|

विश्वकपको 'डार्क हर्स'का रूपमा परिचित बेल्जियमले आफ्नो अन्तिम मैत्रीपूर्ण खेलमा दक्षिण अमेरिकी राष्ट्र कोस्टारिकालाई ४-१ ले हराएको छ। बेल्जियमको राजधानी ब्रसेल्सको घरेलु मैदानमा भएको खेलमा १-० ले पछि परेको अवस्थालाई उल्ट्याउँदै बेल्जियमले सहज जित निकाल्यो।

सुरुवातमानै अग्रता कायम गर्ने क्रममा कोस्टारिकाका ब्रायन रुइजले खेलको २४औं मिनेटमा गोल गरे। तर कोस्टारिकाको उक्त अग्रता लामो समय टिक्न सकेन्। ७ मिनेटपछिनै घरेलु टिमका लागि द्रिस मोर्तेन्सले गोल गरे भने पहिलो हाफमा नै अग्रता लिने क्रममा रोमेलु लुकाकुले ४२औं मिनेटमा दोस्रो गोल गरे।

पहिलो हाफमा २-१ को अग्रता बनाएको बेल्जियमले दोस्रो हाफमा पनि निरन्तर आक्रमण गोल जारी राख्यो। उसले लुकाकुकै व्यक्तिगत दोस्रो गोलको सहयोगमा ६४औं मिनेटमा खेल ३-१ को अवस्थामा पुर्‍यायो भने चौथो गोल  मिची बटसुवाइको नाममा रह्यो।

विश्वकपमा समूह जी मा रहेको बेल्जियमले पहिलो खेल १८ जुनमा पानामासँग प्रतिस्पर्धा गर्दा अर्को खेलमा २३ जुनमा ट्युनिसिया र २८ जुनमा इङल्याण्डको सामना गर्नेछ । कोस्टारिका भने समूह ई मा छ। यो समूहमा ब्राजिल, स्वीटजरल्याण्ड र सर्विया रहेका छन्।

दक्षिण कोरिया पराजित

सोमबार राति नै भएको अर्को मैत्रिपूर्ण खेलमा सेनेगलले एसियन सहभागी दक्षिण कोरियालाइ २-० ले पराजित गरेको थियो। अष्ट्रियामा भएको खेलमा ६७औं मिनेटमा दक्षिण कोरियाका किम योङ वाङले आत्मघाती गोल गर्दै सेनेगललाई उपहार दिए। दोस्रो गोल इन्जुरी समयमा मौसा कोनेटले गरेका थिए।

समूह एफमा रहेको दक्षिण कोरियाले जुन १८ मा स्वीडेनसँगको खेलबाट विश्वकप यात्रा सुरु गर्नेछ। समूह एचमा रहेको सेनेगलले आफ्नो पहिलो खेलमा पोल्याण्डविरुद्ध प्रतिस्पर्धा गर्दैछ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.