न नसकिने। यो स्थिति बन्ने हुनाले समग्र बजेट हेर्दा त भौतिक पूर्वाधारले नै 'लिड' गर्छ।

    तर भौतिक पूर्वाधारभित्र पनि सामाजिक विकास जोडिन्छ। किनकि सिँचाइ बन्छ, सिँचाइ बन्यो भने त्यो कृषिसँग जोडियो। विद्यालय भवन बन्यो भने त्यो पनि सामाजिक विकाससँग जोडियो। अब तरकारी उत्पादन भयो, बजारको ग्यारेन्टी गर्नका लागि त सडक आवश्यक छ। हाम्रो ठाउँमा सडक त पुगेको छ तर धुले सडक छ, त्यसलाई स्तरोन्नति गर्नुपर्नेछ। 

    समृद्ध अजयमेरु बनाउनका लागि अबका बाँकी चार वर्षका योजना के छन् तपाईंका?

    खासगरी हाम्रो गाउँपालिकाको मुख्य चुनौतीका रूपमा सुख्खा, नांगा डाँडाकाँडाहरू छन्। यसलाई हराभरा बनाउने, खानेपानीका नयाँ प्रविधिहरू भित्र्याउने, ‘डिप बोरिङ’को सम्भावना कतिको छ त भनेर अध्ययन हामी गरिरहेका छौँ। यो महिनाभित्र सर्वे हामी गरिसक्छौँ। यदि गाउँपालिकाकामा डिप बोरिङको सम्भावना देखियो भने हामी दुई–चार ठाउँमा डिप बोरिङको नयाँ प्रविधि भित्र्याउँछौँ। 

    अहिलेसम्मको परम्परागत कृषिलाई तोड्दै व्यावसायिक कृषि पेसाका रूपमा लैजाने, हाम्रो गाउँपालिकामा रहेको अजयमेरुकोटलगायतका पर्यटकीय क्षेत्रको विकासका लागि विशेष रूपमा अगाडि बढ्ने, शिक्षा क्षेत्रमा केके सुधार गर्नुपर्छ, त्यो कुरामा हामी छलफल गरिहेका छौँ। दातासँग कोसिस गरिरहेका छौँ। स्रोत जुट्यो भने कम्तीमा एउटा २०० परिवार बराबरको एकीकृत बस्ती बनाउने हामीले सोचेका छौँ। यदि सबै कुराले साथ दियो भने त्यो हामी गर्न सक्छौँ।

    संघीय सरकार र प्रदेश सरकारबाट के अपेक्षा गर्नुभएको छ?

    संघीय सरकार र प्रदेश सरकारबाट हामीले धेरै नै अपेक्षा राखेका छौँ। हुनत हामी पनि सरकार हौँ तर अहिले नै गाउँपालिका आत्मनिर्भर बनिसकेको छैन। गाउँपालिका अत्मनिर्भर नबनेसम्म संघीय र प्रदेश सरकारले यतिबेला सहयोग गर्नुपर्ने अवस्था छ। जनताका अपेक्षा धेरै माथि छन् तर हामीसँग स्रोत साधन कम भएको स्थिति छ। यो अवस्थामा विशेष खालका कार्यक्रम संघीय सरकार र प्रदेश सरकारबाट हामीले अपेक्षा गरेका छौँ।

प्रकाश पार्की

प्रकाश पार्की थाहाखबरका डडेल्धुरा संवाददाता हुन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]