|

कपिलवस्तु : अत्यधिक गर्मीका कारण कपिलवस्तुका विद्यालयहरू मंगलबारदेखि बन्द गरिएका छन्। समुदायिक तथा निजी/संस्थागत विद्यालय छ दिनका लागि बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

अत्यधिक गर्मीका कारण विद्यार्थीहरूको कम उपस्थिति हुनुका साथै विभिन्न रोगका संक्रमण देखिन थालेपछि विद्यालयहरु बन्द गरिएको बताइएको छ। गर्मीका कारण मायादेवी गाउँपालिका–१, पकडीस्थित छत्रपाली तीर्थादेवी माविमा अध्ययनरत सात जना विद्यार्थी सोमबार बेहोस भएको प्रधानाध्यापक नरेन्द्रबहादुर कुर्मीले बताए। 

गर्मीले जिल्लाका जनजीवन प्रभावित भएको छ। मजदुर, कृषक, विद्यार्थी, बालबालिका तथा वृद्धवृद्धा बढी प्रभावित भएका छन्। प्रचण्ड गर्मीले सर्वसाधारणहरु घरबाहिर निस्कनै छाडेका छन्।

तौलिहवा, पिपरा, बहादुरगंज अस्पताललगायतका स्वास्थ्य संस्थाहरुमा वृद्ध तथा बालबालिकाको संख्या बढ्दै गएको छ। तौलिहवा अस्पतालमा दैनिक १०० देखि १५० जनासम्म गर्मीका कारण लाग्ने विभिन्न रोगका बिरामी आउने गरेको अस्पतालले जनाएको छ। 

जल तथा मौसम मापन विज्ञान विभागको कपिलवस्तु इकाइ रामनगरका रामु रेग्मीका अनुसार जिल्लाको एक साता यताको अधिकतम तापक्रम ४२ देखि ४४ डिग्रीसम्म पुगेको छ। गर्मीले गर्दा सरकारी कार्यालयमा समेत सेवाग्राहीको चाप घटेको छ। निकै भीडभाड हुने मालपोत, विद्युत, प्रशासनलगायतका कार्यालयमा सेवाग्राहीको संख्या पहिलाको तुलनामा कम छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.